
पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली पुरुष राष्ट्रिय फूटबल टोलीको प्रदर्शन बिर्सनलायक छ । नेपाली टोलीले खेलका पछिल्ला ६ अन्तर्राष्ट्रिय खेलको नतिजालाई नियाल्दा एउटा पनि सुखद् देखिँदैन ।
नेपाली टोलीले पछिल्लोपटक असोज २३ र २८ गते भियतनामसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । एसियन कप छनोट प्रतियोगिताका क्रममा खेलिएका ती दुवै खेलमा नेपाली टोली पराजित भएको थियो । भियतनामले नेपाललाई पहिलो खेलमा ३–१ र दोस्रो खेलमा १–० गोलले हराएको थियो ।
नेपाली टोलीले एसियन कप छनोटमा हालसम्म आफूले खेलेका चारवटै खेलमा नमीठो पराजय भोगेको छ । नेपाली टोली मलेसियासँग २–० र फिफा वरीयतामा आफूभन्दा तल रहेको लाओससँग २–१ गोलले पराजित भएको थियो ।
नेपाली टोली दुई खेल खेल्न बाँकी रहँदै एसियन कपको छनोट चरणबाटै बाहिरिने पनि पक्का भइसकेको छ । यसबीचमा बंगलादेश र हङकङसँग खेलिएको मैत्रीपूर्ण खेलमा पनि नेपाली टोली गोलरहित बराबरीमा रोकिएको थियो ।
अर्कोतिर, नेपाली टोलीले लामो समयदेखि घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । देशको एक मात्र अन्तर्राष्ट्रिय फूटबल रंगशाला ‘दशरथ स्टेडियम’ निलम्बनमा रहेका कारण फूटबल पारखीले घरेलु मैदानमा आफ्ना खेलाडीको हौसला बढाउन नपाएका हुन् ।
एसियाली फूटबल महासंघ (एएफसी)ले केही मापदण्ड पूरा गर्न नसकेको कारण देखाउँदै दशरथ रंगशालालाई निलम्बनमा राखेको छ । एएफसीले रंगशालाको केही सामान्य विषयमा प्रश्न उठाए पनि त्यसलाई सुधार गर्नेतर्फ कुनै ठोस कदम चालिएको देखिँदैन ।
त्यसैले घरेलु मैदानमा खेल्नुपर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पनि नेपाली टोलीले विपक्षीकै मैदानमा खेल्नुपर्ने बाध्यता सिर्जना भएको छ । एएफसी एसियन कपको छनोट प्रतियोगिताका क्रममा पनि यस्तै अप्रिय स्थिति देखियो ।
यसैगरी, राष्ट्रिय टोलीका विदेशी प्रशिक्षकहरू पनि लामो समय टिक्ने वातावरण बन्न सकिरहेको छैन । एक वर्षका लागि सम्झौता गरेका पुरुष राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक म्याट रस पदावधि सकिनुभन्दा चार महिनाअघि नै अप्रत्यासित रूपमा राजीनामा दिएर स्वदेश (अस्ट्रेलिया) फर्किएका छन् ।
त्यसअघि, राष्ट्रिय महिला फूटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक डे विल्डले पनि आफ्नो पदावधि पूरा नगरी पदबाट राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको थियो । उनी पनि एक वर्षका लागि राष्ट्रिय महिला टोलीको प्रमुख प्रशिक्षक बनेर आएका थिए ।
बेल्जियमका नागरिक प्याट्रिकका रूपमा नेपाली महिला टोलीले पहिलोपटक प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक पाएको थियो । एएफसी एसियन कप छनोटअन्तर्गत उज्बेकिस्तानमा भएको खेलका क्रममा टोलीको कप्तानको विषयलाई लिएर उनको टीम अफिसियलसँग विवाद भएको थियो ।
