०१ साउन २०८३, शुक्रबार
आईसीसी महिला विश्वकप

भारतसामु अस्ट्रेलिया जहिल्यै तगारो, रोचक बन्न सक्छ सेमीफाइनल भिडन्त

कात्तिक ११, २०८२
काठमाडौं
भारतसामु अस्ट्रेलिया जहिल्यै तगारो, रोचक बन्न सक्छ सेमीफाइनल भिडन्त

आईसीसी महिला विश्वकप क्रिकेटको समूहगत चरणको खेल सकिएको छ ।

१३ औं संस्करणका दुई आयोजकमध्ये भारत बल्लतल्ल प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ भने अर्को आयोजक श्रीलंका प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।

जारी विश्वकपमा अस्ट्रेलिया सबैभन्दा बलियो टोलीका रूपमा देखिएको छ ।

एक खेल पनि नहारी सेमिफाइनलमा पुग्ने अस्ट्रेलिया एकमात्र टोली हो । अस्ट्रेलियन टोली १३ अंकसहित तालिकाको पहिलो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

अस्ट्रेलियन टोली महिला विश्वकपको साविक विजेता पनि हो । अघिल्लो संस्करणको फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ७१ रनले हराउँदै उपाधि चुमेको थियो ।

जारी संस्करणमा हालसम्म सात खेल खेलेको अस्ट्रेलियाले ६ जितको नतिजा निकाल्यो । अस्ट्रेलियाको एक खेल भने अनिर्णित रूपमा सकिएको थियो ।

इङ्ल्यान्ड पनि बलियो टोलीको रूपमा देखिएको छ । प्रारम्भिक चरणमा खेलिएका सातमध्ये इङ्ल्यान्डले एक खेलमा मात्र हार व्यहोर्‍यो । इङ्ल्यान्डको पनि एक खेल अनिर्णित रूपमा सकिएको थियो । इङ्ल्यान्ड ११ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

यसैगरी, दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्न सफल भयो । दक्षिण अफ्रिकाले सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हारबाट १० अंक बटुल्यो ।

आयोजक भारत भने सात अंकसहित चौथो हुँदै सेमिफाइनलमा पुगेको हो । जारी विश्वकपमा भारतीय टोलीले खासै गतिलो प्रदर्शन गर्न सकेको छैन । आफूले खेलेका सातमध्ये तीन खेलमा जित हात पारेको भारतीय टोली तीन खेलमा भने पराजित भयो । भारतको एक खेल अनिर्णित रूपमा सकियो ।

पाँच अंकसहित पाँचौं भएको अर्को आयोजक श्रीलंका, चार अंकसहित छैटौं भएको न्युजिल्यान्ड, तीन अंकसहित सातौं भएको बंगलादेश र समान अंक बटुलेर आठौं भएको पाकिस्तान भने समूहगत चरणबाटै बाहिरिए ।

पाकिस्तानको प्रदर्शन सबैभन्दा निराशाजनक रह्यो । पाकिस्तान एक खेल पनि जित्न नसक्ने एक मात्र टोली बन्न पुग्यो । चार खेलमा पराजित भएको पाकिस्तानी टोलीको तीन खेल भने अनिर्णित रूपमा सकिएको थियो ।

अब प्रतियोगिताको सेमिफाइनलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकाको र भारतले अस्ट्रेलियाको सामना गर्नु पर्नेछ । दक्षिण अफ्रिका र इङ्ल्यान्डबीचको पहिलो सेमिफाइनल बुधबार गुवाहाटीमा तथा अस्ट्रेलिया र भारतबीचको दोस्रो सेमिफाइनल बिहीबार मुम्बईमा खेलिने छ । फाइनल खेल नोभेम्बर २ तारिखमा मुम्बईमा खेलिने छ ।

जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटर र सर्वाधिक विकेट लिने बलरको सूचीमा भारतीय खेलाडीको दबदबा देखिन्छ । तर, नतिजामा भने भारतीय टोली अन्तिम समयमा चिप्लिँदै आएको छ ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा भारतकी स्मृति मन्धना पहिलो स्थानमा छिन् । उनले सात खेलमा १०२.५२ को स्ट्राइक रेटमा कुल तीन सय ६५ रन बनाइसकेकी छन् । उनले बनाएको उच्च स्कोर भने एक सय दुई रन हो ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा पनि भारतकै प्रतिका रावल छिन् । उनले सात खेलमा कुल तीन सय आठ रन बनाएकी छन् । उनको उच्च स्कोर भने एक सय २२ रन हो ।

