
तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिमका डाँडाहरूमा केही वर्ष अघिसम्म मकै र कोदोको परम्परागत खेती हुन्थ्यो । जीवन निर्वाहका लागि गरिने त्यो खेतीले किसानका ओठमा मुस्कान ल्याउन सकेको थिएन । तर, आज तिनै डाँडाहरू अकबरे खुर्सानीको पिरो सुगन्ध आउँछ ।
पिरो खुर्सानीले स्थानीय किसानहरूको जीवनमा भने मिठो परिवर्तन ल्याएको छ । पिरो खुर्सानीले उनीहरूको भान्सा मात्र होइन, आर्थिक र सामाजिक जीवनस्तर नै बदलिदिएको छ ।
यो परिवर्तनको नेतृत्व गरेको छ, दुई वर्षअघि स्थापना भएको ‘आङ्दिम कृषक समूह’ले । ४५ जना स्थानीय किसानहरू मिलेर बनेको यो समूहले छरिएर रहेको खेती प्रणालीलाई संगठित मात्र गरेन, व्यावसायिकतातर्फ डोर्याएको समूहका सचिव, युवा किसान सुर्जन बस्नेत बताउँछन् । उनका अनुसार, पहिले व्यक्तिगत रूपमा फाट्टफुट्ट गरिने अकबरे खेती अहिले गाउँको मुख्य आम्दानीको स्रोत बनेको छ ।
‘पहिले हामी मकै, कोदो, बन्दा, काउलीजस्ता बाली लगाउँथ्यौं, जसले मुस्किलले खान पुग्थ्यो,’ सुजन भन्छन्, ‘तर जब हामीले व्यावसायिक रूपमा अकबरे खेती शुरू गर्यौं, यसले नगद आम्दानी मात्र दिएन, गाउँका युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने आशा पनि देखायो ।’
आङ्दिमका किसानहरूले व्यक्तिगत रूपमा खेती गरे पनि समूहले उनीहरूलाई प्राविधिक ज्ञान, सरकारी अनुदान र बजारसँग जोड्ने पुलको काम गरेको छ । यहाँका किसानहरूले २–३ हजारदेखि १०–१२ हजारसम्म अकबरेका बिरुवा रोप्ने गरेका छन् । सुर्जन आफैंले यो वर्ष ९ हजार बिरुवा रोपेका थिए । समूहका ४५ जना किसानले सामूहिक रूपमा ४० देखि ४५ हजार बिरुवा रोप्दा वार्षिक २५ देखि ३० हजार किलो अकबरे उत्पादन हुने अनुमान गरिन्छ । एउटा बोटले आफ्नो जीवनकालमा ६०० देखि ८०० ग्रामसम्म उत्पादन दिने गरेको उनको अनुभव छ ।

अकबरे खेतीले गाउँमा आर्थिक तरलता बढाएको छ । नगदे बाली भएकाले किसानहरूको दैनिक जीवनयापन सहज बनाएको किसानहरू बताउँछन् । ‘आर्थिक रूपमा यसले निक्कै ठूलो टेवा पुर्याएको छ,’ सुर्जनले भने, ‘विगतका वर्षहरूको तुलनामा अहिले किसानहरूको जीवनस्तरमा स्पष्ट सुधार देख्न सकिन्छ ।’ यो नगद आम्दानीले नै गाउँमा स्थानीय रोजगारी सिर्जना गरेको छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, युवाहरूलाई कृषिमा भविष्य देख्न प्रेरित गरेको छ ।
तर, यो यात्रा चुनौतीरहित भने छैन । यो वर्ष प्रतिकूल मौसम र रोगको प्रकोपले उत्पादनमा भारी गिरावट आएको किसानहरू बताउँछन् । सुर्जनका अनुसार उनले रोपेका ९ हजार बिरुवामध्ये झन्डै ४ हजार बिरुवाले मात्रै उत्पादन दिएको छ । बजारको अनिश्चितता अर्को ठूलो चुनौती हो । कहिलेकाहीँ राम्रो मूल्य पाइने अकबरेले यो वर्ष भने किसानलाई केही निराश बनायो । सरदरमा प्रतिकिलो १५० देखि १८० रुपैयाँमा मात्र बिक्री भइरहेको छ । यो मूल्य अघिल्ला वर्षहरूको तुलनामा कम हो ।

बजारसम्मको पहुँच पनि सहज छैन । व्यापारीहरू गाउँसम्म आइपुग्दैनन् । किसानहरू आफैंले उत्पादनलाई धनकुटाको सिधुवा र तेह्रथुमको बसन्तपुरसम्म ढुवानी गर्नुपर्ने बाध्यता छ । यी सबै चुनौतीका बाबजुद पनि किसानहरूको उत्साहमा कमी आएको छैन ।
आङ्दिमका किसानहरूको अर्को रोचक पक्ष भनेको उनीहरूले अकबरेको मौलिक स्वादलाई जोगाइराख्नु हो । बजारमा प्रतिबोट दुई केजीसम्म फल्ने हाइब्रिड जातहरू आए पनि उनीहरूले पुरानै, बाक्लो बोक्रा भएको र स्वादिलो ‘ओरिजिनल’ अकबरेलाई नै निरन्तरता दिएका छन् । ‘नयाँ जातहरू पिरो भए पनि स्वादिलो हुँदैन र पेट पोल्ने समस्या हुन्छ,’ सुर्जन भन्छन् । उनीहरूका लागि अकबरे आम्दानीको स्रोत मात्र होइन, स्वाद र परम्पराको पहिचान पनि हो ।

सिँचाइका लागि ठूला खोलानाला नभए पनि यहाँका किसानहरूले पोलिथिन पाइप र स्प्रिङ्कल प्रविधिमार्फत् पानीको व्यवस्थापन गरेका छन् । उनीहरूको यही मेहनत र लगनशीलताले गर्दा आङ्दिम आज अकबरे खेतीको एक नमुना क्षेत्र बन्न सफल भएको छ ।
छथरको डाँडामा फलेको अकबरेको पिरो स्वादले स्थानीय किसानहरूको जीवनमा आर्थिक र सामाजिक मिठास घोलेको छ । सही योजना, सामूहिक प्रयास र दृढ इच्छाशक्ति हुने हो भने परम्परागत खेतीमा आश्रित गाउँहरू पनि व्यावसायिक कृषिमार्फत् समृद्धिको बाटोमा लम्किन सक्छन् भन्ने उदाहरण यहाँका किसानले देखाउन थालेका छन् ।