
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा मंगलबार चितवन राइनोजले कर्णाली याक्सको सामना गर्दैछ । उक्त खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
चितवन राइनोजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:४५ बजे शुरू हुनेछ ।
प्रतियोगिताको पहिलो संस्करणमा कर्णाली याक्सको टोली दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्ससँग दुई विकेटले पराजित भएको थियो ।
चितवन राइनोज भने पहिलो संस्करणको एलिमिनेटर चरणमा कर्णाली याक्ससँग २१ रनले पराजित भएको थियो ।
पहिलो संस्करणमा चितवन र कर्णालीबीच दुईपटक भिडन्त भएको थियो । ती दुवै खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको थियो ।
सोमबारको उद्घाटन खेलमा काठमाण्डू गोर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो ।