२३ असार २०८३, मंगलबार

दोस्रो चरणको एसआईआर प्रक्रिया आरम्भ गर्ने भारतीय निर्वाचन आयोगको घोषणा

कात्तिक १०, २०८२
काठमाडौं
दोस्रो चरणको एसआईआर प्रक्रिया आरम्भ गर्ने भारतीय निर्वाचन आयोगको घोषणा

भारतको निर्वाचन आयोगले देशभर मतदाता सूचीको गहन पुनरीक्षण (एसआईआर)सम्बन्धी दोस्रो चरण सुरु गर्ने घोषणा गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले १२ राज्यमा दोस्रो चरणको एसआईआर प्रक्रिया आरम्भ गर्न लागिएको जानकारी दिए।

उनका अनुसार बिहारमा सम्पन्न पहिलो चरणको एसआईआर सफलतापूर्वक सम्पन्न भएको थियो। 

आयुक्त कुमारका अनुसार भारतमा मतदाता सूचीको यस्तो गहन पुनरीक्षण पछिल्लो दुई दशकयता आयोजना गरिएको थिएन। उनले स्मरण गराए, “१९५१ देखि २००४ बीच जम्मा आठ पटक मात्र एसआईआर आयोजना भएको थियो, त्यसपछि यो प्रक्रिया लामो समय रोकिएको थियो।”

अब दोस्रो चरणमा निर्वाचन आयोगले पश्चिम बंगाल, तमिलनाडु, उत्तर प्रदेश, राजस्थान, पुडुचेरी, मध्य प्रदेश, लक्षद्वीप, केरल, गुजरात, गोवा, छत्तीसगढ र अन्डमान–निकोबार गरी १२ राज्य तथा केन्द्रशासित प्रदेशमा विशेष गहन पुनरीक्षण सञ्चालन गर्ने भएको छ।

आयोगका अनुसार ती राज्यहरूमा मतदाता नामावली अद्यावधिक गर्ने, मृतक र दोहोरो नाम हटाउने, नयाँ मतदाताको सूचीकृत गर्ने र स्थानान्तरण भएका मतदाताको विवरण सुधार्ने कार्य प्राथमिक रूपमा अघि बढाइनेछ।

मुख्य निर्वाचन आयुक्त कुमारले भने, “यो प्रक्रिया पारदर्शिता, निष्पक्षता र समावेशिताको दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ। हरेक योग्य नागरिकको नाम मतदाता सूचीमा सुनिश्चित गरिनु लोकतान्त्रिक अभ्यासको आधारभूत शर्त हो।”

आयोगका अनुसार दोस्रो चरणको पुनरीक्षणमा स्थानीय निर्वाचन अधिकारी, विद्यालय, ग्राम पंचायत र नगरपालिका तहका जनप्रतिनिधिहरूको सहकार्यमा काम अघि बढाइनेछ।

पहिलो चरणमा बिहारमा गरिएको एसआईआर अभियानले ९५ प्रतिशतभन्दा बढी तथ्यांक अद्यावधिक गर्न सफल भएको आयोगको दाबी छ। त्यसको सकारात्मक नतिजाका आधारमा नै आयोगले अन्य राज्यहरूमा यो प्रक्रिया विस्तार गरेको हो।

आगामी महिनाभित्र पुनरीक्षित मतदाता सूची सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ। यससँगै भारतभरको मतदाता नामावली प्रणालीलाई अझ विश्वसनीय र अद्यावधिक बनाउने लक्ष्य आयोगले लिएको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्