०६ साउन २०८३, बुधबार
युक्रेन युद्ध अन्त्यको प्रयास

अमेरिका-युक्रेन छलफल प्रगतिउन्मुख, दुवै पक्षले सार्वजनिक गरेनन् विवरण

मंसिर ८, २०८२
काठमाडौं
अमेरिका-युक्रेन छलफल प्रगतिउन्मुख, दुवै पक्षले सार्वजनिक गरेनन् विवरण

अमेरिकाले अघि सारेको शान्ति प्रस्तावबारे वार्ता गर्न आइतबार जेनेभामा बसेको उच्चस्तरीय बैठकपछि अमेरिका र युक्रेनका अधिकारीहरूले रुस–युक्रेन युद्ध अन्त्यका लागि केही प्रगति भएको बताएका छन् ।

तर, वार्ताको विस्तृत पक्षबारे दुवैले धेरै जानकारी दिएका छैनन् । अमेरिकाको प्रस्तावबारे युरोपेली सहयोगी देशहरूबीच असन्तुष्टि बढिरहेका बेला यस्तो टिप्पणी आएको हो । ती देशहरूले उक्त योजना रुसअनुकूल रहेको बताइरहेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेनेभाको वार्ता धेरै उपयोगी रहेको बताउँदै यो धेरै लामो समययताकै सबैभन्दा उत्पादक दिन भएको बताए ।

'अब केही महत्त्वपूर्ण काम अगाडि बढाउन सक्छौं भन्नेमा आशावादी छु,' उनले भने ।

तर, उनले छलफलको विषयवस्तुबारे विस्तृत जानकारी दिएनन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्रतिक्रिया दिन दिएको बिहीबारसम्मको समयसीमाका सन्दर्भमा उनले वार्ता त्यसपछि पनि जारी रहन सक्ने संकेत दिए । उनका अनुसार केही मुद्दामा उच्चस्तरीय राजनीतिक निर्णय आवश्यक पर्छ ।

अमेरिकाले तयार पारेको २८ बुँदे खाका युक्रेन र युरोपेली मुलुकहरूमा विवादको विषय बनेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले सार्वभौमिकताको रक्षा गर्नुपर्ने अधिकार र अमेरिकाबाट पाउनुपर्ने सहयोगबीच कठिन अवस्थाको सामना गर्नुपर्ने चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, 'युक्रेनी जनता आफ्नो घरको रक्षा सधैं गर्छन् ।'

तर, त्यस्तो प्रस्ताव युक्रेनले अस्वीकार गर्दै आएको छ, जसमा विशेषगरी भूभाग त्याग्नुपर्ने जस्ता विषयहरू समावेश छन् ।

आइतबार राति ह्वाइट हाउसले जारी गरेको वक्तव्य अनुसार, जेनेभा बैठकमा युक्रेनी टोलीले सुरक्षा प्रत्याभूति, दीर्घकालीन विकास, पूर्वाधार सुरक्षा, जलमार्गको स्वतन्त्र पहुँच र राजनीतिक सार्वभौमिकताजस्ता सबै प्रमुख चासोहरू सम्बोधन गरिएको बताएका छन् ।

ह्वाइट हाउसका अनुसार भएका संशोधनहरूले अब युक्रेनका 'राष्ट्रिय हित' झल्काउँछन् र 'निकट र दीर्घकालीन सुरक्षाका विश्वसनीय तथा कार्यान्वयनयोग्य संयन्त्र' समावेश गर्छन् ।

यद्यपि यो सकारात्मक भाष्य ट्रम्पले समर्थन गरेको मूल प्रस्तावपछि बढेको आलोचनाका बीच आएको हो । अमेरिकी सिनेटरहरूको एक समूहले रुबियोबाट प्राप्त सूचनाका आधारमा उक्त प्रस्ताव वास्तवमा रुसकै 'इच्छासूची' जस्तो रहेको बताएका थिए ।

