२२ असार २०८३, सोमबार

भारत केवल उदाउँदो बजार मात्र होइन, उदाउँदै गरेको अर्थतन्त्रको मोडेल पनि हो: मोदी

मंसिर ४, २०८२
काठमाडौं
भारत केवल उदाउँदो बजार मात्र होइन, उदाउँदै गरेको अर्थतन्त्रको मोडेल पनि हो: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत केवल उदाउँदो बजार मात्र होइन, विश्वका लागि नयाँ मोडेलका रूपमा उदाउँदै गएको देश भएको बताका छन् । उनले भारतले उज्यालो र सम्भावनासहितको भविष्यतर्फको मार्ग स्पष्ट रूपमा तय गरिरहेको बताए ।

नयाँ दिल्लीमा आयोजित छैटौं रामनाथ गोएनका व्याख्यानमा बोल्दै प्रधानमन्त्री मोदीले बिहार विधानसभा चुनावमा सत्तारूढ एनडीए गठबन्धनले हासिल गरेको विजयलाई पनि उल्लेख गरे । उनले जनताले विकासउन्मुख राजनीतिलाई समर्थन गरेर स्पष्ट जनादेश दिएको टिप्पणी गरे ।

प्रधानमन्त्री मोदीले २०२२ मा युरोपेली संकटका कारण विश्व आपूर्ति श्रृंखला र ऊर्जा बजारमा परेको अवरोधले धेरै देशका अर्थतन्त्र प्रभावित भएका बेला पनि भारतले मजबुत गति कायम राख्दै २०२२–२३ मा उल्लेखनीय आर्थिक वृद्धि हासिल गरेको उल्लेख गरे ।

२०२३ मा पश्चिम एशियामा स्थिति झनै जटिल हुँदै गए पनि भारतको विकास दर स्थिर रहेको दाबी मोदीले गरे  । विश्वमा अस्थिरता बढिरहँदा पनि यो वर्ष भारतले करिब सात प्रतिशत वृद्धि दर कायम राखिरहेको उनले बताए ।

प्रधानमन्त्री मोदीको शब्दमा, 'विश्व अनिश्चितता र अवरोधको आशंकामा जुझिरहेकै समयमा भारत उज्यालो भविष्यको दिशामा अघि बढिरहेको छ । भारत केवल उदाउँदो बजार मात्र होइन, उदाउँदो मोडेल पनि हो ।'

उनले रामनाथ गोएन्काको व्यक्तित्व स्मरण गर्दै भने, 'रामनाथजीलाई सामान्यतया अधैर्यपूर्ण व्यक्ति भनेर वर्णन गरिन्थ्यो, नकारात्मक अर्थमा होइन, सकारात्मक अर्थमा । त्यस्तै सकारात्मक अधैर्यता आजको भारतमा देखिन्छ । भारत प्रगतिका लागि उत्सुक छ, विकासका लागि बेचैन छ र आत्मनिर्भर बन्न दृढ छ ।'

प्रधानमन्त्री मोदीले राज्य सरकारहरूलाई विकासमा ध्यान केन्द्रित गर्न र लगानी आकर्षित गर्ने प्रतिस्पर्धालाई प्रोत्साहित गर्न आग्रह गरे ।

उनले भने, 'केन्द्र सरकारले होस् वा प्रदेश सरकार, सबैको प्राथमिकता विकास नै हुनुपर्छ । लगानी आकर्षित गर्ने, उद्योग–व्यापार सहज बनाउने र आर्थिक वृद्धि बढाउने स्वस्थ प्रतिस्पर्धा राज्यहरूले गर्न जरुरी छ । कारोबार सहज गराउने प्रक्रियामा प्रतिस्पर्धा गराउनु राम्रो पहल हुन सक्छ ।'

बिहार चुनावको परिणामबारे टिप्पणी गर्दै उनले भने, 'केही सञ्चारमाध्यमले भाजपा र मोदी सधैं ‘चुनाव मोड’मै रहने दाबी दोहोर्‍याएका छन् । तर, चुनाव जित्नु ‘चुनाव मोड’को परिणाम होइन । जनताका भावना बुझेर, उनीहरूसँग भावनात्मक रूपमा जोडिनु नै यसको मूल कारण हो ।'

salt training

कमेन्ट गर्नुहोस्