
गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आइतबार गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित (एसएमटी) बैठकमा मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरूले एक्टिभिष्ट जसरी आ-आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिएका हुन् ।
'अहिलेको सरकार भनेको कै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेरभन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मुलुक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिश्चितता कायम गर्ने गरी जिम्मेवारी बहन गर्न निर्देश गर्दछु,' मन्त्री अर्यालले भने ।
मन्त्री अर्यालले विभागीय प्रमुखहरूलाई आ-आफ्नो मातहतका कार्यालयहरूको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न निर्देशन गर्नै भने, 'बढीभन्दा बढी कर्मचारीहरूले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूति महसुस गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन गर्दछु।'

उनले गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समिति र पीडितहरूका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिएमात्रै बाहिर अरूले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई मन्त्रालयले चिर्न समेत निर्देशन दिए ।
बैठकमा गृहमन्त्री अर्यालले घाइतेहरूको राहत कार्यविधि छिट्टै टुंग्याउने र जेनजी घाइतेहरूलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत आदेश दिए ।
गृह सचिव रामेश्वर दंगालले मन्त्रालय र आफू मातहतका कर्मचारीहरूले गरेको कार्यसम्पादनमा आफू सन्तुष्ट रहेको रहेको बताए ।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दर्जन बढी नियमावलीहरू संशोधन भइसकेका र नागरिकता नियमावली पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
बैठकमा मन्त्रालय अन्तर्गतका विभागीय प्रमुख, महाशाखा र शाखा प्रमुखहरूले आफ्नो क्षेत्रका प्रगति र वस्तुस्थितिबारे जानकारी गराएका थिए ।