१२ साउन २०८३, मंगलबार

विश्व टेस्ट क्रिकेटको इतिहासमा पहिलोपटक घट्यो यस्तो घटना !

मंसिर ६, २०८२
काठमाडौं
विश्व टेस्ट क्रिकेटको इतिहासमा पहिलोपटक घट्यो यस्तो घटना !

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको ऐतिहासिक एसेस टेस्ट शृंखलाको पहिलो खेल पर्थमा जारी छ । पहिलो टेस्टमा दुवै टोलीका ब्याट्सम्यान निरीह देखिएका छन् ।

पहिलो दिनदेखि नै दुवै टोलीका ब्याट्सम्यान एकपछि अर्को गर्दै पेभेलियन फर्कनेक्रम जारी छ । पहिलो दिन नै दुवै टोलीले गरेर कूल १९ विकेट गुमाएका थिए ।

दोस्रो दिन शनिबारको खाना समयसम्म अस्ट्रेलियाको पहिलो पाली पनि सस्तैमा समेटिएको छ भने इङ्ल्यान्डले आफ्नो दोस्रो पालीमा ५९ रन बनाउँदै एक विकेटसमेत गुमाइसकेको छ ।

इङ्ल्यान्डको टोली पहिलो पालीमा एक सय ७२ रनमा अलआउट भएको थियो । इङ्ल्यान्डका ब्याट्सम्यान केवल ३२.५ ओभर क्रिजमा टिक्न सकेका थिए ।

अस्ट्रेलिया पनि आफ्नो पहिलो पालीमा केवल एक सय ३२ रनमा समेटिन पुग्यो । घरेलु टोली अस्ट्रेलियाका ब्याट्सम्यानहरू ४५.२ ओभरमात्र क्रिजमा टिक्न सके ।

त्यसपछि, ब्याटिङमा आएको इङ्ल्यान्डका ब्याट्सम्यानले दोस्रो पालीमा पनि गतिलो प्रदर्शन गर्न सकेका छैनन् । इङ्ल्यान्डले दोस्रो पालीमा ओपनर ज्याक क्रावलीलाई शून्य रनमै गुमाइसकेको छ ।

योसँगै विश्व क्रिकेटको एक सय ४८ वर्षे इतिहासमा एउटा अनौठो घटना भएको छ । यसअघि, टेस्ट क्रिकेटमा लगातार तीन पालीमा ओपनर ब्याट्सम्यान शून्य रनमा आउट भएका थिएनन् ।

तर, हाल जारी पहिलो एसेस टेस्टमा सबैभन्दा पहिले इङ्ल्यान्डका ओपनर ज्याक क्रावली शून्य रनमै आउट भए । उनी पालीको सुरुवात गर्न आएका थिए ।

त्यसपछि, अस्ट्रेलियाको पाली सुरुवात गर्न आएका ओपनर ज्याक वेदरल्ड पनि खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।

त्यसपछि, शनिबार इङ्ल्यान्डको दोस्रो पालीमा पनि ओपनर ब्याट्सम्यान क्रावली शून्य रनमै आउट भए । दोस्रो पालीमा क्रावलीको विकेट अस्ट्रेलियन बलर मिचेल स्टार्कले लिए ।

टेस्ट क्रिकेटको इतिहासमा यसअघि यस्तो घटना कहिल्यै भएको थिएन । दोस्रो दिनको खाना समयसम्म इङ्ल्यान्डले अस्ट्रेलियासँग ९९ रनको अग्रता हासिल गरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्