
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पुरुष टी–२० विश्वकपको १०औँ संस्करणका लागि समूह विभाजन गरेको छ । प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको हो ।
आईसीसीले गरेको समूह विभाजनअनुसार नेपालले तीनवटा टेस्ट राष्ट्रलाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ । नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा बलियो टेस्ट राष्ट्र इङ्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश परेका छन् । यसका अतिरिक्त इटाली पनि नेपालकै समूहमा छ ।
विश्व क्रिकेटमा दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान समूह ‘ए’ मा परेका छन् । उक्त समूहमा अमेरिका, नेदरल्यान्ड्स र नामिबिया पनि छन् । टी–२० विश्वकपको आगामी संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ ।
समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् । प्रतियोगिताको समूह ‘डी’ मा भने अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । विस्तृत खेल तालिकामा मंगलबार साँझसम्म सार्वजनिक हुने बताइएको छ ।