
नवीन सोच र ऊर्जाका साथ पछिल्लो समय लुम्बिनी प्रदेशका युवाहरू फूल खेतीमा लागेका छन् । विशेषगरी तिहार, दशैँ लगायतका चाडपर्व र शुभकार्यमा स्वदेशी फूल रोजाइमा पर्न थालेपछि युवाहरूले पुष्प खेतीलाई उद्यमशीलताको माध्यम बनाएका हुन् । युवा पुस्ता व्यावसायिक फूल खेतीमा जोडिएपछि लुम्बिनी प्रदेश फूल खेतीमा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । फूलबाट राम्रो आम्दानी लिन थालेसँगै तिहारमा भारतबाट आउने फूल/माला प्रतिस्थापन हुँदै गएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका– १५ चम्कीपुरस्थित फोकस मल्टी एग्रो कन्सर्न एन्ड रिर्सच सेन्टरको एक बिगाहा जग्गामा यतिबेला सयपत्री र मखमली दैनिक रूपमा टिप्न चटारो छ । फर्मका राजेश कुँवरसहित ५ जना युवा मिलेर विगत ६ वर्षदेखि फूल खेती गर्दै आइरहेका छन् । तिहारमा ७ हजार माला बिक्री गरिने उनको भनाइ छ । तिहारमा सप्तरङ्गी टीका, सयपत्री र मखमली फूलको माला लगाउने गरिन्छ ।
दाङको घोराही उपमहानगरपालिका–१४ झिंगौराका लोकेन्द्र रोकामगर फूल खेती गर्ने पुराना किसान हुन् । माओवादीका पूर्व लडाकू रोकाले जलजला पुष्प खेती तथा नर्सरी दर्ता गरेर उनले विगत १३ वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आएका छन् । फूल खेतीको लामो अनुभव बटुलेका रोकाले यो वर्ष ३ बिघा जमिनमा फूल खेतीबाट वार्षिक रूपमा ३५ लाख बढीको फूलमालाको कारोबार गरेको बताउँछन् । यसबाट २० लाख रूपैयाँसम्म बचत गर्दै आएका उनले तिहारको सिजनमा मात्रै दश लाख बढीको माला बिक्री गर्छन । लुम्बिनी प्रदेशसहित काठमाडौंसम्मबाट उनलाई फूलको माग आउने गर्छ ।

गुल्मीकै सत्यवती गाउँपालिका–१ अस्लेवाका हुमा न्यौपानेले पाँच रोपनी जग्गामा चार हजार २०० बढी फूल रोपेका छन् । फूल टिप्ने र बेच्ने चटारोमा रहेकी उनले पहिलोपटक २५ मुरी धान फल्ने खेतमा अहिले फूलको बगैँचा बनाएकी हुन् । फूल र मालाको गुणस्तर हेरी प्रतिमाला १२० र प्रतिकेजी ४०० रुपैयाँसम्म अहिले बिक्री भइरहेको उनले सुनाइन् । थोरै लगानीमा धेरै प्रतिफल पाउने भएपछि उत्साहित हुँदै तालिम लिएर खेती थालेको उनको भनाइ छ ।

पाल्पाको तिनाउ गाउँपालिका–२ दोभानकी रितु श्रेष्ठ सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो आम्दानी दिएपछि उत्साहित छिन् । १ लाखको फूल बेचिसकेकी उनले अझै १ लाख रूपैयाँको फूल र माला तिहारभरिमा बेच्ने बताइन् । अहिले गाउँपालिकाभित्रकै बजार र छिमेकहरूको पूजामा फूल बिक्री भइरहेको छ ।
७ वर्ष रामपुर पाल्पामा फूल खेती गर्दै आएका दीलबहादुर थापा मगरले व्यावसायिक फूल खेती शुरू गरेको ७ लाखको फूलबाट आम्दानी गर्दै आएको बताउँछन् । बाँकेको कोहलपुर नगरपालिका– ३ मा विष्णु चौधरीले फूल खेती राम्रो आम्दानीको स्रोत बनेको बताए । चौधरीका लागि अहिले फूल खुशीको खेती बनेको छ ।
नेपालमा करिब ६०० जातका फूल पाइने भए पनि तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको माग बढी हुन्छ । फूल खेतीका लागि अनुकूल र सुहाउँदो हावापानीका कारण लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा यसको खेती गर्न सकिने कृषि विकास निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरे बताउँछन् ।

