
अर्जेन्टिनी स्टार लियोनल मेसीको उत्कृष्ट प्रदर्शनसँगै इन्टर मियामी मेजर लिग सकर (एमएलएस) इस्टर्न कनफरेन्सको फाइनलमा पुगेको छ । इन्टर मियामीले सोमबार विहान सम्पन्न खेलमा सिनसिनाटीलाई उसैको घरेलु मैदानमा ४–० गोलको फराकिलो अन्तरले हराएको हो ।
इन्टर मियामी पहिलोपटक यो प्रतियोगिताको फाइनलमा पुगेको हो । खेल शुरू भएको १९औँ मिनेटमै मेसीले हेडमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
सोही गोलका कारण पहिलो हाफमा इन्टर मियामी अगाडि रह्यो । मेसीले एमएलएसको पछिल्ला चार खेलमा गरेको यो छैटौँ गोल हो ।
यसका अतिरिक्त बाँकी तीनवटा गोलका लागि पनि मेसीले सहयोग गरेका थिए । निर्धारित समयको ५७औँ मिनेटमा माटेओ सिल्भेट्टीले टोलीको अग्रता दोब्बर बनाए ।
इन्टर मियामीका लागि थप दुई गोल भने टाडेओ एलेन्डले गरेका थिए । उनले निर्धारित समयको ६२औँ र ७४औँ मिनेटमा गोल गरेका थिए ।
इन्टर मियामीले अब एमएलएस कपको उपाधिका लागि फाइनलमा फिलाडेल्फिया वा न्यू योर्क सिटीसँग भिडन्त गर्नेछ ।