
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले आफ्नो ‘आइकोनिक’ खेलाडीको घोषणा गरेको छ । लुम्बिनी लायन्सले ‘आइकोनिक’ खेलाडीको रूपमा समीर अली मुसलमानलाई छनोट गरेको हो ।
समीर अली मुसलमान अन्तिम चरणको ट्यालेन्ट हन्टबाट ‘आइकोनिक’ खेलाडीमा छनोट भएका हुन् । क्लबका अनुसार, कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा सम्पन्न फाइनल चरणको खेलबाट ‘आइकोनिक’सहित उत्कृष्ट तीनजना खेलाडी छनोट गरिएको हो ।
‘आइकोनिक’ खेलाडीको रूपमा छनोट भएका विकेटकिपर ब्याट्सम्यान समीर अली मुसलमानले मध्यक्रममा ब्याटिङ गर्छन् । क्लबका अनुसार, उनले लुम्बिनी प्रदेशबाट यू–१६ र यू–१८ प्रतियोगिता पनि खेलिसकेका छन् ।
यसैगरी, आशुतोष पाण्डे र दिनेश बोहरा लुम्बिनीको ‘हिरो’ खेलाडीका रूपमा छनोट भएका छन् । समीर अली मुसलमानलाई अब लुम्बिनी लायन्सको मुख्य टोलीमा समावेश गरिने छ । आशुतोष र दिनेश पनि टोलीसँगै रहने छन् ।
ट्यालेन्ट हन्टमा करिब एक सय खेलाडीको सहभागिता रहेको जानकारी लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट प्रशिक्षक शक्ति गौचनले दिए । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले भैरहवाको एक्सट्राटेक ओभलमा प्रशिक्षण गरिरहेको छ ।
लुम्बिनी लायन्सले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका डार्शी सर्ट, अफगानिस्तानका गुलबदिन नाहब र इटालीका थोमस ड्राकालाई अनुबन्ध गरेको छ । बाँकी विदेशी खेलाडीको नाम चाँडै सार्वजनिक गरिने पनि क्लबले जनाएको छ ।
लुम्बिनी लायन्सको टोलीमा रोहित पौडेल, सन्दीप जोरा, दिनेश अधिकारी, अभिषेक गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, डार्शी सर्ट, थोमस ड्राका, गुलबदिन नाहब र समीर अली रहेका छन् ।
टोलीको मेन्टरमा रोविन सिंह, प्रमुख प्रशिक्षकमा टिनु योहान्ना, कन्सल्ट्यान्ट प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा सुभाष खकुरेल रहेका छन् ।