
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक महासंघ, प्राध्यापक संघ र शिक्षा क्षेत्रमा सक्रिय संघ संगठनलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक बनाउन आग्रह गरेका छन् ।
आइतबार विज्ञप्तिमार्फत उनले पछिल्ला दिनमा शिक्षक र प्राध्यापकहरू राजनीतिक गतिविधिमा संलग्न हुँदा शैक्षिक गुणस्तरमा गिरावट आएको गुनासो बढेपछि मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका छन् ।
मन्त्री पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीले पेसागत कर्तव्य, नैतिक दायित्व र आचरणको पालना गर्नुपर्ने भन्दै राजनीतिक क्रियाकलापमा संलग्न भए कानूनी कारबाही हुने चेतावनी दिएका छन् ।
मन्त्रालयले राजनीतिक दलसँग आबद्ध भ्रातृसंस्था वा शुभेच्छुक संगठनहरूलाई मान्यता नदिने उनले जानकारी दिएका छन् ।
उनले मन्त्रालय शिक्षक र कर्मचारीको संविधानप्रदत्त हक अधिकारको सम्मान र संरक्षणप्रति प्रतिबद्ध बताएका छन् ।
