२२ जेठ २०८३, शुक्रबार

एमालेको असन्तुष्ट पक्षसँग पनि वार्ता टोलीले छलफल गरिरहेको छ– राजेन्द्र राई  [अन्तर्वार्ता]

मंसिर ११, २०८२
काठमाडौं
एमालेको असन्तुष्ट पक्षसँग पनि वार्ता टोलीले छलफल गरिरहेको छ– राजेन्द्र राई  [अन्तर्वार्ता]

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संगठन विस्तार र भेलालाई तीव्रता दिएको छ  ।

केन्द्रमा विभिन्न घटकसँग एकता जारी रहँदा प्रदेश-प्रदेशमा पनि भेलाको तयारी जोडतोडले चलिरहेको छ  । यसक्रममा कोशी प्रदेशमा पनि मंसिर १५ गते भेला आयोजना गरिएको छ  ।

एकीकरणअघिको नेकपा एकीकृतका सचिव समेत रहेका कोशीका पूर्व मुख्यमन्त्री राजेन्द्र राई भेलाको तयारीसँग सांगठनिक समायोजनलगायतका काम भइरहेको दाबी गर्छन्  ।

साथै, उनले एमालेको असन्तुष्ट पक्षसँग समेत छलफल भइरहेको दाबी गरेका छन्  ।

प्रस्तुत छ, राईसँग लोकान्तरकर्मी उत्तम पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :​

कोशी प्रदेशमा १५ गते हुने भेलाको तयारी कस्तो भइरहेको छ ?को–को नेताहरू आउँदै हुनुहुन्छ ?

हामी अहिले १५ गते हुने सन्देश सभाको तयारीमा जुटेका छौं ।

कार्यक्रममा पार्टीका अध्यक्ष तथा संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको उपस्थिति निश्चित भइसकेको छ ।

नेता झलनाथ खनाल पत्नीको उपचारका क्रममा रहनुभएकाले टुंगो लागेको छैन, तर सम्भवत: आउनुहुन्छ होला । भीम रावल पनि आउने कुरा छ । अन्य नेताहरूको हकमा विभिन्न ठाउँमा कार्यक्रम जुधेकाले यकिन हुन बाँकी नै छ  ।

केन्द्रमा मात्र पार्टी एक भयो,तर तल संगठन अस्तव्यस्त छ । यसलाई कसरी मिलाउँदै हुनुहुन्छ?

शुरूमा एकता प्रक्रियामा हामी अलि लचिलो भएर कमिटीहरू समायोजन गर्दैछौं । संख्या नघटाई यथास्थानमै राखेर अहिले अलि ठूलो आकारका अन्तरिम कमिटीहरू बन्नेछन् ।

पछि अधिवेशनहरूले यसलाई चुस्त र उपयुक्त आकारमा ल्याउनेछन् । अहिले सबै ठाउँमा बहु पद नराखी संयोजक र सह–संयोजकको व्यवस्था गरेर जाने तयारी छ । केही प्राविधिक कारण र नेताहरूको व्यस्तताले अलिकति ढिलाइ भए पनि यो सहजै टुंगिन्छ ।

तपाईंहरूको केन्द्रीय कमिटी नै २१०० सदस्यको बन्ने चर्चा छ नि ?

त्यस्तो हुन सक्छ । हामीकहाँ एक व्यक्ति एक पद भन्ने अवधारणा भएकाले पहिले कमिटीहरू साना थिए । अहिले कतिपय ठाउँमा बहुपदको व्यवस्था गर्दा केही ठूलो कमिटी बन्ने देखिन्छ ।

माओवादीले पहिलेदेखिनै ठूलो कमिटीको अभ्यास गरेको हुनाले उहाँहरूको संख्या अलि बढी छ । त्यसैअनुसार मिलाउँदै जाँदा शुरूका कमिटीहरू ठूलो हुनेछन्, तर अधिवेशनपछि यसलाई ठीक आकारमा ल्याइन्छ ।

तपाईंको पार्टी र माओवादी दुवैमा असन्तुष्टि र टुटफुट देखियो । यस्तो अवस्थामा कम्युनिस्ट पार्टीहरूको भविष्य कसरी देख्नुहुन्छ ?

