२९ असार २०८३, सोमबार
पुस्तक चर्चा

'त्यो झापा' : भोगाइ, संघर्ष र रूपान्तरणको कथा

कात्तिक २९, २०८२
काठमाडौं
'त्यो झापा' : भोगाइ, संघर्ष र रूपान्तरणको कथा

झापा केवल एउटा भूगोल मात्र होइन, स्मृतिमा अमिट छाप बनेर बसेको इतिहास हो। यो त्यही ठाउँ हो, जहाँका मानिसहरूले औलो र बिफरसँग लडेर जङ्गललाई बस्न योग्य बनाए। बाटो बनाए, उर्वर माटो बनाए, बजार बसाए र स्कुल निर्माण गरे।

झापासँग आफ्नै कथा छ- औलोसँग लड्ने भूमिपुत्रहरूको कथा, आफ्नो थातथलो छाडेर बसाइँसराई गरेर आएका मानिसहरूको कथा, राणा शासनको ज्यादती, प्रजातन्त्रका लागि भएको संघर्ष र भोकमरीको पीडा झापासँग छ । यो झापा निर्माण गर्ने पात्रहरूको कथा हो- जहाँ असलका साथसाथै खराब पक्षको पनि चर्चा हुन्छ।

आफू जन्मे/हुर्केको, बाल्यकालका मधुर सम्झनाले जोडिएको अनि पितापुर्खाका रगत–पसिनाले सिँचिएको ठाउँ भए पनि झापाको इतिहासबारे विस्तृत जानकारी मलाई थिएन।

पूर्वका पत्रकार तथा लेखक तीर्थ सिग्देलजीले हालै प्रकाशित गर्नुभएको पुस्तक त्यो झापा’  पढेपछि जन्मे–हुर्केको भूगोलबारे विस्तृत रूपमा जान्न र बुझ्न पाएँ। विगतमा झापाको अवस्था कस्तो थियो, त्यहाँका आदिवासीहरूको जीवनशैली कस्तो थियो, उनीहरूले रोगब्याधीको प्रकोप र हिंस्रक जङ्गली जनावरबीच कति कष्ट सहेर आफ्नो अस्तित्व जोगाए ? यी सबै कुरा पुस्तकमार्फत् थाहा पाएँ।

जहानिया राणा शासनका समयमा सत्तासिनहरूले पठाएका व्यक्तिहरूले यहाँका वनजङ्गल मास्ने, स्थानीय सोझासाझा आदिवासीहरूको जग्गाजमिन विभिन्न उपाय र षडयन्त्र गरेर हत्याउने, आफ्ना भाइभारदारलाई विर्ता बाँड्ने गरेको इतिहास पनि पुस्तकमा समेटिएको छ।

राणा शासनको अन्त्य, औलो रोग उन्मूलन र पञ्चायती व्यवस्थाको उदयपछि पहाडका जिल्ला तथा आसाम–बर्माबाट व्यापक रूपमा बसाईसराइ हुने क्रम कसरी शुरू भयो, नयाँ बस्ती र बजार कसरी विस्तार हुँदै गए ? यसको विस्तृत र ऐतिहासिक विवरण पनि पुस्तकमा छ।

राज्यसत्ताको पहल र २००७ सालपछि पहाडमा शुरू भएको विद्रोहका कारण पहाडका टाठाबाठा मानिसहरू झापातर्फ बसाइँसराई आउँदा यहाँका सोझासाझा आदिवासी समुदाय- जसमध्ये धेरैसँग प्रशस्तै जग्गा जमिन थियो, उनीहरू कसरी विस्तारै भूमिहीन हुँदै गए भन्ने तथ्यहरू पनि पुस्तकमा उल्लेख छन्।

झापाको शैक्षिक, भौतिक र खेलकुद विकासमा पहाडबाट आएका समुदायको योगदान, साथै देशमा प्रजातन्त्र स्थापना गर्न झापामा रहेका यी समुदायको भूमिकाबारे पनि पुस्तकमा गहन र विस्तृत रूपमा चर्चा गरिएको छ।

झापा जिल्ला र यसको ऐतिहासिक विकासक्रम बुझ्न चाहनेहरूले यो पुस्तकबाट धेरै कुरा जान्न र बुझ्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्