१० साउन २०८३, आइतबार
अलमलमा कांग्रेस

केन्द्रीय समितिअघि अन्योलमा कांग्रेस : पहिले चुनाव कि महाधिवेशन !

कात्तिक १२, २०८२
काठमाडौं
केन्द्रीय समितिअघि अन्योलमा कांग्रेस : पहिले चुनाव कि महाधिवेशन !

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा होमिने कि र १५ औं महाधिवेशनको तयारीमा जाने भन्नेमा कांग्रेसभित्र चरम विरोधाभास देखिएको छ । 

संस्थापनले चुनावअघि महाधिवेशन गर्न नसक्ने गरी दबाब बढाएको बेला इतर पक्षले महाधिवेशनलाई प्राथमिकतामा राखेको छ । त्यसैले बिहीबारबाट पुन: शुरू हुने केन्द्रीय समितिको बैठक पेचिलो बन्ने देखिएको छ ।

चुनावको मुखमा महाधिवेशन गर्दा पार्टी कमजोर हुने संस्थापनको दाबी छ । तर, इतर पक्ष भने अहिलेकै नेतृत्वलाई लिएर हिँडे पार्टीले निर्वाचनमा शर्मनाक हार बेहोर्ने तर्क अगाडि सारिरहेको छ । यी परस्पर विरोधी मतबाट माथि उठ्दै व्यवहारिक निर्णय गर्नुपर्ने दबाब कार्यवाहक सभापति पूर्णबहादुर खड्कासामु देखिएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेकै नेतृत्व लिएर चुनावमा जान नसकिने तर्क गरिरहेका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई जवाफ दिने क्रममा उपचुनावमा दुई महामन्त्रीको अनुहारले पनि पराजित भएको बताए । उनले उपचुनावमा महामन्त्रीहरूको नेतृत्वमा गए पनि कांग्रेसका उम्मेदवार पराजित भएको दाबी गरे ।

केन्द्रीय कार्यालयमा मंगलबार मात्रै कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको मागलाई पनि नियमित महाधिवेशनभित्रैबाट सम्बोधन गर्ने बताएका थिए ।

‘पार्टीमा नेताहरूले आफूलाई लागेको कुरा खुलस्त राख्नुभएको छ । हामी फरक जोड र कोणलाई पनि एकत्रित गरेरै निर्वाचन र पार्टीको महाधिवेशनसम्म एकताका साथ अघि बढ्छौं,’ खड्काले भनेका थिए, ‘महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गर्नुभएको छ । यसलाई पनि नियमित महाधिवेशनको सीमाभित्र जोडेर हामी एक भएर अगाडि बढ्छौं ।’

तर, खड्काले यस्तो भने पनि लगत्तै बुधबार उनले नै संस्थापनको छुट्टै बैठक राखे । केन्द्रीय समिति बस्नु अघिल्लो दिन खड्काले ललितपुरको एक होटलमा आफूपक्षीय नेताको बैठक राखेका हुन् ।

बैठकमा संस्थापन निकटका नेताहरूले महाधिवेशनभन्दा निर्वाचनलाई कांग्रेसले प्राथमिकता दिनुपर्ने बताएका थिए । सोही अनुसार केन्द्रीय समितिले महाधिवेशनबारे निर्णय लिनुपर्ने उनीहरूको दबाब थियो । चुनावपछि वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने विषयलाई पार्टीले प्राथमिकता दिनुपर्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

यता महामन्त्रीद्वयले भने नियमित महाधिवेशनका लागि दबाब बढाइरहेका छन् । बिहीबारबाट बस्ने कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका नल्याए विशेष महाधिवेशनमा जानुपर्ने अडान राखेका छन् । तर, संस्थापन पक्षधर चुनावअघि महाधिवेशन गर्न नसक्ने अडान राख्ने मनस्थितिमा देखिएको छ ।

बुधबार काठमाडौंमा बीपी चिन्तन प्रतिष्ठानले गरेको अन्तरक्रियामा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यतिखेर महाधिवेशनभन्दा चुनावलाई प्राथमिकता दिनुपर्ने बताए ।

‘पार्टीमा नयाँ अनुहार को चाहिने हो ? कुन अनुहार चाहिने हो ? हामीले उपचुनावमा देखेकै हो । यो समय त मिलेर गर्ने होला नि ! पार्टीलाई बलियो बनाउने र चुनाव भिड्नका लागि पनि तयारी गर्नुपर्ने होला नि,’ महतले भने, ‘चुनावमा कसरी जाने भनेर भोलिदेखि बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउनुपर्छ । महाधिवेशनको कार्यतालिका भन्दा चुनावको तयारीमा लाग्नुपर्ने बेला छ ।’

