१७ असार २०८३, बुधबार

जेनजी आन्दोलनमा लुटिएको गोलीसहित २ जना पक्राउ

कात्तिक २६, २०८२
विराटनगर
जेनजी आन्दोलनमा लुटिएको गोलीसहित २ जना पक्राउ

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, अनारमनीबाट लुटिएका ५४ थान गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो बिर्तामोड नगरपालिका– २, राम चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा- ४, चकचकी घर भई हाल बिर्तामोड–२ राम चोकमा डेरा गरी बस्ने २७ वर्षीया ईस्रप खातुन र सोही स्थानका २२ वर्षीय विकास टुडु छन् । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले खातुनको कोठामा लुकाइराखेको अवस्थामा उक्त गोली बरामद गरेको हो ।

प्रहरीले खातुनको कोठाबाट एसएलआर राइफलका ३८ राउन्ड र इन्सास राइफलका १६ राउन्ड गरी जम्मा ५४ राउन्ड गोली बरामद गरेको छ ।

साथै, प्रहरीले उनीहरूको साथबाट काँसको थाल, करुवा, पित्तलको गिलास र प्रहरीले लगाउने एक जोर बुट पनि बरामद गरेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा झापाका अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयहरूमा आक्रमण, तोडफोड, आगजनी र हतियार लुटिएको थियो । 

सोही क्रममा लुटिएका हतियार तथा गोलीगट्ठाको खोजी कार्य प्रहरीले जारी राखेको छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्