
लोकरक ब्यान्ड नेपथ्यले जापानको नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ ।
ब्यान्ड बामे सर्दाका दिनमा अनेक तीता–मीठा घटना जोडिएको जापानमा नेपथ्य दुई वर्षपछि प्रस्तुत हुन लागेको हो ।
जापानमा ब्यान्डको शृङ्खलाबद्ध प्रस्तुति नागोया शहरबाट थालनी हुनेछ । ‘नागोया लाइभ्स’ सभागृहमा नोभेम्बर १३ बिहीबार ब्यान्डले नेपाली लोकरक गीतहरू गुञ्जाउनेछ । नागोयामा ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको हो ।
पाँच दिनपछि ब्यान्ड राजधानी टोकियोमा प्रस्तुत हुनेछ । १८ नोभेम्बर मंगलबार जापानकै प्रसिद्ध ‘टोकियो डोम सिटी हल’मा नेपथ्य उभिने भएको हो । अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यस हलमा ब्यान्ड दोस्रो पटक प्रस्तुत हुन लागेको हो ।
सात वर्ष पहिले पनि त्यस हलमा नेपथ्यको कन्सर्ट भएको थियो । नेपथ्य यसअघि भने ‘तोयोसु पिट’मा प्रस्तुत भएको थियो ।
टोकियोको भव्य हलमा आफ्ना गीत सुनाएको ठीक ६ दिनपछि नोभेम्बर २४ मा ब्यान्ड ओसाका शहरका दर्शकसामु प्रस्तुत हुनेछ । कन्सर्टका लागि नेपथ्यले त्यहाँको ‘जेप ओसाका बे साइड’लाई चयन गरेको छ । दुई वर्षअघि भने नेपथ्यले त्यहाँको अर्को हल ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाएको थियो ।
नेपथ्य जापानमा पहिलोपटक सन् १९९८ मा प्रस्तुत भएको थियो । ब्यान्ड मुलुकबाहिर धेरैपटक उपस्थित भएका देशहरूमा जापान पनि पर्छ ।
नेपथ्यको जापान यात्रालाई यसपटक ‘भिजोनिया’ समूहले संयोजन गरेको छ । ‘कन्सर्टलाई भव्य बनाउन पूरा क्षमतामा काम गरिरहेका छौं,’ भिजोनियाका प्रमुख सुभाष लामिछाने भन्छन्, ‘टिकट बिक्री तीव्र गतिमा भइरहेको छ । जापानका अन्य शहरमा बसोबास गर्ने इच्छुकले विभिन्न माध्यमबाट सम्पर्क गरिरहेका छन् ।’
तीन दशकभन्दा लामो साङ्गीतिक यात्रामा नेपथ्यले जापानसँगका धेरै सम्झना बोकेको ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ बताउँछन् । उनी थप्छन्, ‘मीठा यादबाहेक अढाई दशकअघि हाम्रो ब्यान्ड त्यसै मुलुकमा पुगेर टुक्रिएको तीतो अनुभव पनि हामीसँग छ ।’
आफूहरू जुनसुकै परिस्थिति र स्वरूपमा पुग्दा पनि जापानका दर्शकले नेपथ्यलाई सदैव न्यानो हृदयसाथ स्वागत गर्दै आएको अमृत सुनाउँछन् ।
विशेषतः आर्थिक उपार्जनका लागि लामो समयदेखि रोजगारी वा बसोबास गर्ने नेपालीमाझ जापान आकर्षक गन्तव्य रहँदै आएको छ । पछिल्लो समय भने यो मुलुक उच्च शिक्षाका लागि पनि उल्लेख्य सङ्ख्यामा नेपाली विद्यार्थी पुग्ने थलो बन्दै गएको छ ।
आफूसँगै नेपाली पहिचान पनि बोकेर उता पुग्ने तन्नेरीहरूले नेपाली लोक भाकामा आधारित रक संगीत प्रस्तुत गर्ने नेपथ्यका गीत मन पराउँदै आएका छन् ।
नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार मञ्चमा प्रस्तुत हुने ६ कलाकारका अलावा व्यवस्थापन र प्राविधिक फाँटका आठ थप सदस्यसहितको टोली जापान पुग्दै छ । ‘प्राविधिक हिसाबले व्यवस्थापन गर्न नेपालबाटै टोली लिएर जाँदा बढी प्रभावकारी हुन्छ,’ श्रेष्ठ भन्छन् ।
जापानका मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।
दर्शकको सुविधालाई ध्यानमा राख्दै जापानका कन्सर्टका लागि पनि अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिने नेपालयले जनाएको छ ।