
यूईएफए च्याम्पियन्स लिग फूटबल प्रतियोगितामा जर्मन क्लब बायर्न म्युनिखले आफ्नो विजय यात्रालाई निरन्तरता दिएको छ । बायर्न म्युनिखले बिहीबार बिहान सम्पन्न खेलमा बेल्जियन प्रतिद्वन्द्वी क्लब ब्रुगलाई ४–० गोलको फराकिलो अन्तरले हरायो ।
घरेलु मैदानमा खेलिएको खेलको प्रारम्भदेखि नै बायर्न म्युनिखले क्लब ब्रुगलाई दबाबमा राखेको थियो । बायर्न म्युनिखले खेलको पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल गरेको थियो ।
खेल शुरू भएको पाँचौं मिनेटमै लेनार्ट कार्लले टोलीको लागि पहिलो गोल गरेका थिए । निर्धारित समयको १४औं मिनेटमा प्रभावशाली खेलाडी ह्यारी केनले टोलीको अग्रता दोब्बर बनाएका थिए ।
केनले यो सिजन बायर्न म्युनिखका लागि १२ खेल खेल्दै २० गोल गरिसकेका छन् । निर्धारित समयको ३४औं मिनेटमा बायर्न म्युनिखका लागि लुइस डियाजले तेस्रो गोल थपेका थिए ।
यसैगरी, निर्धारित समयको ७९औं मिनेटमा निकोलस ज्याक्सनले टोलीका लागि तेस्रो गोल गरे । जितसँगै बायर्न म्युनिख अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
बायर्न म्युनिखले तीन खेलबाट नौ अंक बटुलेको छ । तेस्रो चरणको खेल समाप्त हुँदासम्म पाँच टोलीले मात्र सबै खेल जित्न सकेका छन् । साबिक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) नौ अंकसहित पहिलो स्थानमा आसीन छ ।
इन्टर मिलान नौ अंकसहित तेस्रो, समान अंक बटुलेको आर्सनल चौथो र समान अंक जोडेको रियल म्याड्रिड पाँचौं स्थानमा आसीन छन् ।
तीन अंक हात पारेको क्लब ब्रुग भने २०औं स्थानमा छ ।