
उदीयमान राष्ट्रहरूको बढ्दो ऋण, भारी कर र वित्तीय असुरक्षाका कारण नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणाली खतरामा परेको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बुधबार चेतावनी दिएका छन् ।
गुटेर्रेसले धेरै देशहरू ऋणको सङ्कटमा फसेको र स्वास्थ्य र शिक्षामा भन्दा ऋण दाताहरूको सेवामा बढी रकम खर्च गरिरहेको बताए ।
“विश्वव्यापी ऋण बढेको छ । गरिबी र भोकमरी अहिले पनि व्याप्त छ । अन्तर्राष्ट्रिय वित्तीय संरचनाले विकासोन्मुख देशहरूका लागि पर्याप्त सुरक्षा कवच प्रदान गरिरहेको छैन र नियममा आधारित व्यापार प्रणाली गलत बाटोमा जाने जोखिममा छ,” महासचिव गुटेर्रेसले जेनेभामा व्यापार र विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भने ।
गुटेर्रेसले भने, “व्यापार र विकासले परिवर्तनको आँधीबेहरीको सामना गरिरहेको र विश्वव्यापी वृद्धिको तीन चौथाइ अहिले विकासशील देशबाट आएको छ, सेवाजन्य व्यापारमा वृद्धि भइरहेको छ र नयाँ प्रविधिले विश्व अर्थतन्त्रलाई बढावा दिइरहेको छ ।”
यद्यपि भूराजनीतिक विभाजन, असमानता, द्वन्द्व र जलवायु सङ्कटले प्रगतिलाई सीमित बनाइरहेको संयुक्त राष्ट्रसङ्घका महासचिवले बताएका छन् ।