
अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी पर्साका एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३६७ उजुरी परेकामा हालसम्म छ सय ३५ उजुरी फछ्र्योट गर्न बाँकी छन् ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले भने, “रु एक लाखको ऋण दिएर रु तीन लाखसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन । अझै पनि वास्तविक मिटरब्याजपीडितले न्याय पाउन सकेका छैनन् ।”
पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि रु एक लाख १० हजार ऋण लिएकामा साहुकार जोगिन्दर राउत कुर्मीले रु तीन लाख ३० हजारको तकसुक बनाएको आरोप लगाए ।
पर्सामा मेलमिलापको बिगो रु २९ करोड १२ लाख ८५ हजार ५९७ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी प्रवक्ता बस्नेतले दिए ।