
सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरेर भित्र्याइएको आशंकामा मुस्ताङको कोरोला नाकाबाट ७७५ वटा विद्युतीय गाडी (ईभी) नियन्त्रणमा लिएको छ।
गएराति सशस्त्र प्रहरीको विशेष टोलीले जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाका विभिन्न स्थानबाट ती गाडीहरूलाई आफ्नो नियन्त्रणमा लिएको हो।
कोरोला नाका हुँदै ठूलो परिमाणमा भन्सार छली गरी गाडीहरू भित्रिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले विभिन्न जिल्लामा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरेको थियो । गाडीहरू नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत र नं. २४ कालिका गण कास्कीबाट विशेष टोली खटिएका थिए।
यसैगरी, सशस्त्र प्रहरीले नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत भन्सार छलीकै आशंकामा थप २ वटा गाडी नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार नियन्त्रणमा लिइएका सबै गाडीहरूलाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि सम्बन्धित भन्सार तथा राजस्व कार्यालयमा बुझाउने तयारी भइरहेको छ।
कोरोला नाका खुलेपछि यति ठूलो परिमाणमा गाडीहरू नियन्त्रणमा लिइएको यो सम्भवतः पहिलो ठूलो अप्रेशन हो ।