त्यतिबेला प्रमुख प्रशिक्षक प्याट्रिकले शुरूमा कप्तानको नाम नदिँदा टोलीका अफिसियलले आयोजकलाई रेनुका नगरकोटीको नाम कप्तानका रूपमा बुझाएका थिए । तर, खेलमा भने प्रशिक्षक प्याट्रिकले प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ लाई कप्तानको जिम्मेवारी दिएका थिए ।
सोही विषयमा प्रमुख प्रशिक्षक प्याट्रिक र नेपाली टोलीका अफिसियलबीच विवाद शुरू भएको थियो । प्याट्रिकसँग स्पष्टीकरण पनि सोधिएको थियो । तर, उनले स्पष्टीकरणको जवाफ नबुझाई सिधै पदबाट राजीनामा दिए ।
यसका अतिरिक्त, नेपाली फूटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फूटबल संघ (एन्फा) का पदाधिकारीमाथि पटक–पटक आर्थिक अनियमितताको आरोप पनि लाग्दै आएको छ । एन्फाभित्रको अस्वस्थ्य राजनीतिका कारण त नेपाली फूटबल झनै विवादित बन्दै गएको छ ।
अवस्था कतिसम्म निराशाजनक बन्न पुगेको छ भने पछिल्लो समय राष्ट्रिय फूटबल खेलाडीहरू नै ‘आफूहरूले खेल्ने वातावरण पाउनु पर्यो’ भन्ने माग राख्दै सड्कमा ओर्लिएका छन् । नेपाली फूटबलका लागि यो पक्कै पनि ‘लज्जास्पद’ विषय हो ।
कुनै पनि देशमा ‘घरेलु लिग’लाई फूटबल विकासको मेरुदण्डका रूपमा लिइन्छ । दक्ष र प्रतिभाशाली खेलाडी उत्पादनमा ‘घरेलु लिग’को महत्त्वपूर्ण योगदान रहेको हुन्छ । नेपालमा इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरिए, जर्मन बुन्डेस लिगा, फ्रेन्च लिग वनजस्ता चर्चित युरोपेली लिगका लाखौं समर्थक छन् ।
तर, दु:खपूर्वक भन्नुपर्छ, नेपाली फूटबलप्रेमीले आफ्नै देशभित्र ‘ए’ डिभिजन लिग हेर्न नपाएको भने तीन वर्ष बितिसकेको छ । पछिल्लोपटक चार वर्षअघि (२०७९ सालमा) सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना भएको थियो ।
त्यतिबेला ‘ए’ डिभिजन लिगले चर्च ब्वाइज क्लबका रूपमा नयाँ च्याम्पियन पाएको थियो । प्रत्येक वर्ष आयोजना हुनुपर्ने घरेलु लिग नहुनुको प्रत्यक्ष असर राष्ट्रिय टोलीको नतिजामा झल्किएको देखिन्छ भने अर्कोतिर, लिग नहुनुको मारमा खेलाडीहरू त पर्ने नै भए ।
गत वैशाखमा धुलिखेलमा सम्पन्न एन्फाको साधारणसभाले यसै वर्ष (२०८२ सालमै) ‘ए’ डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको थियो । एन्फाले सार्वजनिक गरेको क्यालेन्डरमा समेत पुस ९ गतेदेखि ६ महिनासम्म चल्ने गरी ‘ए’ डिभिजन लिग शुरू गर्ने उल्लेख गरिएको थियो ।
तर, कात्तिकको तेस्रो साता अप्रत्यासित रूपमा एन्फा र क्लबका प्रतिनिधिबीच यो वर्ष ‘ए’ डिभिजन लिग नगर्ने र त्यसको सट्टा ‘राष्ट्रिय लिग’ आयोजना गर्ने सहमति भएपछि घटनाले नयाँ मोड लिएको थियो । एन्फाको विभिन्न गतिविधिमा असहमति व्यक्त गर्दै आएका क्लबहरू पनि यसमा भने सहमत देखिएका थिए ।
कात्तिक १७ गते एन्फा र क्लबका प्रतिनिधिबीच यो वर्ष राष्ट्रिय लिग सञ्चालन गर्ने र ‘ए’ डिभिजन लिग भने २०८३ साल पुसमा मात्र आयोजना गर्ने सम्झौता भएपछि लामो समयदेखि घरेलु लिग खेल्नबाट बञ्चित भएका फूटबल खेलाडीहरू आक्रोशित बनेका हुन् ।
अहिले एन्फा र क्लबहरूबीच भएको यो सहमतिप्रति ‘असहमति’ जनाउँदै खेलाडीहरू सडक आन्दोलनमै ओर्लिएका छन् । फूटबल खेलाडी संघले शुरू गरेको आन्दोलनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले समेत एक्यबद्धता जनाएको छ ।