देशको राजनीतिक परिस्थिति र चुनौतीले पार्टीहरू एकजुट हुनुपर्ने आवश्यकता देखाएको छ । तर अहिलेको व्यवस्था र राष्ट्रियताको रक्षा गर्ने शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बेला विचार मिल्नेहरूले फुट्नु दुर्भाग्यपूर्ण हो । यो ध्रुवीकरणको प्रक्रिया हो । हामीबाट छुट्टिएका वा तटस्थ बसेका साथीहरूले पनि अहिले तपाईंहरूले सही समयमा सही निर्णय गर्नुभयो भन्न थालेका छन् । भविष्यमा विचार मिल्नेहरू एक ठाउँमा आउने वातावरण बन्दै छ ।

विचार मिल्ने भनेर के संकेत गर्न खोज्नुभएको?

एमालेभित्रका ‘१० बुँदे’ पक्षधर, अर्थात् ‘१० भाइ’ भनिने नेताहरूसँग हाम्रो संवाद भइरहेको छ । केपी ओलीले विगतमा जस्तै स्वच्छ प्रतिस्पर्धाको वातावरण बनाउन नचाहनुभएको देखिन्छ  । प्रतिनिधि छनोटदेखि नै धाँधली र षड्यन्त्र शुरू भइसकेको छ । विद्या भण्डारीको सदस्यता नवीकरणमा देखिएको विवाद र प्रतिनिधि छनोटको शैलीले ओलीले जोर–जबरजस्ती गर्ने स्पष्ट पारेको छ ।

त्यहाँ बस्ने वातावरण नबनेपछि र अपमानित हुनुपर्ने अवस्था आएपछि विकल्प हामी नै हौं । उहाँहरूसँग हाम्रो वार्ता टोलीले औपचारिक छलफल पनि गरिसकेको छ । उहाँहरूले, 'हामी महाधिवेशन सामना गर्छौं, यदि त्यहाँ पेल्ने काम भयो भने समूहगत रूपमा तपाईंहरूतिर आउँछौं,” भन्नुभएको छ । त्यसैले एमाले महाधिवेशनपछि ठूलो समूह नेपाली कम्युनिस्ट पार्टीमा आउने निश्चित छ ।

यो छलफल ईश्वर पोखरेल वा योगेश भट्टराईसँग भएको हो ?

ईश्वर पोखरेलसँग होइन । मुख्यत: हामी एमालेमै हुँदा माधव नेपाल पक्षमा रहेर संघर्ष गरेका, तर पार्टी विभाजनको बेला एमालेमै बसेका ‘१० बुँदे’ समूहसँग कुरा भइरहेको हो ।

ओलीले अहिले सार्वजनिक भाषणमै नाम लिएर ती नेताहरूको आलोचना गर्न थालेका छन् । हाम्रो विचार र मन मिल्ने भएकाले केवल प्राविधिक कारणले अलग भएका हौं । फर्किने सम्भावना प्रबल छ ।

कोशीमा प्रदेश नेतृत्व र संसदीय दलको नेताको टुंगो कहिले लाग्छ ?

सम्भवत: १५ गतेको कार्यक्रममा आउने शीर्ष नेताहरूले प्रदेश इन्चार्ज, अध्यक्षलगायतका विषयमा निर्णय लिएर आउने आशा छ । अन्य प्रदेशमा केही समस्या देखिए पनि कोशी प्रदेशमा पदसम्बन्धी कुनै विवाद छैन । हामी एकअर्कालाई स्वीकार गरेर अघि बढ्न तयार छौं ।

सन्देश सभामा कति कार्यकर्ता उतार्ने योजना छ ?

हामीले चुनाव नजिकिएको बेलाझैं ठूलो आमसभा होइन, पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने उद्देश्यले मध्यम आकारको भेला आयोजना गरेका छौं ।

एकताको औचित्य जिल्ला तहसम्म बुझाउनु आवश्यक छ । त्यसैले करिब १० देखि १५ हजार अगुवा कार्यकर्ता र शुभचिन्तकको उपस्थितिका लागि तयारी गरेका छौं ।

salt training

कमेन्ट गर्नुहोस्