
१५ औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नपाएपछि केन्द्रीय समितिको बैठक नै बहिष्कार गर्दै एकप्रकारको ‘विद्रोह’ गरेका महामन्त्री गगन थापाको अडानले कांग्रेसका कचिंगल बढेको छ । पहिलो दिनको विद्रोह र दोस्रो दिनको अडानले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक नै स्थगित गरेका छन् । महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नपाएपछि बिहीबार थापा फन्किँदै केन्द्रीय कार्यालयबाट बाहिरिएका थिए ।
पहिलो दिन गगनको अनुपस्थितिमा पनि खड्काले बैठक चलाएरै छोडे । थापा बाहिरिए पनि खड्काले पटक–पटक फोन गरेर उनलाई बैठकमा आउन आग्रह गरिरहे । तर, रिसाएर हिँडेका थापा फर्किएनन् । शुक्रबार बिहानैदेखि महामन्त्रीद्वय छलफलमा निस्किए । नेता डा. शेखर कोइराला र कार्यवाहक सभापति खड्कासँग उनीहरूले छलफल गरे । यी छलफलका क्रममा थापाले महाधिवेशनका लागि तयार नभए शुक्रबारको बैठकमा पनि सहभागी नहुने चेतावनी दिए । त्यसपछि खड्काले केन्द्रीय समितिको बैठक अगाडि बढाउने आँट गरेनन् । बरु आइतबार १ बजेसम्मका लागि स्थगित गरिदिए ।
महामन्त्रीद्वयले नियमित महाधिवेशनका लागि तयार हुन आग्रह गरेपछि खड्काले छलफलका लागि केही समय दिन आग्रह गरेका थिए ।
महामन्त्रीद्वयसँग छलफल गरेपछि खड्काले केन्द्रीय कार्यालय पुगेर संस्थापन निकटका पूर्व पदाधिकारी र डा. शेखर कोइरालासँग छलफल गरेका थिए ।
‘अघिल्लो दिन उहाँले पेलेरै बैठक चलाउनुभयो । तर, शुक्रबार बिहानैदेखि छलफल र दौडधूपपछि कार्यवाहक सभापति बैठक स्थगित गर्ने निचोडमा पुग्नुभयो,’ स्रोतले भन्यो, ‘महामन्त्रीसँग छलफल गरेपछि उहाँले केन्द्रीय कार्यालय पुगेर विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत र डा. शेखर कोइरालासँग छलफल गर्नुभयो अनि बैठक स्थगित गर्नुभएको हो ।’

केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले नियमित र विशेष महाधिवेशन दुवै टार्ने नियतमा संस्थापन लाग्दा समस्या भएको बताए ।
‘हामीले नियमित महाधिवेशन मंसिरमा गर्नुपर्छ भन्यौं । सहमतिमा पुससम्म पनि महाधिवेशनको विकल्प दियौं । यो सम्भव नहुँदा विशेष महाधिवेशन पनि विधान अनुसारको विकल्प हो,’ सिवाकोटीले भने, ‘तर, उहाँहरू नियमित र विशेष दुवै टार्ने गरी फागुनमा महाधिवेशन भनिरहनु भएको छ ।’
फागुन २१ गते चुनाव तोकिँदा संस्थापनले फागुन ५ महाधिवेशनको मिति प्रस्ताव गरेर रमिता गरेको उनको भनाइ छ ।
‘हामीले त समय हुँदै विकल्प दिएका छौं । समयमै नियमित महाधिवेशन गरौं, नभए विशेष महाधिवेशनमा जाऊँ भनेका छौं,’ सिवाकोटीले भने, ‘तर, फागुन २१ गतेको चुनाव हुँदा उहाँहरू फागुन ५ गते महाधिवेशन गरौं भन्नुहुन्छ । यो सहमतिमा आउनेभन्दा अड्काउने कुरा हो ।’ फागुन ५ गतेको प्रस्ताव र वैशाखको प्रस्ताव मिल्दो कुरा भएन । अड्काउने कुरा मात्रै भयो ।’
