
काठमाडौंको नागढुङ्गा र धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माणको काम ९८ प्रतिशत सकिएको छ । तर, सञ्चालनमा आउन भने समय लाग्ने भएको छ ।
यसअघि पटकपटक सञ्चालनका विभिन्न मिति तय गरिएपनि सर्वसाधारणका अब २०८३ सालपछि मात्रै सुरुङमार्ग पूर्ण रूपमा सञ्चालन आउने देखिएको छ ।
सुरुङमार्ग सञ्चालन ठेक्का लगाई सफल परीक्षण अवधिपछि सम्पूर्ण सर्वसाधारणका लागि खुल्नका लागि २०८३ वैशाखसम्म सञ्चालनमा आउने देखिएको हो ।
नागढुङ्गा सुरुङ निर्माण आयोजनाका निर्देशक इन्जिनियर सौजन्य नेपालका अनुसार डिसेम्बर १७ अर्थात् पुस २ गतेसम्म सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि टेन्डर आह्वान गरिएको छ ।
टेन्डरको आह्वानपछि छनोट प्रक्रिया, मूल्यांकन आशय पत्र, सम्झौतालगायत प्रक्रियामा करिब डेढ महिनासम्म लाग्छ ।
जसलाई एक महिनाभित्रै टुङ्ग्याउने तयारी गरिएको नेपालको भनाइ छ । सञ्चालनको ठेक्का पाइसकेपछि तीन महिना परीक्षण अवधि तोकिएको छ । तीन महिनाको सफल परीक्षण अवधिपछि मात्रै सुरुङमार्ग सर्वसाधारणका लागि सञ्चालनमा आउनेछ ।
पुस २ गतेसम्मको टेन्डर अवधिलाई आधार मानेर हेर्दा ठेक्काको मूल्यांकन एक महिनामा गर्दा माघ पहिलो सातासम्म प्रक्रिया सम्पन्न हुन्छ । र, परीक्षण अवधि शुरू हुन्छ । तीन महिनाको परीक्षण अवधि समाप्त हुँदा २०८३ वैशाख पहिलो सातासम्म जाने देखिन्छ ।
यसरी हेर्दा २०८३ वैशाखपछि मात्रै पूर्ण रूपमा सुरुङमार्ग सञ्चालनमा आउने देखिन्छ । यद्यपि सीमित सवारी साधनका लागि भने फगुन/चैतको परीक्षण अवधिमा पनि प्रवेश दिइनेछ ।
‘डिसेम्बर १७ सम्म बोलपत्र आह्वान गरिएको छ । ठेक्का प्रक्रियाको मूल्यांकन करिब १ डेढ महिनाको हुन्छ । हामी एक महिनाभित्रै ठेक्काको सबै मूल्यांकन गरेर सकाउनेछौं’, नेपालले भने, ‘त्यसपछि तीन महिनाको परीक्षण अवधि हुन्छ । परीक्षण अवधिमै सीमित सवारी साधनलाई प्रवेश दिइनेछ । तर, सफल परीक्षणपछि मात्रै सर्वसाधारणका लागि सुरुङमार्ग खुल्नेछ ।’
सुरुङमार्गको काम सम्पन्न हुन ६ महिना अझै लाग्ने
सुरुङमार्गको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति करिब ९२ प्रतिशतमा छ । अब यसको पूर्ण काम सम्पन्न हुनका लागि करिब ६ महिना लाग्न सक्ने आकलन गरिएको छ ।
अहिले पश्चिम अर्थात् धादिङतर्फको प्रवेशद्वारमा पहिरो गएका कारण पहिरो रोकथाम नभएसम्म एप्रोच रोड र टोल बुथ बनाउन नसकिने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक सञ्जय पन्थीले लोकान्तरलाई जानकारी दिए । करिब सय मिटर पहिरो गएको क्षेत्रमा कसरी दीर्घकालीन समाधान निकाल्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

‘धादिङतर्फ करिब सय मिटर पहिरो गएको छ । पहिरो नियन्त्रण नभएसम्म एप्रोच रोड र टोल बुथ बनाउन सकिँदैन’, उनले भने, ‘यसका साथै धादिङतर्फको प्रवेशद्वार, पहुँच मार्ग निर्माण र टनेलभित्र थप भएको भेरिएसन अनुसार पूर्वाधार निर्माण केही समय लाग्ने देखिएको छ ।’
पूर्ण रूपमा काम सम्पन्न गर्नका लागि अझै करिब ६ महिना लाग्ने अनुमान गरिएको छ । तर सडक विभागले यसबारे निर्णय भने गरेको छैन ।
सुरुङमार्ग सञ्चालनका लागि विदेशी कम्पनी नै चाहिने
सुरुङमार्गको सञ्चालन तथा मर्मतका लागि विदेशी कम्पनीलाई दिने गरी ठेक्का प्रक्रिया अगाडी बढाइएको छ । नेपालमा सुरुङमार्ग सञ्चालनको अनुभव नहुँदा अन्तर्राष्ट्रिय सेवा प्रदायक कम्पनी खोज्ने प्रक्रिया अघि बढाएको हो ।
नेपालकै पहिलो आधुनिक सुरुङ भएकोले अत्याधुनिक भेन्टिलेसन सिस्टम, आपतकालीन निकास, सीसीटीभी निगरानी, फायर सेफ्टी, ड्रेनेज तथा कन्ट्रोल रुम प्रणाली समावेश छन् । यी प्रणाली सञ्चालन र मर्मतका लागि प्राविधिक तथा दक्ष जनशक्ति नै आवश्यक हुने भएकोले विदेशी कम्पनीमार्फत् सरुङमार्ग सञ्चालन गराउन लागिएको छ ।

सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि कम्पनी छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र टेन्डर आह्वान गरेको छ । जुन गत कात्तिक १६ गते आह्वान गरिएको थियो । बोलपत्रको अन्तिम मिति २ पुस (२०२५ डिसेम्बर १७) तोकिएको छ । सेवा प्रदायकले पाँच वर्षको सुरुङमार्ग सञ्चालन तथा मर्मत गर्ने सम्झौता हुनेछ ।
सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रूपैयाँ ऋण सहयोग लिएर शुरू गरिएको यस आयोजनाको निर्माण सम्पन्न गर्ने अवधि २०२३ अप्रिल २५ मा थियो । दुई पटक म्याद थपेर यसको अवधि २०२५ अक्टोबर २५ सम्म थियो । जुन अझै सम्पन्न नभएपछि म्याद थप्ने तयारी भइरहेको छ ।
कूल २२ अर्ब लागतमा बन्ने यो सुरुङमार्ग जापानको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत् जापानकै हाजमा एण्डो कर्पोरेशनले निर्माणको ठेक्का पाएको थियो । यस कम्पनीसँग सन् २०१९ सेप्टेम्बर २३ मा ठेक्कासम्बन्धी सम्झौता गरिएको थियो ।