
जेनजी आन्दोलनका क्रममा चर्को आवाजमा बुलेट बाइक हुइँक्याउँदै नाराबाजी गर्ने टीओबी (तिब्बतियन ओरिजनल ब्लड) टिसर्टधारी युवाका सम्बन्धमा प्रहरीले सूक्ष्म अनुसन्धान प्रतिवेदन बाहिर ल्याएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन आयोजना गरी टीओबीका नेतृत्वकर्तामध्येका एक तेन्जिन दावा लामाको फेहरिस्त बाहिर ल्याएको हो ।
तेन्जिन अहिले तीनवटा मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध लिखतसम्बन्धी कसुर, नागरिकतासम्बन्धी कसुर र राहदानीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रहरीले उनको साथमा लागूऔषध समेत भेटेपछि लागूऔषध मुद्दामा पनि अनुसन्धान हुने जनाइएको छ ।
२०१७ मा ट्याटु हाउसबाट उदाएका तेन्जिनले २०२४ अक्टोबरमा बाइकर ग्रुप बनाएको देखिन्छ ।
पछि उक्त ग्रुपमा तेन्जिनसँगै सोनाम शेर्पा र एरेन राई पनि जोडिन्छन् । तेन्जिनले प्रहरीलाई बयान दिएअनुसार टीओबीको अर्थ तिब्बेतियन ओरिजन ब्लड नै हो ।
उनीहरूले फेसबूक र इन्स्टाग्रामको पेजमा पनि द तिब्बेतियन ओरिजिन ब्लड लेखेका छन् ।

टीओबीको डिजाइनर तेन्जिन आफैं हुन् । प्रहरीले टिसर्ट नै देखाएर विभिन्न संस्था र व्यक्तिसँग बुझ्दा ड्रागनको चित्रले योद्धाको रूपमा चिनाउने गरेको जवाफ पाएको छ ।
अर्को टिसर्टमा टीओबी र माथि हाकिम लेखिएको थियो । हाकिम टीओबीकै अर्का सदस्य सुरेन्द्र गुरुङ हुन् । मोटरसाइकल चलाउने व्यक्तिले हाकिम लेखिएको टीओबी टिसर्ट लगाएका थिए ।
तेन्जिनले बनाएको ग्रुपमा रोड क्याप्टेन, भाइस प्रेसिडेन्ट र फाइनान्सियल म्यानेजमेन्ट भनेर विभिन्न व्यक्ति चुनेका छन् । टीओबी ग्रुपमा ५७ जना छन् ।
हाल सक्रिय भने जम्मा २५ जना मात्रै रहेको खुलेको छ । भदौ २३ को आन्दोलनमा भने ३१ जना टीओबी लेखिएको टिसर्ट लगाएर पुगेका थिए ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार आन्दोलनमा टीओबीको टिसर्ट लगाएर बुलेट बाइक पड्काउँदै पुगेका अधिकांश विद्यार्थी पृष्ठभूमिका देखिन्छन् ।
उनीहरूले सोसियल क्लबको रूपमा इन्स्टाग्राम पेजमा ‘द ओरिजिनल ब्रदर्श’, आवर ब्लड, आवर वे, आवर लिगेसी लेखेर प्रचार गरेका थिए । ग्रुपमा टीओबीलाई ‘मेरो आफ्नो रगत’ भनेर प्रस्ट्याएका छन् ।
प्रहरी अनुसन्धानका क्रममा टीओबी लेखिएको टिसर्ट तेन्जिनसँग मात्रै पाँचवटा रहेको भेटिएको छ ।
टीओबी हाकिम लेखिएको टिसर्ट १३ जना क्रमश: तेन्जिन, सिद्धार्थ तामाङ, विशाल तामाङ, एल्भिक घले, निमेश श्रेष्ठ, लाक्पा सोनाम शेर्पा, सम्वृद्ध कार्की, अनिल पराजुली, अपसन तामाङ, एरिन राई, विभुषण पन्थी, सम्राट खत्री र योगेश गुरुङसँग रहेको प्रहरीले जनाएको छ ।
च्याटमा कुराकानी गर्न उनीहरूले ग्रुप बनाएका थिए । इन्स्टाग्राममा टीओबी ग्रुप च्याटमार्फत कुराकानी हुने गरेको थियो । चाबहिलस्थित लाभिस गार्डेन रेस्टुरेन्ट र गोपीकृष्ण हलनजिक ‘चिया बस्ती’ नामको चिया पसलमा उनीहरूको भेटघाट हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