प्रदेशमा यसवर्ष फूल खेती गरेको क्षेत्रसँगै उत्पादन पनि बढेको अधिकृत गैरेको भनाइ छ । गत वर्ष सयपत्री फूल २५.७२ हेक्टरमा लगाइएकोमा यो वर्ष बढेर २७.०१ हेक्टर पुगेको छ । गत वर्ष ३ लाख ८ हजार ५०० किलो सयपत्री फूल उत्पादन भएकोमा यस वर्ष ३ लाख २३ हजार ९२५ किलो उत्पादन भएको तथ्यांकले देखाउँछन् । यस्तै, प्रदेशमा गत वर्ष सयपत्री फूल १२ करोड ३४ लाख रुपैयाँको बिक्री भएकोमा यस वर्ष १२ करोड ९५ लाख ७० हजार रुपैयाँको कारोबार हुने अनुमान निर्देशनालयको छ ।
यस्तै तिहारमा प्रयोग हुने मखमली फूल पनि गत वर्षको तुलनामा बढेको छ । मखमली फूल गत वर्ष ०.३३ हेक्टरमा खेती भएकोमा अहिले ०.३५ हेक्टरमा विस्तार भएको छ । गत वर्ष २४ हजार ४९५ माला उत्पादन भएकोमा यो वर्ष २६ हजार माला उत्पादन हुने अनुमान गरिएको छ ।

गत वर्ष ८ लाख ५७ हजार रुपैयाँको मखमली फूल बिक्री भएकोमा यसवर्ष १० लाख ४० हजार रुपैयाँ बराबरको कारोबार हुने अनुमान कृषि निर्देशनालयले गरेको छ । लुम्बिनी प्रदेशमा ८० प्रतिशत फूलको माग आन्तरिक उत्पादनले धान्न थालेको छ ।
बिरुवा रोपेको दुई महिनाबाट उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले किसान फूल खेतीमा आकर्षित भएका छन् । प्रदेशका १२ वटै जिल्लामा पुष्प व्यवसाय प्रवर्द्धन गर्न ज्ञान केन्द्रबाट किसानका अगुवालाई पुष्पखेतीको तालिम दिने, बजारीकरणमा सहयोग गर्ने, केही कृषि उपकरणसमेत प्रदान गर्ने काम प्रदेशभित्र भइरहेको छ ।
विभिन्न स्थानीय तहले प्लाष्टिकजन्य फूल तथा मालाको बिक्री वितरण गर्न रोक लगाएकाले फूलको माग बढेको छ ।
बुटवल, नेपालगञ्ज, दाङका शहरमा धेरै कार्यक्रमहरू हुन्छन् । त्यसका लागि मालाको खपत पनि बढ्दै गएको छ । त्यस्तै, प्रशस्त मठमन्दिर भएको, धार्मिक कार्य, मेला महोत्सव तथा सभा समारोहमा पनि मालाहरूको माग बढ्दो छ ।
भारतबाट आयात हुने फूल उपभोक्तासम्म आइपुग्दा महंगो हुने भएकाले पनि आफ्नो क्षेत्रमा फूल खेती गर्दा सस्तोमा उपलब्ध गराउन सकिने र स्वदेशको पैसा स्वदेशमा नै लगानी हुने भएकाले फूल खेतीको महत्व धेरै रहेको कृषकहरू बताउँछन् । अहिले चाडपर्वमा मात्र होइन, यहाँ १२ महिना नै फूलको माग बढिरहेको छ ।
हेर्नुहोस्, थप तस्वीर :



