०२ साउन २०८३, शनिबार

विशेष कारण फरक जर्सीमा ओर्लँदैछन् पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स

मंसिर १०, २०८२
काठमाडौं
विशेष कारण फरक जर्सीमा ओर्लँदैछन् पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच बिहीबार भिडन्त हुँदैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे शुरू हुनेछ ।

उक्त खेलमा पोखरा र जनकपुर दुवै टोलीका खेलाडी आफ्नो नियमितभन्दा फरक रङको विशेष जर्सीमा ओर्लने भएका छन् । पोखरा एभेन्जर्सका अनुसार, वातावरण संरक्षणदेखि मानवीय संवेदनासम्मलाई समेट्दै यी जर्सी विशेष रूपमा तयार पारिएको हो ।

उक्त खेलमा पोखरा एभेन्जर्सका खेलाडीले हरियो जर्सी लगाउने छन् । उक्त जर्सीमार्फत् ‘ग्लासियर्स म्याटर’ अर्थात् हिमनदीहरू महत्त्वपूर्ण छन् भन्ने सन्देश प्रवाहित गरिने छ । नेपाल जलवायु परिवर्तनका कारण जोखिममा रहेको मुलुक हो ।

‘गण्डकी र पोखराको पहिचान हिमाल, हिउँ र प्राकृतिक सौन्दर्य हो । यसलाई जोगाउनु हाम्रो नैतिक जिम्मेवारी हो भन्ने उद्देश्यका साथ हिमनदी संरक्षण अभियानलाई जोड दिन ग्लासियर्स म्याटर सन्देशसहित जर्सीको डिजाइन गरिएको हो’, पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले भने ।

यसैगरी, जनकपुर बोल्ट्सका खेलाडी उक्त खेलमा गुलाबी रङको जर्सीमा देखा पर्नेछन् । सम्पूर्ण आमाहरूप्रति सम्मान व्यक्त गर्न यो जर्सी तयार पारिएको हो ।

खेलपछि दुवै टोलीका जर्सीहरू अक्सनमार्फत् बिक्री गरिनेछ । अक्सनबाट संकलित रकममध्ये पोखरा एभेन्जर्सको जर्सी बिक्रीबाट उठेको रकम ग्लासियर्स म्याटर जागरण अभियानमा खर्च गरिने छ ।

यसैगरी, जनकपुर बोल्ट्सको जर्सी बिक्रीबाट उठेको रकम भने गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सन्तान गुमाएका आमाहरूको सहयोगका प्रदान गरिने छ । 

यो अभियानले खेलकुदमार्फत् सामाजिक उत्तरदायित्वलाई थप सुदृढ पार्ने विश्वास लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्