२६ असार २०८३, शुक्रबार

सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा थप ५ जना पक्राउ

मंसिर ८, २०८२
काठमाडौं
सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा थप ५ जना पक्राउ
फाइल फोटो

जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेका आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन ।

अदालतमा आगजनी गर्ने अन्य केहीको पहिचान भइसकेको जानकारी दिँदै उनले उनीहरूलाई पनि छिट्टै कानूनी दायरामा ल्याइने बताए । अदालतमा आगजनी गर्नेमाथि छानबिन गरी कारबाही गर्न सर्वोच्चले परिसरमा जाहेरी दिएको थियो ।

परिसरमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड, आपराधिक उपद्रवसँग सम्बन्धित १०४ वटा जाहेरी परेको छ ।

त्यसमध्ये २२ व्यक्तिगत, ६६ वटा सरकारी कार्यालय र १६ वटा संस्थागत/व्यापारिक प्रतिष्ठानको रहेको परिसरले जनाएको छ ।

आन्दोलनका क्रममा काठमाडौंमा मात्रै ४९ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ ।

त्यसमध्ये सात जनाको अझैसम्म पहिचान छैन । सो समयमा हराएका सात जनाको हुलिया प्राप्त भएको प्रहरीले जनाएको छ ।

'चुच्चेपाटीको भाटभटेनीमा सात वटा कङ्काल फेला परेका हुन्, जसले आशङ्का गर्नुभएको छ, फेला परेको शव पूर्णरूपले जलेकाले डीएनएको नमूना पाउन सकिएन,' उनले भने, 'पहिचानका लागि अन्य ठाउँमा पठाउने कि भनेर लागेको छौं, सो शवको पहिचान नभएसम्म त्यसको यकिन गर्ने आधार देखिएन ।'

यसबीचमा विभिन्न कसुरमा १५४ वटा दर्ता भएको, २६७ जनालाई पक्राउ गरिएको, ८७ जना हाजिर जमानीमा छुटेका, ११३ जना हिरासतमा रहेका, ३३ जना धरौटीमा छुटेका छन् भने ४३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्