महतले वैशाखमा महाधिवेशन गर्न सकिने पनि बताए । ‘विधानमा व्यवस्था छ र सुविधा दिएको छ भने हामी पनि तन्काउनुपर्छ भन्नेमा छैनौं,’ महतले भनेका छन्, ‘भोलिदेखि बस्ने बैठकमा विधि, प्रक्रिया, निष्पक्षता, पारदर्शिता सुनिश्चितता हुने गरी मिति तोक्ने गरी अघि बढप्नुपर्छ । मंसिरमै गर्न सकिन्छ भनेर पनि हुने अवस्था छैन । समयको चाप र चुनावको परिस्थिति पनि हेर्नुपर्छ । मेरो विचारमा वैशाख, जेठसम्म महाधिवेशन गर्न सकिन्छ ।’

तर, महामन्त्रीद्वय थापा र शर्मा कुनै पनि हालतमा १५ औं महाधिवेशनको कार्यतालिका अब बस्ने बैठकमा पेस गरेर पारित गर्नुपर्ने पक्षमा छन् । थापाले केही दिनअघि नै मंसिर २७ देखि २९ सम्म गर्ने गरी १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् । 

null

पार्टीको औपचारिक फोरममा भन्दा पनि थापाले दबाबका लागि कार्यतालिका ल्याएका हुन् । यसैलाई केही संशोधन गरेर पार्टीको बैठकमा ल्याउने तयारीलाई उनले प्राथमिकतामा राखेका हुन् ।

महामन्त्री गगन निकट स्रोतले पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशनको कार्यतालिका ल्याउन तयार रहेको दाबी गर्‍यो । 

‘दुईवटै महामन्त्री कार्यवाहक सभापतिसँग नियमित संवादमा हुनुहुन्छ । सहमतिबाट महाधिवेशनको मिति घोषणा गर्ने सैद्धान्तिक सहमति भएको छ । तर, टिकट बेचौंला, अन्तिमपटक व्यापार गरौंला भन्नेहरूले गुटको बैठक राख्न र महाधिवेशन नगर्न दबाब बढाएका छन्,’ स्रोतले भन्यो, ‘यद्यपि सबैको सहमतिमा कार्यवाहक पाएकाले विवाद नगरौं, सहमति र सहकार्यबाटै अघि बढौं भन्नेमा उहाँ हुनुहुन्छ ।’

सहमतिमा महाधिवेशनको मिति घोषणालाई खड्काले प्रतिष्ठाको विषय बनाएको अर्का एक नेता बताउँछन् ।

‘कार्यवाहक सभापति सहमतिमा महाधिवेशनको मिति घोषणा हुन सक्नुलाई आफ्नो प्रतिष्ठा र सफलता मानिरहनुभएको छ,’ कांग्रेसका ती नेता भन्छन्, ‘यसैले पुसको पहिलो साताभित्र महाधिवेशनको प्रक्रिया शुरू गर्ने गरी सहमतिमा नै महामन्त्रीले महाधिवेशनको कार्यतालिका पेस गर्नुहुन्छ ।’

पछिल्लो समय विमलेन्द्र निधि र प्रकाशशरण महतसहितका नेताले दबाब बढाएपछि महामन्त्री थापाले विशेष महाधिवेशनको एजेन्डालाई पनि आक्रामक रूपमा उठाएका छन् ।

नियमित महाधिवेशन नभए ५४ प्रतिशतको हस्ताक्षरलाई बेवास्ता गर्न नहुने उनको मत छ । निधि र महतले महाधिवेशन प्रतिनिधिको म्याद नै सकिएको टिप्पणी गरेका थिए । त्यसपछि थापाले महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई बेवास्ता नगर्न चेतावनी दिएको उनी निकटका नेता बताउँछन् ।

‘महाधिवेशन प्रतिनिधिले नै अहिलेको केन्द्रीय समिति निर्वाचित गरेका हुन् । तर, जिम्मेवार नेताहरू उनीहरूको म्याद सकिएको नाजायज घोषणा गरिरहेका छन्,’ ती नेताले भने, ‘प्रतिनिधि अवैध भए उनीहरूले चुनेको केन्द्रीय समिति कसरी वैध हुन्छ ? यो पार्टीका जिम्मेवार प्रतिनिधिलाई हेप्ने कुरा हो । यसैले भोलिदेखि बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनको कार्यतालिका ल्याउनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्