०९ साउन २०८३, शनिबार
कांग्रेसभित्रको राजनीति

कुर्सी खाली राख्दा देउवा फर्किने संशय, संस्थापन भन्छ– ‘उहाँ विश्राममा हुनुहुन्छ’

कात्तिक २, २०८२
काठमाडौं
कुर्सी खाली राख्दा देउवा फर्किने संशय, संस्थापन भन्छ– ‘उहाँ विश्राममा हुनुहुन्छ’

जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइतेपछि उपचार सकेर फर्किएको पहिलो बैठकमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएका थिए । असोज २८ गते देउवाले जलेर जर्जर भएकै केन्द्रीय कार्यालय सानेपाको साँघुरो कोठाबाट अब सक्रिय राजनीतिमा नफर्किने गरी कार्यवाहक दिएको अर्थ लगाइएको थियो ।

देउवाको लिखित सम्बोधनको सार नै बिदाइ भाषणको शैलीमा थियो ।

आफूले राजनीति शुरू गरेको दिनदेखि पाँचपटक प्रधानमन्त्री भएको र सभापति भएका दिनको समेत स्मरण गरेपछि देउवा अब फर्किँदैनन् भन्ने भाष्य बनेको थियो ।

‘घरमा सधैं एकै जना मूली रहँदैन । पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन,’ सम्बोधनमा उनले भनेका थिए, ‘जहाँसम्म मेरो विषय छ– मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आगामी १५ औं महाधिवेशनबाट म बाहेक अरू कुनै साथी सभापति बन्नु हुनेछ, त्यसमा द्विविधा छैन ।’

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिँदा उनले स्वास्थ्यलाई कारण देखाएका थिए । ‘मेरो स्वास्थ्यका कारण मैले पार्टीका उप–सभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु,’ देउवाले भनेका थिए, ‘उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

उनले त्यति भनिसकेपछि नेतादेखि मिडियासम्मले देउवा कार्यकारी भूमिकाबाट बिदा भएको रूपमा बुझे । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला र संस्थापनकै नेताले पनि देउवा अब नफिर्कने बताइरहेका छन् । देउवालाई धन्यवाद दिइरहेका छन् ।

तर, देउवाले पार्टी बिसाएको भोलिपल्टैदेखि कार्यवाहकका रूपमा उपसभापति खड्काको भूमिका र त्यसयताका घटानालाई फरक ढंगले हेरिन थालेको छ ।

देउवाले बोलेको पर्सिपल्ट बसेको केन्द्रीय समिति बैठकमा उनको कुर्सी खाली राखियो । अर्कोतिर कार्यवाहक सभापति खड्कालाई दिएको पत्र अहिलेसम्म सार्वजनिक भएको छैन ।

null

त्यस्तै, विशेष महाधिवेशनका लागि ५३ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई बेवास्ता गरिएको र मंसिरभित्रै महाधिवेशन गर्न नखोजिएको भन्दै आलोचना शुरू भएको छ । यसैले देउवाले विश्राम लिएका हुन्, बिदाइ लिएका छैनन् भन्ने भाष्य बनिरहेको हो । साथै, खड्काले गुटको बैठक डाकेर विशेष महाधिवेशनको अभियानलाई अराजनीतिक कदम भन्दै व्याख्या गरेकोमा नेताहरूले असन्तुष्टि जनाएका छन् ।

‘सभापति घाइते भएर उपचाररत हुँदा महामन्त्रीद्वयले विशेष महाधिवेशनको नाममा हस्ताक्षर गराउँदै हिँड्नुभयो,’ कांग्रेसका एक पूर्व पदाधिकारीले लोकान्तरसँग भने, ‘यसैले पूर्ण खड्काले कार्यवाहक पाएकै भोलिपल्ट सिद्धार्थ कटेजमा हामीले नै उहाँलाई गुटको बैठक राख्न भनेका हौं ।’

यही बैठकपछि संस्थापन निकटका नेताले फागुन २१ गतेको चुनावअघि कुनै पनि हालतमा १५औं महाधिवेशन गर्न नहुने अडान लिएका थिए । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा घाइते भएर विश्राम लिएकै आधारमा सभापतिबारे अपव्याख्या भएको बताउँछन् ।

‘सभापति बिरामी हुनुहुन्छ । बिरामी भएकैले कार्यवाहक दिनु भनेको फेरि आउने गरी हो । तर, नेतादेखि मिडियाले बढी टिप्पणी गरे । सभापति नआइदिए हुन्थ्यो, बिदा लिनुभयो भन्दै धन्यवाद भनेका छन्,’ विश्वकर्माले भने, ‘भौतिक रूपमा आएर कामको चाप लिन सक्ने अवस्थामा हुनुहुन्न । यसैले दिनदिनै काम गर्न सकिँदैन भनेर विश्वासिलो, अनुभवी र विधान अनुसार उपसभापतिलाई कार्यवाहक दिनुभएको हो ।’

