
सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले मलेसियाको सामना गर्दैछ ।
नेपाल र मलेसियाबीचको खेल १२:१५ बजे शुरू हुनेछ । नेपाल, मलेसिया र चीन प्रतियोगिताको समूह ‘ए’मा छन् । चीन लगातार दुई हारसँगै यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
नेपाल र मलेसिया भने सेमिफाइनलमा स्थान पक्का गर्दै आगामी एसियाली खेलकुदमा समेत छनोट भइसकेका छन् ।
प्रारम्भिक चरणको यो अन्तिम खेलले समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्ने छ । नेपाल र मलेसियाबीचको खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा चीनलाई दुई सय २१ रनको विशाल अन्तरले हराएको थियो । मलेसियाले पनि चीनलाई नौ विकेटले हराएको थियो ।
प्रतियोगिताको समूह ‘बी’मा हङ्कङ, ओमान, बहराइन र आयोजक सिंगापुर छन् । बहराइन र सिंगापुर उपाधि होडबाट बाहिरिइसकेका छन् ।
दुई जितबाट चार अंक जोडेको हङ्कङ तालिकाको पहिलो स्थानमा आसिन छ । समान खेलबाट समान अंक बटुलेको ओमान दोस्रो स्थानमा छ ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र मलेसियाबीच हालसम्म १० वटा खेल खेलिएको छ । त्यसमा नेपाल निकै अगाडि देखिन्छ ।
नेपालले नौवटा खेलमा मलेसियालाई हराएको छ । मलेसियाले भने हालसम्म एक खेलमा मात्र नेपाललाई हराउन सकेको छ ।
सन् २०२० को फेब्रुअरी २९ तारिखमा थाइल्यान्डमा खेलिएको खेलमा मलेसियाले नेपाललाई २२ रनले पराजित गरेको थियो ।
नेपाल र मलेसियाबीच पछिल्लो भिडन्त सन् २०२४ को अप्रिल १२ तारिखमा भएको थियो । त्यो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो ।
सिंगापुरमा भने हालसम्म यी दुई टोलीबीच एक खेलमात्र खेलिएको छ । सन् २०१९ को जुलाई २४ तारिखमा खेलिएको उक्त खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो ।
यो छनोट प्रतियोगिताबाट सेमिफाइनलमा पुग्ने चारवटा टोली आगामी एसियाली खेलकुदमा छनोट हुने प्रावधान छ । एसियाली खेलकुदको २०औँ संस्करण आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ ।
एसियाली खेलकुदको पुरुष क्रिकेटमा १० टोलीको सहभागिता रहने छ । जापानले आयोजकका रुपमा सहभागिता जनाउने छ ।
अफगानिस्तान, बंगलादेश, भारत, पाकिसतान र श्रीलंकाले भने आईसीसीको पूर्णकालीन सदस्यका रुपमा प्रतियोगिता खेल्नेछन् । बाँकी चार टोलीको टुङ्गो यही छनोट प्रतियोगिताबाट लाग्नेछ ।