
रुपन्देहीको बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा शनिबार एक पुरुषको रहस्यमय मृत्यु भएको छ ।
एक महिलासहित होटल पुगेका बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार बुटवल उपमहानगरपालिका–९ स्थित होटलमा शनिबार दिउँसो उनीहरू दुई बच्चासहित पुगेका थिए । उनीहरूले होटलको दोस्रो र तेस्रो तलामा दुई वटा रुम बुकिङ गरेका थिए ।
होटल सञ्चालकले दिएको जानकारीअनुसार उनीहरूले रुममा नै खाजा मगाएर खाएका थिए ।
पछि क्षेत्री बेहोस भएको भन्दै उनीसँगै होटल पुगेकी महिलाले सञ्चालकलाई जानकारी गराएकी थिइन् ।
त्यसपछि उनलाई तत्काल एम्बुलेन्समा राखेर लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका प्रहरीले जनाएको छ ।
बाहिरी चोटपटक केही नभएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी रानाले जानकारी दिए । ‘दुई बच्चासहित बुटवल–२ पाखापानीकी ३० वर्षकी सुनार थरकी महिला र ति पुरुष होटलमा बसेको खुलेको छ,' उनले भने, 'बाहिरी चोटपटक छैन, मृत्युको कारण खुल्न सकेको छैन ।’
माथिल्लो तलाको कोठामा सँगै बसेर मासु र मदिरा सेवन गरेपछि उनीहरू तल्लो तलाको कोठामा बसेको खुलेको छ ।
होटलका सञ्चालक शेरबहादुर रेस्मी मगर हुन् ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष माधवप्रसाद खनालले घटनाबारे जानकारी पाएपछि आफू होटलमा पुगेको भए पनि मृत्युको कारण नखुलेको बताए ।