
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाण्डू गोर्खाजलाई जितका लागि १ सय ४८ रनको लक्ष्य दिएको छ ।
केवल २७ रनको कुल स्कोरमा माथिल्ला चार प्रभावशाली ब्याट्सम्यानलाई गुमाएपछि दबाबमा परेको सुदूरपश्चिमका लागि हरमित सिंहले आक्रामक अर्धशतकीय पाली खेलेपछि बुधबारको खेलमा काठमाण्डू गोर्खाजसामु सम्मानजनक लक्ष्य प्रस्तुत गरेको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रन बनाएको हो ।
पहिलो ओभरमै काठमाण्डू गोर्खाजका बलर करण केसीले सुदूरपश्चिमको दुवै ओपनरलाई पेभेलियन फर्काए । दुवै ओपनरले खातासम्म खोल्न सकेनन् । टोलीको कप्तानसमेत रहेका करणले पहिलो ओभरको दोस्रो बलमा जोस ब्राउन र छैटौं बलमा विनोद भण्डारीलाई पेभेलियन फर्काएका थिए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका क्रिस लिन पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी केवल दुई रन बनाउँदै आउट भए । क्रिस लिनको विकेट पनि करणले नै लिएका थिए । इशान पाण्डे पनि केवल ११ रन बनाउँदै चौथो विकेटका रूपमा आउट भए ।
छैटौं ओभरको अन्तिम बलमा चौथो विकेट गुमाउँदासम्म त्यतिबेला सुदूरपश्चिमले केवल २७ रन बनाएको थियो । त्यसपछि आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको स्कोरलाई ५२ रनको स्थितिसम्म डोर्याएका थिए ।
पाँचौं विकेटका रूपमा आरिफ शेख २५ रन बनाउँदै आउट भए । उनले २४ बलमा तीन चौका पनि हिर्काए ।
त्यसपछि, कप्तान दीपेन्द्र र नरेन साउदले टोलीको स्कोरलाई ७२ रनसम्म पुर्याएका थिए । छैटौं विकेटका रूपमा नरेन ६ रन बनाउँदै पेभेलियन फर्किए ।
नरेन आउट भएपछि क्रिज समाल्न आएका हरमित सिंहले दीपेन्द्रसँग मिलेर गजबको पाली खेले । टोली अप्ठ्यारो स्थितिमा रहँदा यी दुई अनुभवी ब्याट्सम्यानले स्कोरलाई एक सय ३३ रनको सन्तोषजनक स्थितिसम्म डोर्याएका थिए ।
दीपेन्द्र ३९ रन बनाउँदै सातौं विकेटका रूपमा पेभेलियन फर्किए । उनले ३० बलमा एक छक्का र तीन चौका पनि हिर्काए । त्यसपछि क्रिज समाल्न आएका स्कट कुगेलियन केवल एक रन बनाउँदै आठौं विकेटका रूपमा पेभेलियन फर्किए ।
नवौं विकेटका रूपमा पेभेलियन फर्किनुअघि हरमित सिंहले अर्धशतक बनाइसकेका थिए । उनले केवल २० बलमा ६ छक्का र दुई चौकाको मद्दतले ५३ रन बनाए । हेमन्त धामी तीन रनमा अविजित रहे । अविनाश बोहरा एक रन बनाउँदै आउट भए ।
काठमाण्डू गोर्खाजका बलर करण केसीले चार विकेट लिए । उनले चार ओभरमा ३० रन खर्चिए । मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले पनि दुई/दुई विकेट हात पारे । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा ६ रन पायो ।