घरेलु फूटबलको आधार स्तम्भको रूपमा रहेका लिगहरू निर्धारित समयमै आयोजना गरिनुपर्ने मागसहित खेलाडीहरू सातदोबाटोस्थित एन्फा मुख्यालय घेराउ गर्न समेत पुगेका थिए । एन्फा परिसरमा प्रवेश गर्न नदिइएपछि खेलाडीले एन्फा मुख्यालयको गेटमै आफूहरूले जितेका पदक झुन्ड्याएर विरोध जनाएका थिए ।
खेलाडी संघले एन्फासँग पूर्वघोषित मिति पुस ९ गतेदेखि शुरू हुने गरी कम्तीमा ६ महिना चल्ने शहीद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन गर्नुपर्ने, एन्फा महिला लिग तोकिएकै मितिमा शुरू गर्नुपर्ने र सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि राष्ट्रिय लिग आयोजना गर्नुपर्ने माग राखेको छ ।
यसैगरी, खेलाडी संघले २०८३ सालमा सबै श्रेणीका लिग आयोजना गरिनुपर्ने र विभिन्न जिल्लामा रहेका फूटबल मैदानको प्रयोग गरी सबै श्रेणीका लिगको सिजन एउटै समयमा शुरू गर्ने व्यवस्था मिलाउनुपर्ने माग पनि राखेको छ ।
यसका अतिरिक्त, खेलाडी संघले एन्फाको साधारणसभा र केन्द्रीय समितिले पारित गरेका सबै निर्णयलाई कार्यान्वयनमा लैजानुपर्ने, विगतमा घोषणा गरिएका पुरस्कार १५ दिनभित्र उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि रोकिएको पुरस्कार तथा सम्मान कार्यक्रमलाई तत्काल सुचारु गर्नुपर्ने माग पनि एन्फासँग राखेको छ ।
त्यसअघि, एन्फा र क्लबका प्रतिनिधिसँग छलफल गरी ५० दिनभित्र ‘ए’ डिभिजन लिग शुरू गर्ने वातावरण बनाउने गरी सुझाव पेश गर्न एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।
तर, त्यो कार्यदलमा खेलाडी संघका प्रतिनिधिलाई भने समावेश गरिएको थिएन । यो विषयलाई लिएर खेलाडी संघले पुन: असन्तुष्टि व्यक्त गरेको थियो । त्यसपछि कार्यदलमा खेलाडी संघका अध्यक्ष विक्रम लामा र कोषाध्यक्ष विशाल श्रेष्ठलाई समावेश गरिएको थियो ।
कार्यदलले प्रतिवेदन बुझाउनुअघि नै राष्ट्रिय लिगको निर्णय सार्वजनिक भएपछि खेलाडीहरू थप आक्रोशित बनेका हुन् । विरोध प्रदर्शनका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीहरूलाई एन्फाले सोमबार वार्ताका लागि बोलाएको थियो ।
तर, खेलाडी संघले एन्फा र खेलाडी संघका प्रतिनिधिबीच हुने वार्ताको प्रत्यक्ष प्रसारण गरिनुपर्ने माग राखेको थियो । खेलाडी संघले राखेको उक्त मागमा एन्फाका पदाधिकारी सहमत नभएपछि वार्ता नै हुन सकेन ।
त्यसपछि, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत सम्बद्ध पक्षहरूलाई सहिद स्मारक लिगका विषयमा छलफल गर्न मंगलबार मन्त्रालयमा बोलाएको थियो ।
छलफलमा एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लबका प्रतिनिधि, फूटबल खेलाडी संघका पदाधिकारी, विभागीय टोलीका प्रतिनिधि लगायतलाई बोलाइएको थियो ।
मन्त्रालयमा भएको छलफलमा सबै पक्षले आ–आफ्नो धारणा राखेका थिए । त्यसपछि सबै पक्षबीच आगामी एक सय २० दिन (चार महिना)भित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति जुटेको छ ।