गत भदौ २२ गते टीओबीको इन्स्टाग्राम ग्रुपमा कुराकानी भई २३ गते सोनाम शेर्पाले चिया बस्तीमा भेट हुने सूचना ग्रुपमा राखेका थिए । इच्छुक मोटरसाइकल राइडरले सहभागी हुनसक्ने भनेर ग्रुपमा लेखिएको थियो ।
भदौ २३ गते बिहान ११ बजे चिया बस्तीमा भेट भएर उनीहरू २० वटा मोटरसाइकल बिजुलीबजारतर्फ लागेको पाइएको छ ।
एसपी भट्टराईका अनुसार यो ग्रुपले १२ बजे बिजुली बजार पुगेर बाइक पड्काउँदै नारा जुलुस लगाएर भीड उत्तेजित बनाएको थियो । त्यही बेला ‘मलाई मेरो देश फिर्ता चाहियो, मेरो देश मेरो शान’ भनेर नारा समेत लगाएको थियो ।
प्रदर्शनकारीकै ढुंंगाले लागेर तेन्जिनको टाउकोमा चोट पनि लागेको पाइएको छ । उनी दिउँसो दुई बजेतिर बानेश्वरको आकाशे पूलमुनिबाट फर्केर मेडिकल पुलमा पुगी सामान्य उपचार गरेर घर फर्किएको खुलेको छ ।
२४ गते सबै आफ्नै घरमा बसेको पाइएको छ । २४ गते साँझ सात बजे तेन्जिनकी साथी सविता बस्नेतले पुरानो बानेश्वरमा ४०/५० वटा सिलिन्डर रहेको घरमा आगो लागेको सूचना दिएको र उनीहरूले सेनालाई खबर गरेको पनि खुलेको छ ।
तेन्जिनको ग्रुपमा उनीबाहेक सबै नेपालीमूलकै रहेको प्रहरीले जनाएको छ ।
अचम्मको कुरा त तेन्जिनले टीओबी लेखेको टिसर्ट सात सयदेखि हजार रुपैयाँमा बिक्री गरेका थिए । त्यस्तै, कतिपयले खरिद गरेर तीन हजार प्रतिगोटमा समेत बिक्री गरेको देखिन्छ ।
हाकिम भनेर चिनिने सुरेन्द्र गुरुङले आफैंलाई टीओबी ग्रुपको रोलमोडल भन्ने गरेका छन् । तेन्जिनले पनि बयानमा सुरेन्द्रकै अनुमति लिएर लोगोको माथि हाकिम लेखेको उल्लेख गरेका छन् ।
यो ग्रुप ६/६ महिनामा उपत्यकाबाहिर लामो यात्रामा निस्कने गरेको प्रहरीले जनाएको छ ।
हालसम्म मुस्ताङ, अपर मुस्ताङ, पोखरा गरेर नौपटक उपत्यकाबाहिर बाइक राइड गरेको उनीहरूले प्रहरीलाई बताएका छन् । काठमाडौं उपत्यकाभित्र भने यो ग्रुप सुन्दरीजल, तारेभिर र गोकर्ण पुगेको देखिन्छ ।
तेन्जिनको नागरिकता र राहदानीबारे अनुसन्धान गर्दा उनले उल्लेख गरेको विवरण र पढेको विद्यालयको अभिलेख फेला नपरेको प्रहरीले जनाएको छ ।
तेन्जिनले आफ्नो बाजे टासी राप्तेन भनेर उल्लेख गरेका छन् । उनलाई सानोमा पालनपोषण कुङ्ना डोल्मा शेर्पाले गरेको देखिन्छ । तेन्जिनले सन् २०२२ मा काठमाडौंबाट राहदानी लिएका थिए ।
राहदानी र नागरिकतामा उनले आमाको नाम माया लामा र बाबुको नाम कृष्णबहादुर लामा तथा ठेगाना काठमाडौं महानगरपालिका– ६ लेखेका छन् । प्रारम्भमा एसएलसी पास भने पनि विद्यालयमा रेकर्ड फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रहरीले २०८२ असोज २६ पक्राउ गरेको तेन्जिनलाई शुरूमा जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार गर्न नहुने कसुरमा मुद्दा चलाइएको थियो ।
प्रशासनले उनलाई सात हजार पाँच सय धरौटी तिर्न भनेको थियो । धरौटी तिरे पनि अहिले लिखतसम्बन्धी कसुर, नागरिकतासम्बन्धी कसुर र राहदानीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।
प्रहरीले भदौ २३ गते आन्दोलनमा देखिएका १४ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।