
संगीतको धुनमा रमाइरहेको एउटा परिवार, जहाँ स्वर, ताल र धुनले पुस्तान्तरणको यात्रा गरिरहेको छ। कमला खनाल रिजाल, हेमन्त रिजाल र उनीहरूका छोरा रियाज रिजाल ।
यो हो ‘रिजाल म्युजिकल फ्यामिली’, जो दमकमा संगीतको ज्योति फैलाउँदैछ र अनलाइन माध्यमबाट लाखौं दर्शकमाझ आफ्नो प्रस्तुति पुर्याइरहेछ । कमला भन्छिन्, 'मेरो श्रीमान हेमन्त रिजालसँग बिहानी कला केन्द्र, उर्लाबारीमा संगीत सिक्ने क्रममा भेटघाट भएको थियो। चिनजान विस्तारै प्रेममा बदलियो र सम्बन्धले वैवाहिक जीवनको रूप लियो । कमला भने संगीतको शिक्षक हुन् ।
उनीहरूले आफ्नो सांगीतिक यात्रा २०६२-२०६३ सालतिर रेडियो नेपालको स्वर परीक्षणबाट गरेका थिए । दुवै जनाले सफलता प्राप्त गरे । त्यसपछि उनीहरूको जीवनमा संगीत र प्रेम एकसाथ अगाडि बढ्यो।
विवाहपछि उनीहरूको परिवारमा छोरा रियाज रिजालको आगमन भयो । सांगीतिक वातावरणमा हुर्केका रियाज सानैदेखि संगीतमा रुचि राख्थे। 'करिब अढाइ वर्षको उमेरदेखि नै उसले मादल बजाउन थालेको थियो,' कमलाले भन्छिन् । रियाजले ताल निकालेरै मादल बजाउन थालेपछि उनीहरूले छोरामा रहेको प्रतिभालाई थप निखार्न प्रोत्साहित गरे । अहिले उनी ११ वर्षका भए ।
कमला र हेमन्त दुवै बिहानी कला केन्द्र दमकमा सक्रिय छन् । कमलाका अनुसार, यो कला केन्द्र उर्लाबारीबाट शुरू भएपछि दमकमा विस्तार भएको हो । उनीहरू निजी बोर्डिङ स्कुलहरूमा पनि संगीत कक्षा सञ्चालन गर्छन् । कमलाले स्वयं ६ वटा स्कूलमा संगीत सिकाउँछिन् भने हेमन्त रिजालले पनि दुई-तीन वटा स्कूलमा पढाउँछन् ।
पहिले हेमन्त रिजाल एउटा वित्तीय संस्थामा कार्यरत थिए । अहिले उनी पूर्णकालीन रूपमा संगीत क्षेत्रमा समर्पित छन् । बिहानी कला केन्द्र दमकमा हाल लगभग ६० जना विद्यार्थीहरूले संगीत सिक्छन् । उनीहरूले हप्तामा तीनपटक कक्षा सञ्चालन गर्छन् ।
कला केन्द्रमा ५ वर्षदेखि ६५ वर्षसम्मका विद्यार्थीहरू संगीत सिक्न आउँछन्। अधिकांश बालबालिकाका अभिभावकहरू आफ्ना सन्तानलाई संगीत सिकाउनुपर्छ भन्ने सोचका साथ आउने गरेको कमला बताउँछिन् । सिक्ने विषयमा गायन मुख्य प्राथमिकतामा पर्छ भने मादल र तबला जस्ता वाद्यवादन पनि सिकाइन्छ।

आजका युवा विद्यार्थीहरू प्रायः पप शैलीका गीतहरूसँगै र्याप र पप सिक्न रुचाउँछन् । तर, कमला र हेमन्तले उनीहरूलाई विस्तारै शास्त्रीय संगीतको साधना र रागहरूतिर डोर्याउने प्रयास गर्छन् ताकि उनीहरूले आधुनिक र परम्परागत दुवै प्रकारका गीतहरू बुझ्न सकून् ।
कमलाले हेमन्तलाई मन पराउनुको एउटा विशेष कारण उनको संगीतप्रतिको लगाव, मेहनत र योग्यता मात्रै नभई उनको 'साह्रै मीठो आवाज' पनि हो । उनी भन्छिन्, 'गला पनि मन पऱ्यो । उहाँको हरेक कुराहरू बुझ्दाखेरि यतिको मान्छेसँग मेरो जिन्दगी चल्छ, जीवन बिताउन सकिन्छ भन्ने लाग्यो । उनलाई विश्वास छ कि जीवनको अन्त्यकालसम्म पनि संगीतमा साथ र सपोर्ट पाइरहनेछ ।

रिजाल म्युजिकल फ्यामिलीले संगीतलाई पेशा र जीवनशैली दुवै बनाएको छ। उनीहरू निरन्तर नेपाली संगीतको विकास र जगेर्नामा लागिरहेका छन् ।
यो सांगीतिक परिवारले सामाजिक सञ्जालमा ‘रिजाल म्युजिकल फ्यामिली’ नामक पेज पनि सञ्चालन गरेको छ । उनीहरूले आफ्ना प्रस्तुतिहरू साझा गर्छन् ।