
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी खेलमा जनकपुर बोल्ट्स फेरि पराजित भएको छ ।
साविक विजेता जनकपुर बिहीबार भएको खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको हो ।
पोखराले साविक दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३० रन बनायो ।
पोखराका लागि विपिन खत्री एक्लैले चार विकेट लिए । सुमित बर्माले २, कप्तान कुशल भुर्तेल र जिमी निशमले समान एक/एक विकेट लिए ।
पोखरा र जनकपुर दुवै पहिलो जितको खोजीमा थिए । यी दुवै टोलीले यसअघि खेलिएका दुई/दुई खेलमा पराजय बेहोरेका थिए ।
यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो ।
पोखराका लागि सुमित बर्माले अर्धशतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २९ बलको सामना गरी चार छक्का र दुई चौकाको मद्दतले अविजित ५० रन बनाए ।
ओपनर दिनेश खरेलले पनि टोलीका लागि ३८ रनको योगदान गरे । उनले ३८ बलमा तीन छक्का र दुई चौका पनि प्रहार गरे ।
अर्का ओपनर एडम रोसिङ्टनले पनि टोलीको खातामा २४ रन थपे । उनले १७ बलमा तीन चौका प्रहार गरे । दुबै ओपनरले ६१ रनको साझेदारी गरे ।
कप्तान कुशल भुर्तेल पहिलो बलमै पेभेलियन फर्किए । अनुभवी ब्याट्सम्यान जेम्स निसम पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् ।
तृतराज दासले पनि टोलीको खातामा २९ रन थपे । उनले २८ बलमा दुई चौका प्रहार गरे । उनी रन आउट भई पेभेलियन फर्किएका थिए ।
डान डथवेटले तीन बलमा एक छक्काको मद्दतले सात रन बनाए । उनको स्थान लिन आएका किरण ठगुन्ना एक रनमा अविजित रहे ।
जनकपुरका बलर सञ्जय कृष्णमुर्थीले तीन विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चिए । अनिल साह र ललित राजवंशीले पनि एक–एक विकेट हात पारे ।