०६ साउन २०८३, बुधबार

एनपीएल क्रिकेट : सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अफिसियल एन्थम’

कात्तिक २०, २०८२
काठमाडौं
एनपीएल क्रिकेट : सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अफिसियल एन्थम’

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो ‘अफिसियल एन्थम’ सार्वजनिक गरेको छ ।

क्लबका अनुसार सुदूरपश्चिमको स्थानीय भाषा समेटेर तयार पारिएको उक्त एन्थममा ‘खेल्ल पड्यो, लड्ड पड्यो, जित्त पड्यो’ भन्ने लय राखिएको छ ।

डीएनएक्सले स्वर दिएको यो गीतको शब्द र संगीत दिनेश नेपालीले तयार पारेका हुन् । यसको उत्पादन र रेकर्डिङ कपास स्टुडियोमा गरिएको क्लबले जनाएको छ ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकार खड्काले यो एन्थमले सुदूरपश्चिमका समर्थकलाई टिमसँग अपनत्वको महसुस गराउने र मैदानमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘यो एन्थमले सुदूरपश्चिमका समर्थकलाई अपनत्वको महसुस गराउनेछ र मैदानमा झनै ऊर्जा थप्नेछ,’ उनले भनेका छन् ।

यसैबीच, एनपीएलको दोस्रो संस्करणको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टुरको घोषणा गरेको छ । टोलीले शुक्रबार र शनिबार प्रदेशका विभिन्न सहरमा ट्रफी प्रदर्शन गर्ने भएको छ । ट्रफी टूर शुक्रबार बिहान ८ बजे टिकापुरबाट शुरू हुने क्लबले जनाएको छ ।

सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलियन, क्रिस लिन, हर्मित सिंह र जोस ब्राउन रहेका छन् ।

मुख्य प्रशिक्षकमा जगत टमटा छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्