
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाले अघि सारेको प्रस्ताव किभका लागि आफ्नो ‘अन्तिम प्रस्ताव’ नभएको बताएका छन् ।
उक्त योजनाका केही बुँदाप्रति युक्रेनका सहयोगी राष्ट्रहरूले चिन्ता व्यक्त गरेपछि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।
शनिबार युरोप, क्यानडा र जापानका नेताहरूले अमेरिकी योजनामा ‘न्यायपूर्ण र दिगो शान्तिका लागि आवश्यक तत्वहरू रहेको’ बताए पनि सीमा परिवर्तन र युक्रेनको सेनामा लगाइने सीमा सम्बन्धी प्रस्तावले थप काम आवश्यक पर्ने उल्लेख गरेका थिए ।
आइतबार बेलायत, फ्रान्स, जर्मनी, अमेरिका र युक्रेनका सुरक्षा अधिकारीहरू स्विट्जरल्याण्डको जेनेभामा भेटवार्ता गर्दैछन् ।
यसअघि राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले अमेरिकाले अघि सारेको र रूसका हितमा मानिएको योजना स्वीकार गर्न बनाइएको दबाबका कारण युक्रेन इतिहासकै सबैभन्दा कठिन क्षणमध्ये एकबाट गुज्रिरहेको चेतावनी दिएका थिए ।
ट्रम्पले युक्रेनलाई २७ नोभेम्बरसम्म २८ बुँदे शान्ति–योजना स्वीकार गर्न समय दिएका छन् । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उक्त प्रस्ताव सहमतिका लागि आधार बन्न सक्ने बताएका छन्।
शनिबार पत्रकारहरूले सोधेको ‘यो किभका लागि अन्तिम प्रस्ताव हो कि होइन’ भन्ने प्रश्नमा ट्रम्पले ह्वाइट हाउसमा भने, ‘होइन, यो मेरो अन्तिम प्रस्ताव होइन ।’
‘जुनसुकै उपायबाट भए पनि यो युद्ध अन्त्य गर्नैपर्छ, त्यसकै लागि हामी काम गरिरहेका छौं’, उनले थपे ।
आइतबार जेनेभामा हुने वार्तामा अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विट्कफ सहभागी हुनेछन् । बेलायततर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल सहभागी हुनेछिन् ।
दक्षिण अफ्रिकामा भइरहेको जी२० सम्मेलनमा शनिबार क्यानडा, फिनल्याण्ड, फ्रान्स, आयरल्यान्ड, इटली, जापान, नेदरल्याण्ड, स्पेन, बेलायत, जर्मनी र नर्वेका नेताहरूले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए । दुई उच्चस्तरीय युरोपेली संघका अधिकारीहरू पनि हस्ताक्षरकर्तामा थिए ।
वक्तव्यमा भनिएको छ, ‘हामीले पाएको प्रारम्भिक मस्यौदा आधार त हुन् तर यसमा थप परिमार्जन आवश्यक छ । भविष्यको शान्ति दिगो होस् भन्ने उद्देश्यले हामी आवश्यक छलफल गर्न तयार छौं । बलपूर्वक सीमामा परिवर्तन गरिनु हुँदैन भन्ने सिद्धान्तबारे हामी स्पष्ट छौं ।’
क्तव्यमा थप भनिएको छ, ‘युक्रेनको सैन्य क्षमतालाई सीमित गर्ने प्रस्तावले भविष्यमा आक्रमणको खतरा बढ्न सक्ने भएकाले यसप्रति हामी चिन्तित छौं ।’
यही सम्मेलनमा रहेका बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले शनिबार राष्ट्रपति जेलिन्स्की र त्यसपछि ट्रम्पसँग फोनवार्ता गरेका थिए ।
बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार, स्टार्मरले जी२० मा उपस्थित सदस्यहरूले अमेरिकी प्रस्तावबारे राखेका विचार ट्रम्पसम्म पुर्याए ।
दुवैले आइतबार जेनेभामा अमेरिकी २८ बुँदे प्रस्तावमा आफ्ना–आफ्ना टोलीले मिलेर काम गर्ने र पुनः कुरा गर्ने सहमति पनि जानकारी दिएका छन् ।
यसअघि स्टार्मरले अमेरिकी योजनामा प्रस्तावित युक्रेनको सेनामा लगाइने सीमा सम्बन्धी बुँदाप्रति चिन्ता व्यक्त गर्दै भनेका थिए, ‘यदि युद्धविराम हुने हो भने युक्रेनलाई आत्मरक्षा गर्ने क्षमतामा कुनै पनि प्रकारको कटौती हुनु हुँदैन ।’
अमेरिकी योजना अनुसार, युक्रेनी फौजले हाल नियन्त्रणमा राखिरहेका डोनेट्स्क क्षेत्रका अंशबाट फिर्ता हुनुपर्नेछ । साथै डोनेट्स्क, लुहान्स्क र २०१४ मा रूसले कब्जा गरेको क्रिमियामा रूसको प्रभावकारी नियन्त्रण रहनेछ ।
योजना अनुसार, दक्षिणका खेरसोन र जापोरिझ्झिया क्षेत्रका सीमाहरू हालको युद्ध रेखामा नै जमाइनेछन् । यी दुवै क्षेत्र आंशिक रूपमा रूसको नियन्त्रणमा छन् ।
योजनाले युक्रेनको सेनालाई ६ लाख जनशक्तिमा सीमित गर्ने प्रस्ताव राख्छ, र युरोपेली लडाकु विमानहरू छिमेकी पोल्यान्डमा तैनाथ गरिनेछन् ।
किभलाई विश्वसनीय सुरक्षा ग्यारेन्टी दिइने उल्लेख छ, तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्रस्तावमा भनिएको छ- रूसले छिमेकी मुलुकहरूमा आक्रमण नगर्ने अपेक्षा गरिन्छ र नाटो अझ फैलिनेछैन ।
योजनामा रूसलाई पुनः विश्व अर्थतन्त्रमा समावेश गरिने, प्रतिबन्धहरू हटाइने र जी७ मा पुनः सामेल गराइने सुझाव राखिएको छ।
शुक्रबार ट्रम्पले भनेका थिए- जेलिन्स्कीले अमेरिकी प्रस्ताव स्वीकार्नैपर्छ, नत्र रूस–युक्रेन युद्ध चलिरहन्छ ।
यसअघि जेलिन्स्कीले राष्ट्रलाई सम्बोधन गर्दै भनेका थिए , ‘देश एउटा कठिन मोडमा छ । हामीले या त अस्मिता गुमाउने जोखिम लिनुपर्छ, या मुख्य सहयोगी गुमाउने जोखिम ।’
शनिबार जेलिन्स्कीले आफ्नो प्रमुख सल्लाहकार आन्द्रिय यर्माक आगामी वार्तामा युक्रेनको टोलीको नेतृत्व गर्ने घोषणा गरे ।
‘हाम्रा प्रतिनिधिहरूले राष्ट्रिय हित जोगाउने कुरा राम्ररी जान्दछन् र रूसले तेस्रो पटक आक्रमण गर्ने सम्भावनालाई कसरी रोक्ने भन्नेबारे स्पष्ट छन्’, उनले सामाजिक सञ्जालमा भिडियोमार्फत भने ।
युक्रेन हाल अमेरिकी हतियार, विशेषतः हवाई रक्षा प्रणाली र अमेरिकी गुप्तचर सहयोगमा गम्भीर रूपमा निर्भर छ ।
शुक्रबार पुटिनले अमेरिकाको योजना प्राप्त भएको पुष्टि गरे, तर विस्तृत रूपमा छलफल भइनसकेको बताए ।
उनले रूस लचिलो हुन तयार रहेको तर आवश्यक परे लडाइँ जारी राख्न पनि तयार रहेको चेतावनी दिएका छन् ।