
युक्रेनले रुससँगको जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावमा सहमति जनाएको छ। सीएनएनको रिपोर्टअनुसार केही साना मुद्दाहरू मात्र समाधान हुन बाँकी छन् । ट्रम्पले दुई देशहरू बीचको युद्ध रोक्न २८ बुँदे योजना प्रस्तुत गरेका थिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई यो योजना स्वीकार गर्न नोभेम्बर २७ को अल्टिमेटम दिइएको थियो । रूसले पहिले नै यो योजनामा सहमति जनाएको रिपोर्टमा उल्लेख छ ।
यद्यपि, युक्रेनले अझै यो कुरा स्पष्ट रूपमा बताएको छैन । युक्रेनी अधिकारी रुस्तम उमरेभले जेनेभामा छलफलपछि दुवै पक्ष सम्झौताका प्रमुख सर्तहरूमा सहमतिमा पुगेको बताएका छन् ।
युक्रेनले यस हप्ता राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको बैठकको लागि संयुक्त राज्य अमेरिकाबाट भेटघाटको लागि अनुरोध गरेको छ। रुस्तम उमरेभले उनको लक्ष्य यस महिना शान्ति सम्झौतालाई अन्तिम रूप दिन जेलेन्स्कीको संयुक्त राज्य अमेरिका भ्रमणको व्यवस्था गर्नु भएको बताए ।
ट्रम्प प्रशासनले २८-बुँदे योजना तयार गरेको छ। यसअनुसार, युक्रेनले आफ्नो भूभागको लगभग २० प्रतिशत रूसलाई सुम्पनुपर्नेछ, जसमा पूर्वी युक्रेनको डोनबास क्षेत्र पनि समावेश छ। युक्रेनले सैनिक संख्या घटाउनु पर्ने छ । युक्रेनलाई नाटोमा भर्ना गरिने छैन । नाटो सेना युक्रेनमा रहने छैन । यदि रूसले शान्ति प्रस्तावहरू स्वीकार गर्यो भने उसमाथि लगाइएका सबै प्रतिबन्धहरू हटाइनेछ।
बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्ट्ज सबैले आफ्ना देशहरू युक्रेनको साथमा रहेको बताएका छन् ।
यो २८-बुँदे योजना ट्रम्प प्रशासनको गाजा शान्ति योजनाबाट प्रेरित भएको बताइएको छ। अमेरिकी अधिकारीहरूले यो योजना दुवै पक्ष (रूस र युक्रेन) बाट इनपुट लिएर विकसित गरिएको बताएका छन्, तर युक्रेनी अधिकारीहरूले उनीहरूलाई समावेश नगरिएको दाबी गरेका छन् ।
ट्रम्पले अर्को हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न सक्ने बताएका छन् । राष्ट्रपति ट्रम्प मंगलबार रूस र युक्रेनलाई शान्ति सम्झौतामा पुग्न कुनै पनि प्रकारको समयसीमा तोक्नबाट पछि हटेका छन् । 'म यो समाप्त भएको हेर्न चाहन्छु र हामी प्रगति गरिरहेका छौं,' ट्रम्पले फ्लोरिडा जाँदै गर्दा एयर फोर्स वनमा भने । रूसले केही प्रारम्भिक चरणहरूमा सहमति जनाएको ट्रम्पले बताए ।