नियमित महाधिवेशनका लागि तयार नभए विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका २४८८ प्रतिनिधिलाई बेवास्ता नगर्न दबाब बढाइएको छ । यसले पनि संस्थापनलाई नैतिक अप्ठ्यारोमा पारिदिएको छ ।
‘हामी नियमितकै पक्षमा हो, तर २४८८ महाधिवेशन प्रतिनिधिको भावनालाई बेवास्ता गर्न हुँदैन,’ सिवाकोटीले भने, ‘आज बैठक स्थगित गर्ने अवस्था बन्नुहुन्थेन । तर, पनि पर्सिसम्म छलफलका लागि स्थगित गरेको बुझेका छौं । अब पनि महाधिवेशन नगर्ने स्थिति आए विशेष महाधिवेशनको तयारी झन् जोडतोडले अघि बढ्छ ।’
महामन्त्री, शेखर कोइराला र संस्थापन निकटका समेत केही प्रतिनिधिले हस्ताक्षर गरेपछि विशेष महाधिवेशनको मागलाई पनि टार्न सक्ने स्थिति संस्थापनलाई छैन ।
विधानकै व्यवस्थाअनुसार उनीहरूले विशेष महाधिवेशनको माग गरेका हुन् । ४० प्रतिशतले माग्न सक्नेमा ५४ प्रतिशतको हस्ताक्षर पुर्याएपछि संस्थापन दबाबमा देखिएको छ ।
यस्तोमा नियमित महाधिवेशन छिटो नगर्दा विशेषका लागि तयार हुनैपर्ने दबाब छ । विशेष महाधिवेशन पक्षधरले दबाब बढाउनकै लागि आइतबार भेला डाकेका छन् ।

संस्थापनको स्वार्थ
चुनावअघि नै महाधिवेशन गर्दा आफूअनुकूल प्रत्यक्ष र समानुपातिक उम्मेदवार तय गर्न नपाइने चिन्तामा संस्थापन पक्ष छ । किनकि चुनावमा उम्मेदवार र समानुपातिकको बन्दसूची आफ्नो अनुकूलतामा बनाउन सक्ने त्यसपछि हुने महाधिवेशनमा आफूहरूलाई फाइदा हुने दाउ संस्थापनले हेरेको छ । तर, महामन्त्रीसहितका इतर पक्ष अहिलेकै नेतृत्वलाई देखाएर निर्वाचनमा गए पार्टीले शर्मनाक हार बहोर्ने तर्क गरिरहेका छन् ।
संस्थापनपक्षीय नेताले कुनै पनि हालतमा चुनाव अगाडि महाधिवेशन नगर्न दबाब दिएका छन् । पटक–पटक गुटको बैठक राख्न कार्यवाहक सभापतिलाई दबाब दिँदै उनीहरूले महामन्त्रीसामु नझुक्न दबाब दिँदै आएका हुन् ।
‘उहाँहरूले नियमित गुटका बैठक राखेर चुनावअगाडि कुनै हालतमा पनि महाधिवेशन गर्ने गरी कार्यतालिकामा सहमति नजनाउन आग्रह गर्नुभएको छ । नेता प्रकाशशरण महतले त शेखर कोइरालाको समेत साथ रहेको कार्ड फालिरहनुभएको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘कांग्रेसका एउटा समूह कार्यवाहकमा पूर्ण दाइ रोक्न लागिपर्यो, तर सकेन । अहिले नियमित महाधिवेशन गराउन उहाँ तयार हुनुहुन्छ । तर, निकटकाले आफूहरूको राजनीति सकिन्छ भनेर उहाँमाथि दबाब बढाइरहनुभएको छ ।’
आफूअनुकूल टिकट बाँडेर महाधिवेशनका लागि टिम बनाउने स्थिति नभए आफूहरूको राजनीति सकिनेमा पूर्व पदाधिकारी देखिएका छन् । मुख्यगरी पूर्व पदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइरालादेखि डा. प्रकाशशरण महतसम्मका नेता पेचिलो अवस्थामा छन् । देउवाले गुटको बैठक नराख्दा असन्तुष्ट भएका उनीहरूले अहिले खड्कामाथि निरन्तर दबाब बढाउँदै आएका छन् ।
