
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बिहीबार जारी खेलमा नेपालले आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि दुई सय ३४ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ३३ रन बनाएको हो ।
नेपाली टोलीका लागि कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट शतकीय पारी खेले । उनले टोलीका लागि एक सय नौ रनको योगदान गरे । उनले एक सय ३० बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो दोस्रो शतक हो ।
रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने ब्याटर पनि हुन् । यो ढाँचाको क्रिकेटमा उनी दुई हजार रनको नजिक छन् । चौथो नम्बरमा क्रिज समाल्न आएका २३ वर्षीय रोहितले एक सय २६ बलमा शतक पूरा गरेका थिए ।
नेपाली टोलीका लागि ओपनर आसिफ शेखले ३५ रन बनाए । आरिफ शेखले टोलीको खातामा २७ रन थपे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि २३ रन बटुले । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । सन्दीप लामिछाने तीन रनमा अविजित रहे ।
यूएईका जाहिद अलिले चार विकेट लिए । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका जाहिद अलिले आफ्नो ‘डेब्यू’ खेलमै चार विकेट हात पारेका हुन् । बलर जुनैद सिद्दकीले पनि तीन विकेट हात पारे । नेपाली टोलीले अतिरिक्त रूपमा पनि सात रन पायो ।
नेपालले पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी १२ बलमा एक चौकाको मद्दतले केवल सात रन बनाउँदै पेभेलियन फर्किए । उनलाई यूएईका बलर हैदर अलिले बोल्ड गरेका हुन् । पाँचौं ओभरको पहिलो बलमा भुर्तेल आउट हुँदा नेपालले केवल २३ रन बनाएको थियो ।
नेपालले आफ्नो दोस्रो विकेटका रूपमा भीम सार्कीलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम १३ बलमा केवल तीन रन बनाउँदै आउट भए । उनलाई मुहम्मद रोहिदले एलबीडब्लूको धरापमा पारे । आठौं ओभरको तेस्रो बलमा उनी आउट हुँदा नेपालले २६ रनमात्र बनाएको थियो ।
नेपाली टोलीले आफ्नो तेस्रो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ ३५ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
आसिफले ४८ बलको सामना गरी चार चौका पनि हिर्काए । उनलाई जुनैद सिद्दकीले ध्रुव परासरद्वारा क्याच गराएका थिए । १८ औं ओभरको पहिलो बलमा आसिफ आउट हुँदा नेपालले ६१ रन बनाएको थियो ।
नेपाली टोलीले चौथो विकेटका रूपमा आरिफ शेखलाई गुमाएको थियो । उनी ४२ बलमा दुई चौकाको मद्दतले २७ रन बनाउँदै पेभेलियन फर्किए । उनी जुनैद सिद्दकीको बलमा बोल्ड भएका थिए । ३३ औं ओभरको चौथो बलमा आरिफ आउट हुँदा नेपालले एक सय ३१ रन बनाएको थियो । रोहित र आरिफ शेखले ७० रनको साझेदारी गरेका थिए ।
नेपाली टोलीले पाँचौं विकेटका रूपमा उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । दीपेन्द्र केवल २८ बलमा एक चौकाको मद्दतले २३ रन बनाउँदै आउट भए । उनी दुर्भाग्यपूर्ण तरिकाले रन आउट भएका हुन् । ४२ औं ओभरको दोस्रो बलमा दीपेन्द्र आउट हुँदासम्म नेपालले एक सय ८५ रन बनाएको थियो ।
नेपालले छैटौं विकेटका रूपमा गुलसन झालाई गुमाएको थियो । उनी पहिलो बलमै उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पछ्याउँदै पेभेलियन फर्किएका हुन् । गुलसनलाई जुनैद सिद्दकीले विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराएका थिए । ४२ औं ओभरको पाँचौं बलमा गुलसन आउट हुँदा नेपालले एक सय ८६ रन बनाएको थियो ।
नेपाली टोलीले सातौं विकेटका रूपमा सोमपाल कामीलाई गुमायो । उनी १३ बलमा ६ रन बनाउँदै आउट भए । उनी जाहिद अलिको बलमा बोल्ड भएका थिए । जाहिद अलिले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका हुन् । ४८ औं ओभरको तेस्रो बलमा सोमपाल आउट हुँदा नेपालले दुई सय १० रन बनाएको थियो ।
नेपालले आठौं विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमायो । उनी लामो समय क्रिजमा टिकेर उत्कृष्ट शतकीय पारी खेल्दै आउट भए । उनले टोलीका लागि एक सय नौ रनको योगदान गरे । यसक्रममा उनले एक सय ३० बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए ।
कप्तान रोहित जाहिद अलीको बलमा विकेटकिपर शर्माद्वारा समातिएका थिए । ४८ औं ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले दुई सय १७ रन बनाएको थियो ।
नेपाली टोलीले नवौं विकेटका रूपमा करण केसीलाई गुमाएको थियो । उनी आठ बलमा १३ रन बनाउँदै आउट भए । उनलाई जुनैद अलिले परासरद्वारा क्याच गराएका थिए । अन्तिम ओभरको पाँचौं बलमा उनी आउट हुँदा नेपालले दुई सय ३३ रन बनाएको थियो ।
नेपालले अन्तिम विकेटका रूपमा ललित राजवंशीलाई गुमायो । उनी अन्तिम ओभरको अन्तिम बलमा आउट भए । उनी पहिलो बलमै आउट भए । उनलाई पनि जुनैदले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए ।