२४ असार २०८३, बुधबार

तीन खेलको प्रतिबन्धमा रोनाल्डोलाई फिफाको राहत

मंसिर १०, २०८२
काठमाडौं
तीन खेलको प्रतिबन्धमा रोनाल्डोलाई फिफाको राहत

छनोट प्रतियोगिताको आयरल्यान्डविरुद्धको खेलमा रातो कार्ड पाएपछि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले विश्वकपको शुरूआती खेल गुमाउने अनुमान गरिएको थियो ।

तर, विश्व फुटबल महासंघ (फिफा)ले आफ्नो नियममा परिवर्तन गरेपछि रोनाल्डोले विश्वकपको शुरूआती खेल गुमाउनु नपर्ने भएको छ ।

फिफाले आयरल्यान्डविरुद्धको खेलमा गरेको गल्तीका लागि रोनाल्डोमाथि तीन खेलको प्रतिबन्ध लगाउने निर्णय त गरेको छ तर, सजायको अवधिमा भने केही लचकता देखाएको छ ।

रोनाल्डोले एक खेल तत्कालै गुमाउने छन् भने बाँकी दुई खेलको प्रतिबन्ध उनले एक वर्षको अवधिमा भोग्नु पर्नेछ ।

यसका अर्थ, पोर्चुगलका कप्तान रोनाल्डोले दुई खेलको प्रतिबन्ध एक वर्षको अवधिमा कुनै पनि समय पूरा गर्न पाउने छन् ।

केही फुटबल विश्लेषकले फिफाको यो निर्णयको विरोध पनि गरेका छन् । उनीहरूले रोनाल्डोलाई फिफाले विशेष सुविधा दिएको आरोप लगाएका छन् ।

हालै आर्मेनिया र बुरुन्डीका खेलाडीमाथि पनि तीन खेलको प्रतिबन्ध लगाइएको थियो । तर, यी दुवै खेलाडीलाई रोनाल्डोको जस्तो सुविधा उपलब्ध गराइएको थिएन ।

त्यसैले फुटबल विशेषज्ञले रोनाल्डोलाई दिइएको सुविधाका लागि फिफामाथि प्रश्न उठाएका हुन् । फिफाको पछिल्लो निर्णय अनुसार, यदि रोनाल्डो एक वर्षभित्र यस्तै गम्भीर गल्ती गरेमा उनले दुई खेलको प्रतिबन्ध तत्कालै भोग्नु पर्नेछ ।

रोनाल्डोले हालै ह्वाइट हासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए । त्यतिबेला फिफाका अध्यक्ष जियानी इन्फान्टिनो पनि उपस्थित थिए । ह्वाइट हाउसमा इन्फान्टिनोले रोनाल्डोसँग सेल्फी पनि लिएका थिए । त्यो उपस्थितिलाई पनि फिफाको पछिल्लो निर्णयसँग जोडेर हेरिएको छ ।

पोर्चुगलले आगामी मार्चमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि मे–जुनमा पोर्चुगलले विश्वकपको अभ्यास खेल खेल्ने कार्यक्रम छ । रोनाल्डोले छैटौं पटक विश्वकप खेल्न लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्