१० साउन २०८३, आइतबार

हारमा भारतको कीर्तिमान, शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिनस्विप’

मंसिर १०, २०८२
काठमाडौं
हारमा भारतको कीर्तिमान, शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिनस्विप’

भ्रमणकारी टोली दक्षिण अफ्रिकाले भारत विरुद्धको टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ । गुवाहाटीमा खेलिएको दोस्रो टेस्टमा पनि दक्षिण अफ्रिकाले भारतलाई चार सय आठ रनको विशाल अन्तरले पराजित गर्‍यो ।

दोस्रो टेस्टको पाँचौँ तथा अन्तिम दिन बुधबार घरेलु टोली भारत आफ्नो दोस्रो पालीमा केवल एक सय ४० रन बनाउँदै अलआउट हुन पुग्यो । भारतीय टोली पाँच सय ४९ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको थियो ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत खेलिएको दुई खेलको शृंखला दक्षिण अफ्रिकाले २–० ले जितेको हो । यसअघि इडन गार्डेन्समा खेलिएको पहिलो टेस्टमा पनि दक्षिण अफ्रिकाले भारतलाई ३० रनले हराएको थियो ।

दोस्रो टेस्टको दोस्रो पालीमा पनि भारतीय ब्याट्सम्यान दक्षिण अफ्रिकी बलरसामू निरीह बने । भारतीय ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै पेभेलियन फर्कनेक्रम जारी रह्यो । चौथो दिन नै दुई विकेट गुमाइसकेको भारतले अन्तिम दिन थप आठ विकेट गुमायो ।

टोलीको कूल स्कोर ५० रन पुग्नुअघि नै भारतले चार विकेट गुमाएको थियो । दोस्रो पालीमा रविन्द्र जडेजाले सर्वाधिक ५४ रन बनाए । साई सुदर्शनले एक सय ३९ बलमा केवल १४ रन जोडे । केएल राहुल ६ रन बनाउँदै आउट भए ।

अर्का ओपनर यशस्वी जैसवाल पनि १३ रनमै पेभेलियन फर्किए । कुलदीप यादव पाँच रनभन्दा अगाडि बढ्न सकेनन् । ध्रुव जुरेल दुई रनमा आउट भए । कप्तान ऋषभ पन्त पनि १३ रनभन्दा अगाडि बढ्न सकेनन् ।

दक्षिण अफ्रिकाका बलर सिमोन हार्मर एक्लैले ६ विकेट लिए । उनले २३ ओभरमा ६ मेडन राख्दै केवल ३७ रन खर्चिए । केशव महाराजले पनि दुई विकेट हात पारे । त्यसअघि, दक्षिण अफ्रिकाले पाँच विकेटको नोक्सानीमा दुई सय ६० रन बनाउँदै दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो ।

भारतले भने पहिलो पालीमा दुई सय एक रनमात्र बनाएको थियो । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको दक्षिण अफ्रिकाले पहिलो पालीमा चार सय ८९ रनको विशाल योगफल तयार पारेको थियो । सोही स्कोर नै दक्षिण अफ्रिकाको फराकिलो जितको आधार बन्यो ।

जितसँगै दक्षिण अफ्रिकी टोलीका कप्तान टेम्बा बाभुमाले कप्तानको भूमिकामा एक टेस्ट पनि नहार्ने कीर्तिमानलाई कायमै राखे । घरेलु मैदानमा खेलिएको टेस्ट क्रिकेटमा रनका आधारमा भारतको यो नै सबैभन्दा ठूलो अन्तरको हार पनि हो ।

salt training

कमेन्ट गर्नुहोस्