२० असार २०८३, शनिबार

स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मंसिर ८, २०८२
काठमाडौं
स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार डा. सापकोटासहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

केन्द्रमा कम मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत नगरी बढी मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेर हानिनोक्सानी पुर्‍याउने बदनियतले ओहोदाको दुरुपयोग गरेको उनीहरूमाथि आरोप छ ।

जसबाट ३१ लाख १७ हजार ८९ रूपैयाँ बराबरको रकम डा. सापकोटासहितले आफू तथा अन्य प्रतिवादीलाई गैरकानूनी लाभ र बागमती प्रदेश सरकार/सार्वजनिक संस्थाको सम्पत्तिको गैरकानूनी हानिनोक्सानी पुर्‍याउने बदनियतले काम गरेको पाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।

उनका अनुसार स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा.सापकोटा, तत्कालीन लेखा अधिकृत (मूल्यांकन समितिका सदस्य) राधा कृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर (मूल्यांकन समितिका  सदस्य) राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निशियन (मूल्यांकन समितिका  सदस्य) रवीकुमार महतो र तत्कालीन बायोमेडिकल इन्जिनियर (मूल्याकंन समितिका सदस्य) राजेश्वर कमलीलाई प्रतिवादी बनाइएको छ ।

त्यसैगरी, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाका तत्कालीन लेखा अधिकृत (मूल्यांकन समितिका  सदस्य) नेत्र नर सिंह कार्की, आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेज तथा उक्त कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठलाई समेत प्रतिवादी बनाइएको छ । 

स्वास्थ्य संस्थाहरूमा कोभिड-१९ विरुद्ध आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्थापन (स्वास्थ्य सामाग्री)को लागि विनियोजित भएको २ करोड बजेटबाट १३ वटा स्वास्थ्य सामाग्री खरिदका लागि भएको टेन्डरमा कम मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत नगरी बढी कबोल गर्नेलाई दिलाइएको उनीहरूमाथि आरोप छ ।
 

salt training

कमेन्ट गर्नुहोस्