जर्मन चान्सलर फ्रेडरिक मर्जले पनि ट्रम्पसँग कुरा गर्दै युरोपेली मुलुकहरूको केही सहमति र केही असहमति रहेका बुँदाबारे स्पष्ट गरेका थिए । रुबियोले ‘प्रगतिशील’ वार्ताको उल्लेख गरे । रुबियोले प्रस्तावलाई ‘बदलिँदो दस्तावेज’ भन्दै यसमा संशोधन भइरहने बताए । तर, अन्तिम चरणमा प्रस्ताव मस्कोसमक्ष पनि राखिनुपर्ने उनले बताए ।

युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख र वार्ता टोलीका प्रमुख आन्द्रेई यर्माकले वार्तालाई 'न्यायपूर्ण र दिगो शान्तितर्फको राम्रो प्रगति' भनेका छन् ।

ट्रम्पले भने वार्ताअघि नै युक्रेनप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले युक्रेनले अमेरिकाप्रति पर्याप्त कृतज्ञता नदेखाएको टिप्पणी गरेका थिए । उनले बिहीबारसम्मको समयसीमा दिए पनि प्रगति देखिएमा यसलाई पर सार्न सकिने संकेत गरेका छन् ।

ट्रम्पको आलोचनापछि राष्ट्रपति जेलेन्स्कीले अमेरिकाप्रति आभार प्रकट गर्दै युद्ध शुरू गर्ने पक्ष रुस मात्रै भएको दोहोर्‍याए । 'युक्रेन अमेरिकाप्रति आभारी छ,' उनले टेलिग्राममा लेखे, 'र, युरोपेली देशहरूप्रति पनि आभारी छ ।'

अमेरिकी टोलीसँग भेट हुनुअघि यर्माकले बेलायत, फ्रान्स र जर्मनीका सुरक्षा सल्लाहकारसँग पनि छलफल गरेका थिए । यी राष्ट्रहरू प्रस्ताव संशोधनका लागि युक्रेनको पक्षमा उभिएका छन् ।

फ्रान्सकी रक्षामन्त्री प्रतिनिधि एलिस रुफोले प्रस्तावमा युक्रेनी सेनाको क्षमतामाथि राखिएका सीमाहरू 'सार्वभौमिकतामाथिको असर' भएको बताइन् । जेलेन्स्कीले पनि अमेरिकी प्रस्तावले युक्रेनका केही महत्त्वपूर्ण मागहरू समेट्ने सम्भावना देखिएको बताए ।

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले युद्ध अन्त्य गर्ने योजनाबारे एक मत बनाउन युरोप, क्यानडा र जापानसँग समन्वय गर्न तयार रहेको बताए । तर, उनले 'योजनाको वास्तविक लेखक को हो भन्ने कुरा स्पष्ट हुनुपर्ने' उल्लेख गरे ।

अमेरिकी सिनेटरहरूले रुबियोले योजनालाई रुसकै 'इच्छासूची' भनेको दाबी गरेपछि विवाद बढेको थियो । तर, विदेश मन्त्रालयले यो दाबी असत्य भएको बताएको छ ।

अमेरिकी सिनेटका डेमोक्रेटिक नेता मार्क वर्नरले पनि उक्त प्रस्ताव 'रुसी पक्षका बुँदाहरू जस्तै' रहेको टिप्पणी गर्दै युरोपेली मुलुकहरूलाई एक्लो पारिएको अनुभूति भएको बताए ।

एर्दोगान र पुटिनबीच वार्ता हुने

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन संवाद हुने बताएका छन् ।

उनले २०२२ मा युक्रेनी अन्न निर्यातका लागि खोलेको सुरक्षित समुद्री मार्ग पुनःलाई सञ्चालनमा ल्याउनेबारे कुरा गर्ने बताए ।

उक्त सम्झौता २०२३ मा रुसले नबढाउने निर्णय लिएपछि बन्द भएको थियो । एर्दोगानले हालै अङ्कारामा जेलेन्स्कीसँग पनि भेट गरेका थिए ।

– एपीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्