०९ साउन २०८३, शनिबार

नामिबियाका कप्तान इरास्मसले फेरि काठमान्डु गोर्खाजबाटै खेल्ने

कात्तिक १२, २०८२
काठमाडौं
नामिबियाका कप्तान इरास्मसले फेरि काठमान्डु गोर्खाजबाटै खेल्ने

नामिबियाको राष्ट्रिय टोलीका कप्तान जेरहार्ड इरास्मसले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण पनि काठमान्डु गोर्खाजबाटै खेल्ने भएका छन् ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले आगामी संस्करणका लागि आफ्नो दोस्रो विदेशी खेलाडीका रूपमा इरास्मसलाई भित्र्याएको हो ।

३० वर्षीय इरास्मसले सन् २०१९ देखि निरन्तर नामिबियाको नेतृत्व गर्दै आएका छन् । उनले सन् २०२३ र सन् २०२४ मा आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जितेका थिए ।

सन् २०२४ को पुरुष एसोसिएट क्रिकेटर अफ द इयर बन्ने क्रममा उनले कीर्तिपुर मैदानमा नेपालविरुद्ध विश्व क्रिकेट लिग–२ का खेलमा २८ रन खर्चेर पाँच विकेट लिएका थिए ।

त्यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय खेलजीवनकै उत्कृष्ट बलिङ प्रदर्शन पनि हो । उनले त्यो वर्ष चार अर्धशतक पनि प्रहार गरेका थिए । उनले सन् २०२४ मा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १८ विकेट लिएका थिए ।

काठमान्डु गोर्खाजको टोलीसँग उनी यसअघि नै परिचित छन् । एनपीएलको पहिलो संस्करणमा उनले काठमान्डु गोर्खाजको उप–कप्तानको भूमिका निर्वाह गरेका थिए ।

एनपीएलको पहिलो संस्करणमा उनले सात खेलमा १३७ भन्दा माथिको स्ट्राइक रेटमा कूल एक सय १० रन बनाएका थिए । उनले ११.९० को औसतमा ११ विकेट पनि लिएका थिए ।

‘गत सिजन इरास्मसले काठमान्डु गोर्खाजबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । यो वर्ष उनले अझ राम्रो खेल्ने विश्वास लिएका छौं । इरास्मस राम्रो लिडर पनि हुन्,’ काठमान्डु गोर्खाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

इरास्मस एसोसिएट क्रिकेटको उत्कृष्ट अलराउन्डर र उत्कृष्ट फिल्डर पनि हुन् । ‘उनीजस्ता खेलाडीलाई राखेर टिम बनाउँदा नतिजामुखी हुने अपेक्षा राखेको छु’, काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाहीले भनेका छन् ।

३० वर्षीय इरास्मसले नामिबियाका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा ६३ खेल खेल्दै ३८.२१ को औसतमा दुई शतक र १७ अर्धशतकको मद्दतले कूल दुई हजार एक सय ७८ रन बनाएका छन् ।

उनले ७७ टी–२० अन्तर्राष्ट्रियमा एक शतक र १३ अर्धशतकको मद्दतले १२४ भन्दा माथिको स्ट्राइक रेटमा कूल एक हजार आठ सय ३३ रन बनाएका छन् ।

काठमान्डु गोर्खाजले आगामी सिजनको एनपीएलका लागि भित्र्याएको उनी दोस्रो विदेशी खेलाडी पनि हुन् । 

यसअघि नै काठमान्डुले दक्षिण अफ्रिकामा जन्मिएका र हाल इङ्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोसलाई टोलीमा आबद्ध गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्