२८ जेठ २०८३, बिहीबार
कांग्रेसमा महाधिवेशनको सकस

देउवा पक्षका ७० नेताको निष्कर्ष– विशेष महाधिवेशन हुन्न, पूर्णबहादुरलाई विश्वास गरौं

गगन-विश्व पक्षमा लागेका संस्थापनका नेतालाई फिर्ता ल्याउन पहल गर्ने
मंसिर १२, २०८२
काठमाडौं
देउवा पक्षका ७० नेताको निष्कर्ष– विशेष महाधिवेशन हुन्न, पूर्णबहादुरलाई विश्वास गरौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिएका तर, विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाहरूलाई फिर्ता ल्याउन संस्थापन पक्षले पहल गर्ने भएको छ ।

वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने अडानमा रहेको संस्थापन पक्षको शुक्रबार आनन्दभूमि इभेन्ट्समा बसेको बैठकले यस्तो नीति अख्तियार गर्ने निर्णय गरेको हो ।

शुक्रबार बिहान बसेको उक्त बैठकमा संस्थापन पक्षका करिब ७० जना केन्द्रीय नेताको उपस्थिति रहेको थियो । उक्त बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पछि लागेका नेताहरूलाई फिर्ता ल्याउने निर्णय गरेको हो ।

‘शेरबहादुरको क्याम्प छाडेर २५-३० जना केन्द्रीय सदस्यहरू उता लागेका छन् । उनीहरूलाई टीममा ल्याएर एकताबद्ध गर्ने भन्ने भयो,’ बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने ।

साथै, बैठकमा कुनै पनि हालतमा महाधिवेशन वैशाखमा हुने र पुसमा विशेष महाधिवेशन गर्न नसकिने विषयमा छलफल भएको ती नेताले बताए । बैठकमा बोल्दै नेता विमलेन्द्र निधिले वैशाखअघि कुनै पनि हालतमा महाधिवेशन हुन नसक्ने बताएका थिए ।

उनले पुसमा विशेष महाधिवेशन गर्न नसकिने भन्दै समूहको एजेन्डामा बलियो भएर उभिन सबैलाई अनुरोध गरे ।

‘पुसमा विशेष हुँदैन, नियमित महाधिवेशन वैशाखमा हुन्छ भनेर निधि दाइले भन्नुभयो,’ सहभागी एक नेताले भने ।

गच्छदारले भने- म तपाईंहरूसँगै छु,शंका गर्नुपर्दैन

बैठकमा लामो बोलेका नेता विजयकुमार गच्छदारले आफूले संस्थापन क्याम्प नछाडेको बताएका थिए । आफू विगतदेखि नै यही समूहमा रहेको भन्दै उनले विशेषतिर लाग्यो वा लाग्छ भन्ने कुरा नसोच्न अनुरोध गरे ।

‘मलाई शंका गर्नुपर्दैन,’ गच्छदारको भनाई उद्धृत गर्दै अर्का नेताले भने, ‘म तपाईंहरूकै एजेन्डामा छु र यसैमा रहिरहन्छु ।’

यस्तै, बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि विशेष महाधिवेशनको पक्षमा लाग्छ भनेर शंका नगर्न अनुरोध गरिएको थियो ।

null

‘कार्यवाहक सभापतिलाई शंका नगरौं । उहाँ हाम्रै समूहको नेता हो, उहाँलाई विश्वास गरौं भनेर निर्देशन जस्तै आयो,’ बैठकमा सहभागी ती नेताले भने ।

खड्काले पार्टी विभाजनमा पुग्ने गरी कुनै एजेन्डा नल्याउने बताउँदै आएका छन् । सहमतिमा कार्यतालिका र महाधिवेशन गराउन नसके कार्यवाहक पदबाट राजीनामा दिने खड्काले निकटस्थहरूसँग बताउने गरेका छन् । सोही कारण समूहमा उनको विषयलाई लिएर प्रश्न उठ्न थालेको छ ।

कार्यवाहक सभापतिले छाडेर हिँडे झन् समस्यामा पर्ने भन्दै नेताहरू बालकृष्ण खाँणलगायतले निरन्तर ढाडस दिने काम गरिरहेको स्रोत बताउँछ । खड्कालाई यो समूहले विशेष महाधिवेशनको कार्यतालिका ल्याउन दिन नहुने भन्दै दबाब दिँदै आएको छ ।

सबैतिरको दबाबका कारण खड्का छाडेर हिँड्ने मनसायमा पुगेका हुन् । त्यसैले खड्कालाई ढाडस दिन पनि आजको बैठकमा सबैले उनलाई सहयोग गर्नुपर्ने र विश्वास गर्नुपर्ने विषय उठेको ती नेताले बताए ।

खाँणको निर्देशन मिडियामा गएर पार्टी फुट्छ नभन्नू

छलफलमा बोलेका नेता बालकृष्ण खाँणले पार्टी जटिल अवस्थामा रहेको भन्दै विभाजनको पक्षमा कोही उभिन नहुने बताएका थिए । उनले पार्टी नफुट्ने र फुट्न नदिने दाबी समेत गरे ।

आफ्नो समूहबाट सार्वजनिक कार्यक्रम र मिडियामा गएर बोल्दा पनि संयमता अपनाउन खाँणको अनुरोध थियो । ‘साथीहरू पार्टी फुट्दैन र फुट्न पनि दिनुहुँदैन । सार्वजनिक वक्तव्य र मिडियामा दिने अभिव्यक्तिमा पनि फुटको आसय आउने गरी सो पक्षमा अभिव्यक्ति नदिनुहोला,’ खाँणले बैठकमा भनेको कुरा उद्धृत गर्दै एक नेताले भने ।

यसबाहेक समूहको छलफलमा निर्वाचनअघि क्रियाशील सदस्यताको विषय टुंगो लगाउने र महाधिवेशनमा जाने विगतकै एजेन्डालाई निरन्तरता दिने निष्कर्ष निकालिएको छ ।

यस्तै, मंसिरको १० गते जिल्ला सभापतिदेखि तलको सम्पूर्णको म्याद सकिएकाले अबको केन्द्रीय समिति बैठकले म्याद थपको पक्षमा उभिने निर्णय गरेको छ ।

बैठकबारे जानकारी दिँदै नेता गुरु बरालले आफूहरू विगतकै एजेन्डा अर्थात् वैशाखमै नियमित महाधिवेशन गरेर जाने पक्षमा उभिने निर्णय गरेको बताए । यद्यपि, दुई समूहबीच सहमतिको बिन्दु खोज्ने र विशेष महाधिवेशनलाई मान्न नसक्ने निर्णय गरेको पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्