प्रवक्ता डा. प्रकाशशरण महतले समझदारी कायम गर्नका लागि कार्यवाहक सभापतिले बैठक स्थगित गरेको जानकारी दिए ।
‘हामीले चुनावको दबाबले वैशाखमा महाधिवेशन गरौं भनेका हौं । तर, अरू साथीहरूले त्यसअघि नै महाधिवेशन गरौं भनेर दबाब बढाउनुभएको छ,’ महतले लोकान्तरसँग भने, ‘त्यसैले कार्यवाहक सभापतिले समझदारी विकास गरेर निर्णयमा पुग्नका लागि केन्द्रीय समितिको बैठक स्थगित गराउनुभएको हो ।’
अनर्गल विचार राख्नुभन्दा पनि चुनावको दबाबलाई लिएर वैशाखमा महाधिवेशन गर्न सुझाएको महतले बताए ।

शर्माको दबाबमा शेखरले डाकेका थिए बैठक
नियमित वा विशेष महाधिवेशनबारे शेखर कोइराला र उनको समूहले निर्णय नलिएपछि उनीहरूको पोजिसनमा संशय व्यक्त भएको थियो । त्यसैले महामन्त्री विश्वप्रकाश शर्माले तपाईंको धारणा के हो भन्दै प्रश्न गरेपछि शेखरले शुक्रबार दुवै महामन्त्रीसँग छलफल गरेका थिए ।
‘उहाँ १४ औं महाधिवेशनको नेता हो । तर, महाधिवेशनबारे केन्द्रीय समितिको बैठकमा उहाँपक्षीय नेताले बोल्नुभएको छैन । नियमित वा विशेष महाधिवेशनबारे खुलेर कुरा राख्नुभएको छैन,’ महामन्त्री शर्मानिकट स्रोतले भन्यो, ‘त्यसैले बिहीबार उहाँले शेखर दाइलाई तपाईं पक्षका नेताले बोलेका छैनन्, नियमित वा विशेष महाधिवेशनबारे तपाईंको धारणा के हो ? मंसिर, पुस, फागुन र वैशाख कहिलेसम्म महाधिवेशन गर्न सकिने हो ? प्रस्ट पार्नुस्, भनेपछि आजको बैठक सम्भव भएको हो ।’
सोही छलफलका क्रममा शेखर पक्ष पनि पुसमा महाधिवेशनका लागि तयार भएको थियो ।
‘फागुन २१ गतेको निर्वाचनअघि नै १५ औं महाधिवेशन गर्न सकिन्छ । बरु विशेष महाधिवेशनको विषय थाती राख्न तयार हुनुपर्छ भनेर छलफल गर्यौं । तत्काल महाधिवेशनका लागि कार्यतालिका ल्याउनुको विकल्प छैन भन्नेमा हामीबीच सहमति जुटेको छ,’ सहमहामन्त्री जीवन परियारले लोकान्तरसँग भने, ‘यही सहमतिपछि मेलमिलाप दिवसको दिवसको अवसर पारेर पुस १६ देखि २० गतेसम्म १५ औं महाधिवेशन गर्न सकिन्छ भनेरै विकल्पमा तयार भएका छौं ।’
सो छलफलपछि महामन्त्रीद्वय कार्यवाहक सभापतिसँग छलफल गर्न उनको निवास पुगेका थिए ।
‘सभापतिले भने अनुसार नियमित महाधिवेशनका लागि आग्रह गर्दै महामन्त्रीहरू कार्यवाहक सभापतिलाई भेट्न जानुभएको थियो । भेटमा उहाँले पनि महाधिवेशनबारे अलमल छैन, कति अगाडि वा पछाडि भन्नेमा मात्रै कुरा मिल्न बाँकी हो । केही साथीहरू मान्नुभएको छैन, कुरा गर्छु भन्नुभएका थियो,’ खड्काको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तपाईंहरूले प्रस्ताव गरेको समयमा वरपर रहेर एउटा समझदारी गर्नमा समस्या छैन । म पूर्व पदाधिकारीसँग छलफल गरेर समझदारी निर्माणमा लाग्छु । अरूसँग पछि छलफल गर्छु । तपाईंहरूले पनि छलफल गरेर एउटा वातावरण बनाइदिनुस् ।’
महामन्त्रीको दबाबपछि केन्द्रीय कार्यालय पुगेर खड्काले छलफल पनि गरे । तर, अन्तिममा बैठक स्थगित गराए ।