
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । ह्वाइट हाउसमा भएको बैठकको विषय रूस-युक्रेन युद्ध थियो ।
बैठकको क्रममा जेलेन्स्कीले अमेरिकाबाट टोमाहक क्रूज मिसाइलको माग गर्ने अपेक्षा गरिएको थियो, तर उनी खाली हात फर्किएको बीबीसीले जनाएको छ । जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षालाई बलियो बनाउन जोड दिइरहेका छन् ।
ट्रम्पले युक्रेनलाई टोमाहक मिसाइल प्रदान नगर्ने संकेत गरे । यद्यपि, उनले भविष्यमा युक्रेनलाई यी मिसाइलहरू प्रदान गर्ने सम्भावनालाई अस्वीकार भने नगरेको समाचारमा उल्लेख छ । 'आशा छ, उनीहरूलाई तिनीहरूको आवश्यकता पर्दैन । आशा छ, हामी टोमाहकहरूको बारेमा सोच्दै पनि युद्ध समाप्त गर्नेछौं । मिसाइलहरू पठाउँदा तनाव बढ्ने छ, तर हामी यसको बारेमा कुरा गर्नेछौं ।'
ट्रम्पसँग लामो दूरीको मिसाइलहरूबारे छलफल भए पनि यस विषयमा टिप्पणी नगर्ने जेलेन्स्कीले बताए ।
बैठक पछि, ट्रम्पले सामाजिक सञ्जालमार्फत रूस र युक्रेनलाई युद्ध रोक्न अपील गरेका छन् ।