यो सूचीमा तीन सय एक रनसहित दक्षिण अफ्रिकाकी लाउरा वोल्भार्ड तेस्रो, दुई सय ९४ रनसहित अस्ट्रेलियाकी एलिसा हेली चौथो र दुई सय ८९ रनसहित न्युजिल्यान्डकी सोफी डेभिन पाँचौं स्थानमा रहेका छन् ।

यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचीमा अस्ट्रेलियाकी अनाबेल सदरल्यान्ड र भारतकी दिप्ती शर्मा संयुक्त रूपमा पहिलो स्थानमा छन् । यी दुवैले हालसम्म १५–१५ विकेट लिएका छन् ।

यो सूचीमा १३ विकेटसहित अस्ट्रेलियाकी एलना किङ तेस्रो स्थानमा छिन् । १२ विकेटसहित इङ्ल्यान्डका सोफी एक्लेस्टोन र लिनसी स्मिथ संयुक्त रूपमा चौथो स्थानमा छन् ।

१३औँ संस्करण र कीर्तिमानको ओइरो

यो विश्वकपमा केही कीर्तिमान पनि बनेका छन् । न्युजिल्यान्डकी सुजना विल्सन बेट्स विश्वकै सबैभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने महिला खेलाडी बनेकी छन् । दक्षिण अफ्रिकाविरुद्धको खेल उनका लागि तीन सय ५०औँ अन्तर्राष्ट्रिय सहभागिता थियो ।

यही विश्वकपमा अस्ट्रेलियाकी बेथ मुनी र एलना किङले पनि एउटा कीर्तिमान बनाए । उनीहरूले पाकिस्तानविरुद्धको खेलमा नवौँ विकेटका लागि एक सय ६ रनको साझेदारी गरेका थिए ।

महिला एक दिवसीय क्रिकेटमा कुनै पनि खेलाडीले नवौं विकेटका लागि गरेको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि पनि यो साझेदारी अस्ट्रेलियन खेलाडीकै नाममा थियो । सन् २०२४ मा अस्ट्रेलियाकै एस्लिघ गार्डनर र किम गार्थले नवौँ विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए ।

यसैगरी, भारत र अस्ट्रेलियाबीचको खेलमा पनि एउटा कीर्तिमान बन्यो । उक्त खेलमा पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुनुअघि तीन सय ३० रन बनाएको थियो । अस्ट्रेलियाले ४९ ओभरमा सात विकेट गुमाएर विजयी लक्ष्य पूरा गरेको थियो । महिला एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा कुनै पनि टोलीले हासिल गरेको यो सबैभन्दा ठूलो विजयी लक्ष्य हो ।

यसैगरी, इङ्ल्यान्डविरुद्धको खेलमा भारतीय बलर दिप्ती शर्माले पनि एउटा कीर्तिमान बनाइन् । उक्त खेलमा उनी अन्तर्राष्ट्रिय महिला एक दिवसीय क्रिकेटमा एक सय ५० विकेट लिने विश्वकै दोस्रो स्पिनर बन्न पुगिन् । यस्तो उपलब्धि हासिल गर्ने उनी भारतकी पहिलो महिला स्पिनर हुन् ।

यसैगरी, न्युजिल्यान्डविरुद्धको खेलमा भारतीय खेलाडी प्रतिका रावल महिला एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम पाली खेल्दै एक हजार रन पूरा गर्ने ब्याटरको सूचीमा संयुक्त रूपमा पहिलो स्थानमा उक्लन सफल भइन् । उनले यो उपलब्धि २३ पालीमा हासिल गरेकी हुन् ।

पुरुष विश्वकपभन्दा जेठो महिला विश्वकपमा अस्ट्रेलियाको दबदबा

सुन्दा अचम्म लाग्न सक्छ, विश्व क्रिकेटको इतिहासमा पुरुष एक दिवसीय विश्वकपभन्दा महिला एक दिवसीय विश्वकपको इतिहास लामो छ ।

आईसीसी पुरुष एक दिवसीय विश्वकप सन् १९७५ देखि शुरू भएको हो । महिला एक दिवसीय विश्वकपको पहिलो संस्करण भने त्यसको दुई वर्षअघि सन् १९७३ मै आयोजना भइसकेको थियो ।

