०४ साउन २०८३, सोमबार

टोकियो डोममा दोस्रो पटक गुञ्जियो नेपथ्य

मंसिर ४, २०८२
काठमाडौं
टोकियो डोममा दोस्रो पटक गुञ्जियो नेपथ्य

गायक अमृत गुरुङ मञ्चमा देखा पर्नासाथ तीनतले बालकोनी भएको भूमिगत हलभित्र ठूलो तरङ्ग फैलियो । झिलिमिली बत्ती र दर्शकको चिच्याहटबाट स्वागत पाएका अमृतले माइक समातेर गाउन थाले – ‘हो रामा रामा, हाई माया हाँसिदिँदा देब्रे गाला डिम्पल बसने !’

कन्सर्ट शुरू हुनुभन्दा आधा घण्टा पहिल्यै डाउनटाउनस्थित ‘टोकियो डोम सिटी हल’ भरिभराउ थियो । जब नेपालीपन बोकेको गीतसँगै मंगलबार बेलुकी रक कन्सर्ट शुरू भयो, हलमा हलचल मच्चियो ।

नेपथ्यले हिमपातको प्रभावसाथ प्रस्तुत गरेको ‘भेडाको ऊनजस्तो’ले हलभित्रको तरङ्गलाई अर्को उचाइ दियो । त्यसपछि आफ्नो सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ गाउँदासम्म ब्यान्डले माहोलमा कब्जा जमाइसकेको देखिन्थ्यो ।

‘कामको बोझले थिचिएको यहाँको व्यस्त जीवनबीच मभित्र जम्दै गएको छटपटीलाई निकास दिने यो नै सर्वोत्तम ओखती थियो,’ तनहुँको बन्दीपुरबाट तीन वर्षअघि जापान आएकी सोनिका गुरुङ भनिरहेकी थिइन्, ‘अनुशासनबद्ध प्रस्तुति र देशभक्तिको भावनाले भरिएको नेपथ्य कन्सर्टले पूर्ण सन्तुष्टि दिएको छ ।’

जापानकै प्रसिद्ध यस हलमा नेपथ्यले सात वर्षपछि दोस्रो प्रस्तुति दिएको हो । यस शहरमा भने दुई वर्षअघि पनि ब्यान्डको कन्सर्ट थियो । नेपथ्यका लागि प्रारम्भका दिनका अवसरदेखि लिएर ब्यान्ड विघटनसम्मका थुप्रै तीतामीठा घटनाको साक्षी हो टोकियो । नेपथ्यले मुलुकबाहिर सबैभन्दा धेरै कन्सर्ट गरेको शहरमध्ये पनि पर्छ यो ।

मंगलबारको कन्सर्टमा रोजगारीका लागि मात्रै नभई पढ्नका निम्ति आएका विद्यार्थीको पनि उल्लेख्य उपस्थिति थियो । तिनैमध्ये एक थिए जापानी विद्यालयमा प्लस टु पढिरहेका १७ वर्षीय विवेक कँडेल । उनी आठ वर्षपहिले अभिभावकका साथ बागलुङको गलकोटबाट यता आएका रहेछन् ।

‘साथीहरूबाट चर्चा सुनेपछि हेर्न आएको हुँ,’ विवेकले भने, ‘गायकले मञ्चबाट अनेक सन्दर्भ झिक्दै दर्शकसँग संवाद गर्ने तरिका मलाइ विशेष मन पर्‍यो ।’

दर्शकसँग मनको कुरा खोल्दै अमृतले भनेका थिए, ‘गाउँमा यति बेला बालाचतुर्दशीको चहलपहल छ । धान काटिसकेर दाइँ हाल्ने चटारो छ । आफू भने मनमा गाउँलाई लिएर यतातिर गाउँदै हिँडिएको छ । गाउँको याद आयो है... ।’

मध्यतिर ‘यो जिन्दगानी’ गीतका साथ कन्सर्ट जब सामाजिक दायरामा प्रवेश गर्‍यो, अमृतले त्यसैसँग सान्दर्भिक भनाइ राखे । ‘तपाईंहरूले पढ्ने अवसर पाए पनि नेपालमा अझै धेरै केटाकेटीले शिक्षाको उज्यालो देख्न पाएका छैनन्,’ उनले भने, ‘थोरै पैसा बचाएर भए पनि त्यस्ता केटाकेटीलाई स्कुलको दैलोसम्म पठाउन योगदान गरिदिनुस् ।’

null

कन्सर्ट उत्तरार्धतिर देशभक्तितर्फ ढल्कियो । अमृतले उसै गरी अब देश बनाउने दायित्व युवा पुस्ताले सम्हाल्नुपर्ने बताए । ‘नेपालमा माहोल चुनावमुखी छ । तपाईंका आफन्त, साथीभाइलाई चुनावमा सहभागी भएर परिवर्तनको मार्ग पहिल्याउन खबर गरिदिनू है... ।’
कन्सर्टको अन्त्य राष्ट्रिय झन्डाको महिमा गरिएको ‘रातो र चन्द्रसुर्जे’ गीतबाट भयो ।

अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘नेपथ्यको कन्सर्टमा हलभरि रमाइरहेका दर्शकको अनुहार देखेर हामीजस्ता आयोजकलाई बेग्लै आनन्द महसुस हुन्छ,’ आयोजक समूहका सुभाष लामिछानेले भने, ‘कन्सर्टसँग जोडिएर टोकियोवरपर बसोबास गर्ने नेपालीको सेवा गर्न पाएकामा पनि गौरव महसुस गरिरहेका छौं ।’

नागोया र टोकियोको सफलतासँगै कलाकार, प्राविधिक र व्यवस्थापकको १४ सदस्यीय टोली अब ओसाकातर्फ लाग्नेछ । त्यहाँस्थित ‘जेप ओसाका बे साइड’ हलमा नोभेम्बर २४ मा ब्यान्डले यस वर्षको जापान यात्राकै अन्तिम प्रस्तुति दिनेछ ।

दर्शक सुविधालाई ध्यानमा राख्दै कन्सर्ट टिकट अनलाइनबाटै सोझै काट्न सकिने प्रबन्ध मिलाइएको छ । नेपथ्यको आधिकारिक वेबसाइट  www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्