
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत चढेको गाडीमा *रातो मसी छ्यापिएको छ ।
मोरङको विराटनगर विमानस्थलबाहिर बस्नेत चढेको गाडीमा मसी छ्यापिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालले सामान्य विरोध भएको बताइन् ।
'विमानस्थलबाहिर सामान्य विरोध भएको हो । उहाँ सकुशल हुनुहुन्छ र सुनसरीतर्फ गइसक्नुभएको छ,' डीएसपी चुडालले लोकान्तरसँग भनिन् ।
घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको उनले बताइन् ।
यसअघि सिमरामा पनि एमाले महासचिव शंकर पोखरेल तथा नेता महेश बस्नेतलाई लक्षित गर्दै विरोध प्रदर्शन भएको थियो ।
त्यसक्रममा एमाले कार्यकर्ता जेनजी समूहबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो ।
* रातो मसी छ्यापेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्च्याइएको छ ।