सबैभन्दा बढी महिला एक दिवसीय विश्वकपको उपाधि जित्ने राष्ट्र अस्ट्रेलिया हो । अस्ट्रेलियाले हालसम्म सातपटक महिला विश्वकपको उपाधि जितिसकेको छ ।

अस्ट्रेलियाले सन् १९७८ मा पहिलोपटक उपाधि जितेको थियो । त्यसपछि अस्ट्रेलियाले सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५, सन् २०१३ र सन् २०२२ मा उपाधि चुमेको थियो ।

यसैगरी, इङ्ल्यान्डले हालसम्म चारपटक महिला एक दिवसीय विश्वकपको उपाधि जितेको छ । इङ्ल्यान्डले सन् १९७३, सन् १९९३, सन् २००९ र सन् २०१७ मा उपाधि कुम्ल्याएको थियो ।

यसैगरी, न्युजिल्यान्डले पनि एकपटक उपाधि जितेको छ । न्युजिल्यान्डले सन् २००० मा उपाधि जितेको थियो । भारतले भने हालसम्म उपाधि जित्न सकेको छैन । भारत सन् २००५ र सन् २०१७ मा उपविजेता बनेको थियो ।

सन् २००५ को फाइनलमा भारतीय टोलीलाई अस्ट्रेलियाले ९८ रनको फराकिलो अन्तरले हराएको थियो । सन् २०१७ को फाइनलमा भने भारतीय टोली इङ्ल्यान्डसँग नौ रनले पराजित भएको थियो ।

अस्ट्रेलिया र भारतबीचको प्रतिद्वन्द्विता

महिला एक दिवसीय विश्वकपको इतिहासमा भारत र अस्ट्रेलिया सन् १९७८ मा आयोजित दोस्रो संस्करणमा भिडेका थिए । त्यतिबेला समूहगत चरणमा अस्ट्रेलियन टोलीले भारतीय टोलीलाई ७१ रनले पराजित गरेको थियो ।

त्यसपछि सन् १९८२ मा आयोजित तेस्रो संस्करणमा पनि अस्ट्रेलियाले भारतलाई एक सय ५३ रनले हराएको थियो । सोही विश्वकपको दोस्रो खेलमा पनि अस्ट्रेलियाले भारतलाई चार विकेटले पराजित गरेको थियो । सोही विश्वकपको तेस्रो खेलमा पनि अस्ट्रेलियाले भारतलाई ३९ रनले हराएको थियो ।

सन् १९९३ मा सम्पन्न पाँचौँ संस्करणमा पनि अस्ट्रेलियाले भारतलाई सात विकेटले पराजित गरेको थियो । सन् १९९७ मा सम्पन्न छैटौँ संस्करणमा पनि अस्ट्रेलियाले नै भारतलाई सेमिफाइनलमा १९ रनले पराजित गरेको थियो ।

यसैगरी, सन् २००० मा सम्पन्न सातौं संस्करणमा पनि भारतीय टोली अस्ट्रेलियासँग ५१ रनले पराजित भएको थियो । सन् २००५ मा सम्पन्न आठौँ संस्करणको समूहगत चरणमा भने अस्ट्रेलिया र भारतबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

उक्त संस्करणको फाइनलमा फेरि अस्ट्रेलिया र भारतबीच भिडन्त भएको थियो । तर, यसपटक पनि फाइनलमा अस्ट्रेलियाले भारतलाई ९८ रनको विशाल अन्तरले हराएको थियो ।

सन् २००९ मा सम्पन्न नवौँ संस्करणको ‘सुपर–६’ चरणमा पहिलोपटक भारतले अस्ट्रेलियालाई १६ रनले हराएको थियो । सोही संस्करणको तेस्रो स्थानका लागि भएको प्ले–अफ खेलमा पनि भारतले अस्ट्रेलियालाई तीन विकेटले पराजित गरेको थियो ।

यसैगरी, सन् २०१७ मा सम्पन्न ११औँ संस्करणमा अस्ट्रेलियाले भारतलाई आठ विकेटले पराजित गरेको थियो । सोही संस्करणको सेमिफाइनलमा भने भारतले अस्ट्रेलियालाई ३६ रनले पाखा लगाएको थियो ।

सन् २०२२ मा सम्पन्न १२औँ संस्करणमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको थियो । जारी संस्करण (१३औँ संस्करण) को समूहगत चरणमा पनि अस्ट्रेलियाले भारतलाई तीन विकेटले हराइसकेको छ । अब यी दुई टोलीबीच सेमिफाइनलमा फेरि भिडन्त हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्