
ऐतिहासिक एसेस शृंखलाको पहिलो टेस्टको पहिलो पालीमा भ्रमणकारी टोली इङ्ल्यान्ड घरेलु टोली अस्ट्रेलियासामु निरीह बनेको छ ।
पर्थमा शुक्रबार शुरू भएको पहिलो टेस्टको पहिलो पालीमा इङ्ल्यान्डको टोली निराशाजनक प्रदर्शन गर्दै केवल एक सय ७२ रन बनाउँदै अलआउट भयो ।
टस जितेर ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले अर्धशतक बनाए । उनले ६१ बलमा एक छक्का र पाँच चौका पनि हिर्काए ।
अन्य ब्याट्सम्याको प्रदर्शन भने निराशाजनक रह्यो । टोलीको कुल स्कोर केवल ३९ रन रहँदा इङ्ल्यान्डले तीन प्रभावशाली विकेट गुमाइसकेको थियो ।
ओपनर ज्याक क्रावली खाता खोल्नुअघि नै आउट भएका थिए । अर्का ओपनर बेन डकेट पनि २१ रनभन्दा अगाडि बढ्न सकेनन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका ओली पप केवल चार रनका कारण अर्धशतक पूरा गर्नबाट चुके । उनी ५८ बलमा चार चौकाको मद्दतले ४६ रन बनाउँदै पेभेलियन फर्किए ।
अनुभवी ब्याट्सम्यान जो रुटले खातासम्म खोल्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान जामी स्मिथले टोलीको खातामा ३३ रन थपे । उनले २२ बलमा ६ चौका प्रहार गरे ।
गस एटकिन्सन एक र ब्रायडन कार्स ६ रन बनाउँदै आउट भए । इङ्ल्यान्डको ब्याट्सम्यानहरुका लागि घरेलु टोलीका बलर मिचेल स्टार्क घातक बने । उनी एक्लैले सात विकेट लिए ।
स्टार्कले १२.५ ओभरमा चार मेडन राख्दै केवल ५८ रन खर्चिए । ब्रेन्डन डोगेटले पनि दुई विकेट हात पारे । क्यामरोन ग्रिनले पनि एक विकेट कुम्ल्याए ।