कुटाइ खाएको शरीर लिएर काम गर्न अप्ठ्यारो भएपछि देउवा केही समय विश्राममा रहेको विश्वकर्माले बताए । ‘आवश्यकता पर्‍यो भने हामी नै बोलाउँछौं । सभापतिकै परामर्शमा काम भइरहेको छ । भेटघाट भइरहेको छ । सभापतिसँगकै को–अर्डिनेसन, को–अपरेसनमा कार्यवाहक सभापति हुनुभएको हो,’ विश्वकर्माले भने, ‘सभापतिले बैठकमा सम्बोधन गर्नुभएको हो । गलत व्याख्या भयो । पार्टीमा एकता आवश्यक छ । कार्यवाहकलाई गर्नुस् भन्नुभएको छैन, गरौं भनेर अपिल गर्नुभएको छ ।’

महाधिवेशनको उद्घाटन गर्न देउवा आउने पनि विश्वकर्माले बताए ।

‘नियमित आउन नसक्ने स्थितिमा मात्रै सभापतिले कार्यवाहक दिनुभएको हो । महाधिवेशनको उद्घाटन उहाँ आफैं आएर गर्नुहुन्छ,’ विश्वकर्माले भने, ‘त्यसपछि १५ औं महाधिवेशनका लागि मात्रै उहाँ उम्मेदवार नबन्ने हो ।’

कार्यवाहक सभापति दिने विषय पोलिटिकल भएको र अफिसियल डकुमेन्ट बनिरहेको विश्वकर्माले बताए । ‘सभापतिले लिखित रूपमा लेखेर बोलेर पोलिटिकल जिम्मेवारी दिइसक्नुभयो । अफिसियल रूपमा लिखित पत्र बन्ने प्रक्रियामा छ । शायद बनेर पाइसक्नुभयो कि !’ उनले भने ।

कांग्रेस केन्द्रीय कार्यालय स्रोतले पनि भदौ २८ गते नै कार्यवाहकको पत्र बनेर सभापतिको हस्ताक्षरका लागि गएको जानकारी दियो । ‘कार्यवाहकको पत्र भदौ २८ गते नै बनेर मुख्यसचिवले हस्ताक्षर गर्न सभापतिकोमा लाने कुरा थियो,’ कार्यालय स्रोतले भन्यो, ‘शायद कार्यवाहक सभापतिले पत्र पाइसक्नुभयो ।’ स्वास्थ्य समस्याको कारण खुलाएर देउवाले समय नतोकी खड्कालाई कार्यवाहक दिएको भाषा पत्रमा छ ।

null

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सभापतिको कुर्सी खाली राख्ने, मंसिरभित्र महाधिवेशन गर्न तयारी नगर्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाए ।

‘सभापतिले कार्यवाहक सभापति दिँदा नै सभापतिको आशय छिटो महाधिवेशन होस् भन्ने थियो । तर, एकातिर विशेष महाधिवेशनको मागलाई लत्याइएको छ । अर्कोतिर, नियमित महाधिवेशन पनि मंसिरभित्रै गर्ने विषयलाई प्राथमिकता दिइएन । बैठक लामो समय सार्दा हामीलाई आशंका भएको हो,’ शिवाकोटीले भने, ‘एकातिर ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई राजनीतिक भनिएको छ, अर्कोतिर महाधिवेशन गर्ने विषयलाई प्राथमिकता नदिनु गम्भीर हो ।’

यसैले महामन्त्री गगन थापाले मंसिर २७ देखि २९ गतेसम्म गर्ने गरी १५ औं महाधिवेशनको कार्यतालिका ल्याएको दाबी उनले गरे ।

आफूहरूको मागलाई बेवास्ता गरिएको भन्दै विशेष महाधिवेशन पक्षधरले आइतबार पत्रकार सम्मेलन गरेरै असन्तुष्टि जनाए । नेता गुरुराज घिमिरेले नियमित महाधिवेशन पनि नगर्ने र विशेष महाधिवेशनको मागलाई पनि लत्याउने विषयप्रति आपत्ति जनाएका हुन् ।

‘केन्द्रीय कार्यसमितिको विधानमा प्रस्ट रूपमा कार्यकाल तोकिएको छ । विधानले महाधिवेशन प्रतिनिधिको कार्यकाल तोकेको छैन,’ घिमिरेले भने, ‘पार्टीको आवश्यकता हुँदा, सडक र राष्ट्रको आवश्यकताको आधारमा महाधिवेशन प्रतिनिधिको कार्यालय सकियो भन्ने हुँदैन । महाधिवेशन प्रतिनिधिको कार्यकाल जति पनि हुन्छ ।’

तर, प्रचार विभाग प्रमुख विश्वकर्मा महामन्त्रीले कार्यसम्पादन समिति र केन्द्रीय समितिमा महाधिवेशनको कार्यतालिका प्रस्तुत नै नगरेको दाबी गर्छन् ।

‘विधानअनुसार महाधिवेशन गर्ने विषयलाई पार्टी नेतृत्वले स्वीकारेको छ । तर, कार्यतालिकामा छलफल गर्न भनेर बैठकमा आएको भए राम्रो हुन्थ्यो । केन्द्रीय समितिको बैठक सरेको सर्‍यै भयो,’ विश्वकर्माले भने, ‘चुनाव हुने कुरालाई ख्याल गरेर पर्ख र हेरको अवस्थामा कांग्रेस छ । अब चुनावको वातावरण बन्छ कि बन्दैन भन्ने पक्का भएपछि महाधिवेशनको मिति तोकिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्