
इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । साथै १८ जना बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् ।
विपद् न्यूनीकरण एजेन्सी बीएनपीबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो ।
हाल सम्म सात वटा शव बरामद गरिएको उल्लेख गदै मृतकको सङ्ख्या १० पुगेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताए ।
लामो समयसम्म परेको वर्षा, पाहाडहरूमा अवस्थित दरारहरूले माटोको तहहरूलाई कमजोर बनाएको कारण विपत्तिको आएको बताउँदै मुहारीले चुनौतीपूर्ण अवस्थामा खोजी र उद्धार कार्य जारी रहेको बताए ।
स्थानीय अधिकारीहरूका अनुसार पहिरोका कारण ४८ वटा घरहरू क्षतिग्रस्त हुँदा १९५ जना प्रभावित भएका छन् भने पछिल्लो बीएनपीबी अपडेटअनुसार ९३४ बासिन्दाहरूलाई सुरक्षित अस्थायी आश्रयमा सारिएको छ ।
राष्ट्रिय खोजी तथा उद्धार एजेन्सी बसरनास, सेना, प्रहरी, स्थानीय विपद् व्यवस्थापन एकाइ र स्वयंसेवकहरूसहित विभिन्न निकायका ७०० भन्दा बढी कर्मचारीहरू यस क्षेत्रमा तैनाथ गरिएको छ ।
खोजी प्रयासहरूलाई तीन क्षेत्रहरूमा विभाजन गरिएको छ भने पानीले भरिएका क्षेत्रहरू सफा गर्न भारी मेसिनरी, खोजी र उद्धार कुकुर एकाइहरू तथा उपकरणहरू प्रयोग गरिएको जनाइएको छ ।