
नेपाली महिला फुटबल टोलीले बुधबार खेलिएको अनौपचारिक मैत्रीपूर्ण खेलमा भारतलाई उसैको घरेलु मैदानमा हराएको छ । नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–० गोलले हराएको हो ।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा नेपालले तीन गोल गर्यो भने आयोजक राष्ट्र भारतले एक गोल पनि गर्न सकेन ।
निर्धारित समयको ३० औं मिनेटमा भारतले अग्रता लिएको थियो । भारतका लागि सौम्या गोगुलोथले पहिलो गोल गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमै नेपालले खेललाई बराबरीमा ल्यायो ।
नेपालका रश्मीकुमारी घिसिङले बराबरी गोल गरेकी थिइन् । त्यसपछि निर्धारित समयभित्र दुबै टोलीबाट थप गोल हुन सकेन ।
पेनाल्टी सुटआउटमा भने नेपालका लागि सविता रानामगर, रश्मीकुमार घिसिङ र निशा थोकरले गोल गर । कप्तान अनिता बस्नेतको प्रहार भने गोलमा परिणत हुन सकेन ।
नेपाली टोलीकी गोलरक्षक अञ्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन् । नियमित कप्तान सावित्रा भण्डारीको अनुपस्थितिमा अनितालाई कप्तानको जिम्मेवारी दिइएको थियो ।
केही दिनको अन्तरमा नेपाली महिला टोलीले भारतलाई हराएको यो लगातार दोस्रो पटक हो । यसअघि, त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपालले भारतलाई २–१ गोलले हराएको थियो । खेल भारतको सिक्किमस्थित पाल्जोर स्टेडियममा खेलिएको हो ।