
प्रहरीले जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति विष्णु ढुंगेललाई पक्राउ गरेको छ ।
अधिवक्ता समेत रहेका ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले चितवनबाट पक्राउ गरी काठमाडौं ल्याउँदैछ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी रमेश थापाले ढुंगेल पक्राउ परेको पुष्टि गरे ।
सर्वोच्च अदालतका भ्रष्टाचारीलाई अब छोड्न हुँदैन भन्दै ढुंगेलले आगजनी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उनी २०७९ को स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको तर्फबाट ल क्याम्पसमा स्ववियु सभापति निर्वाचति भएका थिए । उनलाई त्यतिबेला नेविसंघ र माधव नेपाल नेतृत्वको पार्टीको विद्यार्थी संगठन अनेरास्वियूले साथ दिएका थिए ।